• २०८१ बैशाख ७ शुक्रबार

माघ २६ मा अनमोल र दयाहाङ भिड्ने, कसले मार्ला बाजी 

kharibot

काठमाडौँ । वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’ आगामी माघ २६ मा प्रदर्शन हुने घोषणा भएपछि दुई ठुला फिल्म फेरी जुध्ने भएका छन् । अभिनेता दयाहाङ राई र श्वेता खड्का अभिनीत फिल्म 'कान्छी' पनि प्रदर्शनमा आउँदैछ । माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै 'कान्छी'को पहिलो गीत समेत सार्वजनिक भैसकेको छ । 

फिल्मको अझै १५ दिनको छायांकन गर्न बाँकी रहँदै गर्दा निर्माता सुवास गिरीले ‘कृ’को प्रदर्शन मिति माघ २६ गतेलाई घोषणा गरेका छन् । बिहीवार आफ्नो आधिकारीक फेसबुकमार्फत उनले लेखेका छन्, ‘‘कृ’को अन्तिम सेड्युलको सुटिङ बिट मार्दै गरेको अवस्था । फिल्मको ट्रेलर यही मंसिरको पहिलो हप्ता आउनेछ र रिलिज माघ २६ मा हुनेछ ।’

निर्माता गिरीको यो घोषणाले नेपाली सिनेक्षेत्रलाई तरंगित बनाइदिएको छ । अझ अनमोल र दयाहाङको भिडन्त पक्का हुने भएपछि झन आम दर्शकपनि उत्साहित बनेका छन् ।

स्वेता खड्का पहिलो पटक निर्मात्रीको रुपमा आउदै सिने क्षेत्रमा कमब्याक गरेको फिल्म कान्छीको पहिलो गीतले अहिले लोकप्रियता पाइरहेको बेला ‘कृ’ को उही मितिमा प्रदर्शन गर्ने घोषणाले कान्छीलाई असर पुग्न सक्ने फिल्म समिक्षकहरुको अनुमान रहेको छ ।

फ्लोरमा जानुअघि भाद्र १६, छायांकनको बखत भाद्र ८ र फस्ट लुक पोस्टर सार्वजनिक गर्दा कात्तिक ३ गतेलाई फिल्म ‘कृ’को रिलिज मिति घोषणा गरिएको थियो । तर, यी तीनवटै मितिबाट फिल्मको रिलिज सरेको थियो । निर्माता गिरीका अनुसार, अब माघ २६ बाट फिल्मको प्रदर्शन मिति सर्ने छैन । 

युवा पुस्तामाझ सर्वाधिक लोकप्रिय नायक अनमोल केसीले ‘कृ’का लागि २० लाख पारिश्रमिक लिएर चर्चामा आएका थिए । फिल्ममा अनमोलले नव-नायिका आदिती बुढाथोकीसँग रोमान्स गरेका छन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको ‘कृ’लाई सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा बनाएका हुन् भने सह-निर्माताको रुपमा श्री पराजुली छन् ।

‘कृ’मा अनमोल र आदितीका अलावा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै