सिञ्जा । कारगार जुम्लाका कैदीबन्दी हातमा धागो र सुइडा समातेर बसेका हुन्छन्। कारागारमा दुई महिला र ८६ पुरुषसहित ८८ कैदीबन्दी रहेका छन्।
पुरुष कैदीबन्दीले स्विटर र मोजा बनाउने काम गरेका छन्। घरपरिवार र आफ्ना लागि उनीहरुले स्विटर र मोजा बनाउने गरेका हुन्। सजाय भोग्न कारागार आएका उनीहरु सीपयुक्त भएर घर फर्कंदै छन्। अठासी मध्ये झण्डै एक दर्जनभन्दा बढीले स्विटर र मोजा बुन्ने काम गरेका छन्। परिवार भेट्न आउनेलाई उनीहरुले खाली हात फर्काउँदैनन्।
कोही स्विटर बुनिरहेका, केही टोपी र सल बुन्दैमा दिन बिताउने गरेका छन्। कैदी जीवनलाई मेहनतसँग साटेका उनीहरूसँग भेट्न आएका आफन्तलाई समय दिने फुर्सद समेत छैन। जिल्ला कारगार जुम्लाभित्र बुनेका मोजा, स्विटर तथा अन्य सामान जिल्लामै सबैभन्दा राम्रो र बलियो मानिन्छ।
उत्पादित स्थानीय उत्पादन जिल्लाको सदरमुकाम जुम्लामा मात्र प्रयोग हुने गरेको जिल्ला कारगार जुम्लाले जनाएको छ।
कारागारमा रहेका कैदीबन्दीले मोजा, स्विटर तथा अन्य सामान बुनेर आयआर्जन गर्न थालेको कैदी दलबहादुर कार्कीले बताए।
विभिन्न कसुरमा जेल सजाय भोग्दै आएका कारगारका कैदीबन्दीले फुर्सदको समयको सदुयोग गर्दै मोजा, स्विटर बिक्री गरी आत्मनिर्भर बन्दै आएको कार्कीले जानकारी दिए। कागारामा बुन्दै आएका सामानहरु बिक्री गर्ने उचित बजार व्यवस्थापन नहुँदा समस्या हुने गरेको उनको भनाइ छ। रु ८०० सम्म बेचिने सामानहरु रु तीन सयदेखि पाँच सयसम्म बेच्न बाध्य भएको उनको गुनासो छ।
कारागारमा कैदीबन्दीलाई घरेलु लगायतका सरोकारवालाहरुले तालीमको व्यवस्था गरिदिएको नयाँ मोडलका सीपहरु सिक्ने अवसर हुने कैदी टेकजङ्ग हमालको भनाइ छ।
तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष विष्णुमाया बुढाले कारागारमा बसे पनि सीप सिकेपछि बाहिर निस्कँदा आफ्नै खुट्टामा उभिन सकिने बताइन्।
जिल्ला कारागार जुम्लामा ढाका उद्योग जरुरी भएको भन्दै सबै स्थानीयवासीसँग समन्वय गरेर खोल्न सकिने उनले बताइन्।