• २०८१ बैशाख ७ शुक्रबार

त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियानमा जोड

kharibot

जनकपुरधाम । जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियान सञ्चालनमा जोड दिइएको छ।

आगामी पुस १२ देखि १६ गते पोखरामा हुने २१औँ पोखरा सडक महोत्सवका सन्दर्भमा आज यहाँ आयोजित सञ्चारकर्मीसँग छलफल कार्यक्रममा उक्त अभियानमा जोड दिइएको हो।

धार्मिक पर्यटकीय प्रवद्र्धनका दृष्टिले जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिर महत्वपूर्ण तीर्थस्थल भएकाले तीनवटै स्थललाई पर्यटक यात्रा प्याकेजका रूपमा प्रवद्र्धनमुखी अभियान सञ्चालन आवश्यक भएको स्पष्ट गरिएको छ।

जनकपुरधाम मिथिला संस्कृतिको उद्गमस्थल भए पनि अन्तरदेशीय पर्यटक यात्रा प्याकेजअन्तर्गत नरहेका कारण जनकपुरधाममा तीर्थयात्रीको बसाइ न्यून हुने भएकाले त्रिस्थलीय पर्यटक यात्रा प्याकेज कोसेढुङ्गे साबित हुने विश्वास गरिएको छ।

विगतमा जनकपुर–पोखरा र पोखरा–जनकपुर विमानस्थल तथा स्तरीय बस सञ्चालनको बहस गरिए पनि सार्थकता ग्रहण नगरिएका कारणको समीक्षा गर्दै यसलाई मूर्तरूप दिन दुवै नगरबीच पर्यटक प्रवद्र्धनको गतिविधिलाई तीव्रता दिन आवश्यकता महसुस गरिएको छ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) द्वारा आयोजित छलफल कार्यक्रममा पर्यकीटकीय गतिविधिलाई चलायमान बनाउन र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न आयोजना हुने पोखरा सडक महोत्सवमा मिथिलाको संस्कृति र कलाको प्रदर्शनमा पनि जोड दिइएको छ।

रेबानद्वारा आयोजना हुने सडक महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, लोपोन्मुख सांस्कृतिक कार्यक्रम, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, मनोरञ्जनात्मक खेलकुद, हस्तकला, पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, लोकदोहोरी, कन्सर्ट र रत्यौली गीत प्रतियोगिता हुने कार्यक्रम छ।

महोत्सवका सहसंयोजक नरेश भट्टराईले मुलुकभित्र हुने मेला महोत्सवमध्येमै सबैभन्दा धेरै पाहुना सहभागी हुने पोखरा सडक महोत्सव नै भएकाले महोत्सवमा सातवटै प्रदेशका सांस्कृतिक, धार्मिक र कला पक्षको प्रदर्शन गर्ने योजना रहेको बताए।

एसोसिएशनका पूर्वअध्यक्ष गोपिबहादुर भट्टराईले आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने ध्येयसमेत महोत्सवको भएकाले सातै प्रदेशका पर्यटकको उपस्थिति, अवलोकन र प्रचारप्रसारलाई प्राथमिकतामा राखिएको बताए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै