• २०८१ बैशाख ५ बुधबार

पुनःनिर्माणको अनुगमन र सहजीकरण गर्न ३१ जिल्लामा प्रतिनिधि

kharibot

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा समग्र पुनःनिर्माणको अनुगमन तथा सहजीकरण गर्न कार्यकारी समिति सदस्यलाई जिम्मेवारी दिएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अनुगमन क्षेत्र छुट्याएर कार्यकारी समिति सदस्य डा हरिराम पराजुली, ध्रुवप्रसाद शर्मा, डा चन्द्रबहादुर श्रेष्ठ र डा विष्णुबहादुर भण्डारीलाई भूकम्प प्रभावित ३१ जिल्लामा भइरहेको पुनःनिर्माणसँग सम्बन्धित कामको अनुगमन तथा सहजीकरण गर्ने जिम्मेवारी दिए । 

कार्यकारी समिति सदस्य डा पराजुलीलाई गोरखा, धादिङ, नुवाकोट, रसुवा, पर्वत, बाग्लुङ, म्याग्दी र चितवनको जिम्मेवारी दिइएको छ । अर्का समिति सदस्य शर्मालाई सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, कास्की, लमजुङ, तनहुँ र स्याङ्जा तथा सदस्य डा भण्डारीलाई रामेछाप, ओखलढुंगा, सिन्धुली, भक्तपुर, धनकुटा, संखुवासभा, भोजपुर, सोलुखुम्बु र खोटाङको जिम्मेवारी तोकिएको हो ।

सदस्य डा श्रेष्ठलाई मकवानपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गुल्मी, अर्घाखाँची, पाल्पा र नवलपरासी हेर्ने गरी जिम्मेवारी तोकिएको छ । 

प्राधिकरणको कामलाई थप तीव्रता दिई समितिबाट भएका पूर्वनिर्णयलाई तोकिएकै समयमा सम्पन्न गराउन भूकम्प प्रभावित ३१ जिल्लामा भइरहेका निजी आवास निर्माण, बस्ती स्थानान्तरण, सम्पदा पुनःनिर्माण, पूर्वाधार निर्माण, जीविकोपार्जन, गैरसरकारी संस्थाको कार्यसम्पादन, सीप विकासलगायत कामको कार्यान्वयन तथा सोको निरन्तर अनुगमन गरी तोकिएका जिल्लाभित्र पर्ने स्थानीय तहमा भइरहेका कामको अनुगमन तथा सहजीकरण गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । 

‘भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माणको अनुगमन र त्यसक्रममा देखिएका समस्या स्थलगत रुपमै सहजीकरण गरी समाधान गराउने तथा विशेष कारणवश प्रगति हुन नसके प्राधिकरणमा छलफलका लागि प्रतिवेदनसमेत पेश गर्नेगरी प्रतिनिधिलाई जिम्मेवारी दिइएको छ, यसले पुनःनिर्माणको गतिलाई थप तीव्रता दिनेछ’, प्रमुख कार्यकारी अधिकृत भुसालले जानकारी दिए । 

भूकम्पको ३१ महिना बितिसक्दा पनि पुनःनिर्माण गर्नुपर्ने करिब आठ लाख निजी आवासमध्ये एक तिहाइ सम्पन्न हुन नसकेपछि जिल्लागत रुपमा प्रतिनिधि पठाई अध्ययन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै