काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रोत्साहन प्याकेज घोषणा गरे सँगै कसले कति पाउने भन्ने हिसाब किताब शुरु भएको छ ।
सरकारले स्वर्ण पदक विजेतालाई जनही ९ लाख, रजत पदक जित्नेलाई ६ लाख र काश्य पदक जित्नेलाई ३ लाख दिने घोषणा गरेको छ । त्यस्तै एक भन्दा बढी स्वर्ण पदक ल्याउने प्रत्येकलाई ११ लाख दिने घोषणा गरेको छ भने स्वर्ण पदक ल्याउने समुहमा खेल्ने प्रत्येक खेलाडीलाई ५ लाख र कोचलाई ५ लाखका दरले पुरस्कृत गर्ने घोषणा सरकारले गरेको छ ।
यस हिसाबले जलपरी गौरिका सिंहले सर्वाधिक ६५ लाख पुरस्कार पाउने भएकी छन् । गौरिकाले यस सागमा जितेका ४ स्वर्ण, २ रजत र ३ काश्य पदक गरी कुल ९ पदक जितेकी थिइन् ।
त्यस्तै दुई स्वर्ण जितेका कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले २-२ स्वर्ण पदक जितेका छन् । यस अनुसार तिनै जनाले २२-२२ लाख पाउने भएका छन् ।
मंगलबार सम्पन्न भएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक गरी कुल २०६ पदक जितेको थियो ।