• २०८१ बैशाख ११ मंगलबार

एएफसी एसियन कप छनोट फुटबलः नेपाल र फिलिपिन्सबीचको खेल मंगलबार

kharibot

काठमाडौँ ।  एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले भोलि फिलिपिन्सको सामना गर्ने भएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा उत्रनेछ । 

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हासिल गर्ने लक्ष्य लिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । 
उनले प्रशिक्षणको क्रममा केही खेलाडी चोटग्रस्त भएकाले उनीहरुको अनुपस्थितिमा खेल रणनीति केही परिवर्तन गर्ने उल्लेख गर्दै अघिल्लो खेलमा भएको कमजोरीलाई सुधार्ने बताए । 

त्यसैगरी नेपाली टोलीका कप्तान अनिल गुरुङले आफनो टोलीले फिलिपिन्सलाई पराजित गर्ने आशा लिएको बताए । यता फिलिपिन्सका प्रशिक्षक थोमस टूलीले भोलिको खेल आफ्नो टोलीका लागि महत्वपूर्ण रहेको बताए । 

यसअघि गत चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलअन्तरले पराजित भएको थियो । त्यसपछिका तीन खेलमा पनि पराजित भएको नेपाल छनोट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालले दोस्रो खेलमा यमनसँग बराबरी खेलेता पनि त्यसपछिका दुई खेल ताजीकिस्तानसँग पराजित भएको थियो । 

यसअघि चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ भने एक अंक जोडेको नेपाल अन्तिम स्थानमा छ । 

नेपाली टोलीको गोलरक्षकमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ र विकेश कुथु छन् । त्यसैगरी डिफेन्डरमा रोहित चन्द, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी, अनन्त तामाङ, विराज महर्जन र कमल श्रेष्ठ छन् । 

मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, हेमन्त थापा मगर, विक्रम लामा, अन्जन विष्ट, जगजित श्रेष्ठ र सुनिल बाल छन् भने फरवार्डमा विमल घर्ती मगर अनिल गुरुङ, भरत खवास, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै