• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री देउवा २८ गतेबाट पश्चिम क्षेत्रमा, यस्तो छ भ्रमण तालिका 

kharibot

ललितपुर  । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन प्रचारका लागि कार्तिक २८ गतेदेखि पश्चिम नेपालको भ्रमण गर्ने भएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री देउवा कार्तिक २८ गते नेपालगञ्ज जाने र सोही दिन उनले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसंग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ । सोही दिन प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि प्रधानमन्त्री देउवा २९ गते धनगढी पुग्ने कार्यक्रम छ । सो दिन उनले पार्टीका उम्मेद्वार तथा नेता र कार्यकर्ताहरुसंग भेटघाट गर्नेछन् ।  सोहि दिन प्रधानमन्त्रीले अन्य पार्टीका नेता,कार्यकर्तासँग सम्वाद गर्ने कार्क्रम रहेको छ । सो दिन प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले धनगढीमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने राजनीतिकर्मीहरुलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।

सो दिन उनले सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसँग क्षेत्रको शान्ति,सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ  ।
त्यसपछि ३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डँडेलधुरा पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले गृहजिल्लालाई नै मुकाम बनाएर सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लाको निर्वाचन अभियानलाई गति दिदै आमसभाहरुलाई संबोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभाहरुलाई संबोधन गर्ने कार्यक्रम छ ।

मंसिर २ गते प्रधानमन्त्री देउवाले बझाङ्ग र बाजुराका आमसभाहरुलाई संबोधन गर्नेछन् । जिल्ला भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीहरुसंग जानकारी लिनुका अतिरिक्त नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री त्यसपछि रुकुम,रोल्पा जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभाहरुलाई संबोधन गर्न पनि जाने कार्यक्रम भएपनि दिन भने निर्धारित नभएको कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै