• २०८१ बैशाख १३ बिहीबार

बागलुङमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला शुरु

kharibot

बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु भएको छ । गलकोट कला प्रतिष्ठानद्वारा आयोजित कार्यशालाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले कलाका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको चिनारी विस्तार गर्न कार्यशाला सहयोगी बन्ने धारणा राखे । “दश देशका मूर्तिकारले यहाँको सन्देश लिएर जानुहुनेछ, एक करोडमा नहुने प्रचार उहाँहरुले गरिदिनुहुन्छ”, मुख्यमन्त्री गुरुङले भने, “पर्यटन प्रवद्र्धनका हिसाबले पनि मूर्तिकला कार्यशालाको महत्व छ ।”

विश्व प्रसिद्ध मूर्तिकारका कलाकृति सङ्ग्रहित गर्न पाउनु गलकोटको मात्रै नभई देशकै गौरवको विषय भएको उनको भनाइ छ । सङ्घीय व्यवस्थाकै कारण भौगोलिक हिसाबले विकट गाउँमा विकास गतिविधि र सचेतनाको लहर बढेको मुख्यमन्त्री गुरुङले बताए । उनले जनताको हित र मुलुकको समृद्धिका लागि सङ्घीय व्यवस्था ल्याइएको धारणा राखे ।

उनले आउँदो तीन वर्षभित्र गण्डकी प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । यही फागुन २१ गतेसम्म चल्ने कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन् । मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा छन् । 

अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए । उनका अनुसार कलाकारले मङ्गलबारदेखि कलाकृति बनाउन शुरु गर्नेछन् ।

अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारले सिर्जना गरेका मूर्तिकलाका कृति सङ्ग्रहालय बनाएर राख्ने प्रतिष्ठानको योजना छ । कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिएका छन् । यस्तै जुन इचिरो सुगीमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्जलुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेले कार्यशालामा सहभागी छन् ।

कार्यशालामा सहभागिताका लागि अन्तर्राष्ट्रियस्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिनका लागि देश विदेशका गरी २०५ जना मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको थियो ।

कलाकारले कार्यशालामा बसेर राजनीतिक दलका नेता, धार्मिक गुरु, देवीदेउता र आफ्नो देशको संस्कृति झल्कने मूर्ति कद्न पाउने छैनन् । मानव सभ्यता, वेषभूषा, प्रकृति आदि विषयमा प्रतिकात्मक मूर्ति बनाउनेछन् । आर्थिक वर्ष २०७३-७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा रु ८६ लाख ९३ हजार खर्च भइसकेको छ । कार्यशाला सम्पन्न गर्दासम्म थप रु एक करोड ४१ लाख ७८ हजार खर्च हुने प्रतिष्ठानले जनाएको छ ।

कार्यशालाको खर्च झण्डै दुई करोड ३० लाख नाँघ्ने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

कार्यशालाका लागि गत आर्थिक वर्षमा सङ्घीय सरकारबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु ४० लाख बजेट छुट्टिएको थियो । गलकोट नगरपालिकाले पनि रु तीन लाख बजेट विनियोजन गरेको थियो । नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको थियो । चालू आवमा गण्डकी प्रदेश सरकारले रु ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु १० लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु पाँच लाख सहयोग प्राप्त भएको छ ।

यस्तै व्यक्तिगतरुपमा सहयोग जुट्नेक्रम पनि जारी छ । कार्यशालाका लागि स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीले करिब रु ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै