• २०८१ बैशाख ७ शुक्रबार

मध्य र सुदूरका दुर्गम १० स्थानमा एनटीस्याटमार्फट टेलिकमको दूरसञ्चार सेवा

kharibot

काठमाडौं ।  नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम  १० स्थानमा एनटीस्याटमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानहरुमा अविलम्ब सेवा सञ्चालन गर्न सरकारबाट निर्देशन आएपछि टेलिकमले सेवा सुरु गरेको हो ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले सरकारको निर्देशनबमोजिम कम्पनीले ती स्थानहरुमा केही हप्तादेखि सेवा सञ्चालनमा ल्याउन सुरु गरेको जानकारी दिइन् । तीमध्ये हुम्ला जिल्लाको चङखेली गाउँपालिकामा कात्तिक २६ गतेदेखि  सेवा सञ्चालनमा ल्याएपश्चात्  दशवटै स्थानमा सेवा उपलब्ध भएको हो । 

यसरी हालै सेवा सञ्चालनमा ल्याइएका स्थानहरुमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपि हिमाल गाउँपालिका, जुम्ला जिल्लाको कङ्कासुन्दरी गाउँपालिका, कालिकोट जिल्लाको महावै गाउँपालिका र हुम्ला जिल्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन् ।

उल्लिखित गाउँपालिका अन्तर्गत दार्चुलाको हुति, धुलिगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादीचौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा उपकरण जडान गरिएको छ । ती स्थानहरु अति दुर्गम भएकाले यथाशिघ्र सेवा सञ्चालनका लागि कम्पनीले हेलिकोप्टरको समेत प्रयोग गरी उपकरणहरु ढुवानी गरेको थियो ।

नेपाल टेलिकमले दुर्गम हिमाली जिल्लाहरुमा सेवा उपलब्ध गराउनका लागि एनटीस्याट प्रविधिको प्रयोग गरिरहेको छ । अब ती स्थानका जनताले दूरसञ्चार सेवा उपभोग गर्न पाउनेछन् भने सरकारको कार्य सम्पादनमा समेत सहजता आउनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै