• २०८१ बैशाख ४ मंगलबार

प्रसिद्ध न्यातापोल मन्दिरको जीर्णोद्धार शुरु

kharibot

भक्तपुर । विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका–५ टौमढीको प्रसिद्ध न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु भएको छ । 

भूकम्पले क्षति पु¥याएको चार वर्षपछि भक्तपुर नगरपालिकाले सो मन्दिरको बुधबारबाट विधिवत्रुपमा जीर्णोद्धार शुरु गरेको हो । न्यातापोल मन्दिर संरक्षण कार्यअन्तर्गत उपभोक्ता समिति गठन गरि मन्दिरको जीर्णोद्धार शुरु गरेको नगरपालिकाले जनाएको छ । 

भूकम्पले मन्दिरको माथिल्लो तलामा क्षति पुगेपछि भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाले निर्णय गरी रु ६५ लाख १३ हजार ३५८ को लगत इस्टिमेट तयार गरेर जीर्णोद्धार शुरु गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । 

विसं १९९० को भूकम्पमा पनि मन्दिरको माथिल्लो तलामै क्षति पुगेको थियो । यसअघि तत्कालीन राजा महेन्द्र शाहले २०१९ मा र नगरपालिकाले २०५६ मा उक्त मन्दिरको जीर्णोद्धार गरेको नगरपालिका सम्पदा शाखाले जनाएको छ । अघिल्लो वर्ष पाँचतले मन्दिर अगाडिको तौमढी क्षेत्रकै भैरवनाथ मन्दिरको जीर्णोद्धार गरेको थियो भने यो वर्ष न्यातापोल मन्दिरको संरक्षण शुरु गरेको हो । 

मन्दिर संरक्षण तथा जीर्णोद्धार उपभोक्ता समितिले आउँदो असार मसान्तभित्र जीर्णोद्धार सम्पन्न गर्ने लक्ष्य लिएको समितिका अध्यक्ष केशव तमखुले जानकारी दिए । भूकम्पको धक्काले झिँगटी छुट्टिएपछि पानी चुहिने समस्या छ ।

नेपाल संवत् ८२२ मा भूपतिन्द्र मल्लले निर्माण गर्नुभएको १०८ फिटअर्थात् ३३ दशमलव २३ मिटर अग्लो मन्दिर वास्तुतन्त्र विधिअनुरुप बनेको छ । मन्दिरको टुप्पोको गजुर पूर्णताको प्रतीकसमेत मानिन्छ भने मन्दिर निर्माण सकेर नेपाल संवत् ८२२ असार सुदी १ मा टुप्पोमा गजूर राखेको प्रमाण फेला परेको नगरपालिकाको अभिलेखमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै