• २०८१ बैशाख १३ बिहीबार

काठमाडौँ महानगरले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन बनाउने

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे दुई किलोमिटर सडकखण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ । कामपाले आज यहाँ आयोजना गरेको पूर्वाधार विकास र लेन सञ्चालनका लागि गुरुयोजनाका विषयमा छलफलका क्रममा यस किसिमको धारणा सार्वजनिक गरेको हो ।    

कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले चाँडो गन्तव्यमा पुग्नुपर्ने शहरी चरित्र र विस्तारै गन्तव्य तय गर्न सकिने साइकल यात्रा दुवैको चरित्र मिसाएर योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै शहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल आवश्यक रहेको बताए । 

कामपा शहरी योजना आयोगका सदस्यसचिव सरोज बस्नेतले पहिलो चरण यी स्थानमा साइकल लेन सञ्चालन गर्न लागिएको र यसको प्रभावकारीता हेरी अन्य स्थानमा पनि तयार गर्ने बताए । 

कामपा–११ का अध्यक्ष हीरालाल तण्डुकारले छ वर्षअघि नै सञ्चालनमा आउनुपर्ने यो ट्र्याक अहिलेसम्म सञ्चालनमा आउन नसक्नुको कारण कोट्याउँदै वडाध्यक्ष तण्डुकारले राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन र उपभोक्ताबीचको अन्तरसम्बन्ध स्थापना हुन नसक्नुलाई मुख्य कारण औँल्याए । जुनसुकै पूर्वाधार तयार पार्दा पनि पैदलयात्रीलाई लक्षित वर्ग बनाउर्ने वातावरणविद् भुषण तुलाधरको धारणा थियो ।

काठमाडौँको सडकमा गुड्ने करिब साढे छ लाख सवारीसाधनको एक दशमलव पाँच प्रतिशत यात्रु साइकलमा सवार हुने तथ्याङ्कले देखाएको छ । भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाडौँ उपत्यका पैदलयात्रा र साइकल प्रयोगका लागि अनुकूल रहेको सहभागीहरुको भनाइ थियो ।  

महानगरले लेन निर्माणका लागि रु तीन करोडभन्दा बढी खर्चिने जनाएको छ । ललितपुर महानगरले यसअघि नै कुपण्डोलदेखि मङ्गलबजारसम्म लेन बनाउनका लागि शिलान्याससमेत गरिसकेको छ ।

धेरै साइकल प्रयोगकर्तालाई साइकल ट्र्याकका बारेमा जानकारी नै नहुने हुँदा यसबारे पनि सर्वसाधारणसम्म जनचेतना पु¥याउनुपर्ने धारण सहभागीको थियो । आगामी शनिबार तोकिएको स्थानमा परीक्षणका रूपमा साइकल यात्रा शुरु गरिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै