• २०८१ बैशाख ७ शुक्रबार

नमस्ते पोखरा प्रिमियर लिगको तयारी पुरा, विजेतालाई २७ लाख

kharibot

कास्की । पोखरामा यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई रु २७ लाख पुरस्कार प्रदान गरिने भएको छ । 

प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आज पुरस्कार राशि सार्वजनिक गरेको हो । प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछन् । त्यसैगरी पिपिएलको ‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीनजना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्वी लामाले बताए । 

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने भएको छ । त्यसैगरी प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडीलाई सुविसु किलियर टेलिभिजन र प्रत्येक खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुविसु फास्टेस फिप्टी प्रदान गरिनेछ । जसमा एक वर्षका लागि निःशुल्क सुविसु केबलनेट प्रालिको इन्टरनेट र किलियर टेलिभिजन उपलब्ध गराउनेछ ।  

अघिल्लो संस्करणको पुरस्कार राशिलाई यथावत् राख्दै खेलाडीका लागि अन्य व्यक्तिगत पुरस्कार तथा सुविधामा वृद्धि गरिएको आयोजकले जनाएको छ । पिपिएलको दोस्रो संस्करणमा छ टोलीको सहभागिता रहेको छ । जसमा  साबिक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज छन् । 

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको तथा खेलका लागि खेलाडी पोखरा आउने क्रम शुरु भइसकेको आयोजकको भनाइ छ । मैदानमा पिच, अस्थायी प्यारापिट, प्लेयर बक्स, मिडिया सेन्टरलगायत आवश्यक संरचना निर्माण सकिएको प्रबन्ध निर्देशक लामाले जानकारी दिए ।

अघिल्लो संस्करणमा दुईजना विदेशी खेलाडी प्रत्येक टोलीमा रहेकामा यस पटक तीन जनाका दरले विदेशी खेलाडी प्रत्येक टोलीमा आबद्ध रहेको बताइन्छ । प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै