• २०८१ बैशाख ८ शनिबार

चर्चित निर्वाचन क्षेत्र : काठमाडौँ १ मा प्रकाशमानलाई रवीन्द्र मिश्रको कडा चुनौती 

kharibot

काठमाडौं । आगामी मंसिर २१ मा दोस्रो चरणमा हुन गइरहेको प्रदेश तथा संसदको चुनावी प्रतिस्पर्धामा देशभरको जस्तै राजधानीको पनि १ नम्बर क्षेत्र धेरै कारणले चर्चित छ ।

काठमाडौं १ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहका अलावा विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र र वाम गठबन्धनबाट माओवादी केन्द्रका अनिल शर्मा मुख्य चुनावी प्रतिस्पर्धामा छन् ।

अबको विकल्प विवेकशील साझा भन्ने मूल राजनीतिक नारा बोकेर पूर्वपत्रकार रवीन्द्र मिश्र राजनीतिक यात्रामा निस्केका मात्रै होइनन्, चुनावी खालको परीक्षामा पनि सामेल भइसकेका छन् । काठमाडौं १ बाट निर्वाचित सांसद् बन्दै आफूसहितको नेतृत्वको विवेकशील साझा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने लक्ष्यका साथ उनी चुनावी समरमा होम्मिएका छन् । काठमाडौं १ का मतदाताको घरदैलोमा मत माग्न पुगिरहँदा भने मिश्रलाई आँशु, हाँसो र भावविह्वल भएर समर्थन र सहकार्यको वचन दिने मतदाताहरु बाक्लिँदै छन् । 

उसै पनि राजनीतिको पहिलो यात्रा र पहिलो अनुभवका कारण उनी अरु प्रतिस्पर्धी दल कांग्रेस र वाम गठबन्धनको आलोचनाभन्दा आफ्नो दल विकल्प भएको तर्कहरुका साथ मत मागिरहेका छन् । उनको मत माग्ने शैली शिष्ट, भद्र, शालीन र तडकभडकरहित नै देखिँदै छ । उनले सामाजिक सञ्जालको आफ्नो ख्यातिलाई पनि चुनावी प्रचारका दौरानमा राम्रै सदुपयोग गरिरहेका छन् । सामाजिक सञ्जालको उनको प्रचार शैलीले प्रतिस्पर्धी कांग्रेसका सिंह र वाम गठबन्धनका शर्मालाई ओझेलमा नै पारेको छ ।

नयाँ पात्र, नयाँ सोच, नयाँ राजनीतिक संस्कार अभ्यासका थालनी मिश्रका चुनावी काइदा देखिएको छ । नयाँ दल र पूर्णाकार ग्रहण नगरिसकेको दल भएकै कारण पनि हुनसक्छ, उनको घरदैलो र प्रचार शैली अरु दुई प्रतिस्पर्धीजस्तो भीडभाड र झण्डावाला धेरै देखिँदैन । राजनीतिक स्टन्टबाजीमा विवेकशीलको खासै जोड देखिएको छैन । 

राजधानीवासीका दिनदिनका समस्या र सरोकारलाई सम्बोधन गर्ने गरी मतदाताकहाँ धाइरहेका मिश्रका लागि मतदाताले उत्साह थपेका अवश्य छन् । तर उनका समर्थकहरुको उत्साह कांग्रेस वा वाम गठबन्धनका उम्मेदवारलाई ओझेलमा पार्ने तहसम्मको बाक्लो र बृहत् छ÷छैन, अहिल्यै आँकलन गर्न सकिँदैन । किनभने नयाँ हुनु, वेदाग छवि रहनु, पत्रकारिता र परोपकारी विगतको लोकप्रियतालाई राजनीतिमा मिसाउनु उनका लागि सुखद पक्ष मात्रै हुन्, निर्णायक शक्ति भइसकेका छैनन् । तर उनी वाम वा कांग्रेस दुवैका लागि असरदार धक्का दिने नयाँ राजनीतिक चुनौतीका पात्र अवश्य हुन् ।

पार्टीभित्र काठमाडौं कांग्रेसकै राजनीति चलाइरहेका नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान  सिंहका लागि जित निश्चित पनि नभएको र हारिहाल्ने खतरा पनि नभएको चुनावी परीक्षा हो २१ मंसिरको मतदान । पुराना कांग्रेस नेता हरिबोल भट्टराई सिंहका लागि आन्तरिक चुनौती बनेर सुरुमा नै धक्का दिइरहेका छन् ।

नेपाली राजनीतिमा संघर्ष, त्याग र इमानको राजनीतिमा अतुलनीय व्यक्तित्वका रुपमा स्थापित लौहपुरुष वीर गणेशमानको पुत्र हुनु राजधानीमा सिंहको राजनीति टिक्ने र जित्ने आधारस्तम्भ नै बने । तर के पटक–पटक राजधानीबाटै निर्वाचित भएर उपप्रधानमन्त्री पनि भइसकेका सिंहले यसपटक जितेर पार्टीले सरकारको नेतृत्व गर्ने अवसर आएमा प्रधानमन्त्रीमा नै दाबी गर्ने गरी काठमाडौं १ का मतदाताबाट मतादेश पाउलान त ? यो भने यसै भन्न सकिन्न । 

सिंह जनताको परीक्षमा पटक–पटक पास भएका नेता जरुर हुन् । तर उनले जनादेशको जगमा सत्तामा बसेर काठमाडौं १ का मतदातालाई के–के गुन तिरे वा लगाए ? सायद यसको असली हिसाब जनताले मतदानकै दिन गर्नेछन् । अहिलेसम्मको चुनावी चुरीफुरी हेर्दा उनी कमजोर उम्मेदवार होइनन् मात्रै भन्न सकिन्छ । पटक–पटक टेष्टेड सिंहका सामु अनटेष्टेड मिश्र र माओवादी केन्द्र तथा वाम गठबन्धनका गैरउपत्यकावासी अनिल शर्मा काठमाडौं १ का लागि नयाँ अनुहार भए पनि सिंहले सिधै निलिदिनसक्ने केटाकेटी भने अवश्य होइनन् । अन्यत्र जस्तो काठमाडौं १ का मतदातालाई सिधै यता लाग्लान, उता लाग्लान् भन्न मुस्किल छ ।

स्थानीय तहको चुनावी छायाँ काठमाडौं १ मा दोहोरियो भने मिश्रको जितको सम्भावना बढी छ । सत्ताको विपक्षमा प्रायः उभिने यहाँको जनमत यसैकारण लोकप्रिय सरकार हाक्न नसकेका कारण वर्तमान सत्ताको विपक्षमा जाँदा त्यसको असर सिंह र शर्मालाई पर्नसक्छ । वाम एकताको केन्द्रीय लहर भावनात्मक रुपमा कार्यकर्तापंक्तिसम्म फैलियो भने अनिल निल हुनबाट जोगिन पनि सक्छन् । तर एमालेको असन्तुष्ट र विवेकी तप्काले अनिललाई साथ दिने सम्भावना कमजोर देखिँदै छ ।

मुद्दा, दल र उम्मेदवारहरु हेरेर अक्सर अदलबदल भइरहने यहाँका मतदाताको रहर तराजुतिर ढल्किने सम्भावना पनि बढी नै छ । एमालेले विगतमा जितेको क्षेत्रमा माओवादीका लागि छोड्नुपरेको तोड एमाले समर्थकले मतदानमा क्रस भोटमार्फत व्यक्त गरे भने त्यसको लाभ पनि मिश्रले उठाउन सक्छन । चुनावी लहर हेरेर यता उता स्विंग भइरहने मत तान्न सिंह र शर्माभन्दा मिश्रलाई सुविधा छ । तर संगठित मतको आधार सिंह र शर्माका लागि गर या मरका स्तरमा मतदानमा बदलियो भने उनीहरुका लागि पनि चुनावी जित असम्भव भने छैन ।

मिश्रको तराजुमा काठमाडौं १ मतदाताको मतभार परे नयाँलाई राजधानीको मुख्य क्षेत्रले स्वागत गर्ने संकेत आएको बुझिनेछ । सिंहको रुखमुनि यहाँका मतदाताको मत एकीकृत भए रुखको छहारी नै उनीहरुलाई पुनः मञ्जुर भएको देखिनेछ । हसिया हतौडामा मत परे काठमाडौं १ मा वामतालमेलको असरले ओझेल परेको एमालेको सूर्य पनि चम्किनेछ । तर कसलाई कुन हैसियत देलान् काठमाडौं १ वासीले ? यो यसै भन्न कठिन छ ।

काठमाडौं १ मा जितको पुरानो रेकर्ड कायम राख्नु छ सिंहलाई । पत्रकारिता र परोपकारी कर्मबाट विश्राम लिएर राजनीतिमा हाम फालेका नवनेता मिश्रलाई पहिलो इनिङमा नै राजनीतिक सफलता चुम्नु छ । पार्टीको क्रान्तिकारी धार भुत्ते र स्खलित हुँदै गएको भए पनि आफ्नो युवामय छवि उजिल्याउनु छ शर्मालाई । एमालेका लागि वाम गठबन्धनको ओत लागेका कारण काठमाडौं १ जिते उपलब्धि, हारे हर्ष न विस्मातको चुनावी खाल मात्रै हो यसपालिको चुनावमा । बाँकी कसको भाग्य चम्काउने र कसलाई पार्टीमा नै खुम्च्याउने भन्ने फैसला त मतदाताकै विवेकमा निर्भर छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै