• २०८१ बैशाख ७ शुक्रबार

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछ : उपप्रम गच्छदार

kharibot

विराटनगर । उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले कार्यकारी प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीबाट मुलकको लोकतन्त्रमा विकृित ल्याउने बताए । 

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा विविध जनसंख्याको संरचना रहेकाले कार्यकारी पद्धतिबाट सबै जातजातिको प्रतिनिधित्व हुन नसक्ने धारणा व्यक्त गरे ।

काँग्रेसका नेता गच्छदारले देश संघीयतामा गइसकेको तथा सिंहदरबारको अधिकार निर्वाचित स्थानीय निकायमा आइसकेको अवस्थामा अब पुनः केन्द्रीकृत पद्धति ल्याउनु लोकतन्त्रलाई विवादमा ल्याउनु मात्र हो भने । 

उनले सुनसरी, मोरङ र झापा जिल्ला मिलाएर एक अलग्गै प्रदेश निर्माण गर्ने विषय अहिले पनि जीवित छ भन्दै विराटनगर र इटहरी मिलाई बृहत् महानगर निर्माण गरी प्रदेशको राजधानी तोकिनुपर्ने औँल्याए । 

उपप्रधानमन्त्री गच्छदारले नयाँ संविधानले नागरिकतासम्बन्धी समस्या धेरै हदसम्म समाधान गरेको छ भन्दै केही बाँकी रहेको समस्या अव बन्ने नयाँ सरकारले ऐनद्वारा समाधान गर्ने विश्वास व्यक्त गरे । 

उनले निर्वाचनको समयमा शान्ति सुरक्षा कायम गर्न सरकार कटिबद्ध रहेको बताउँदै केही दिन अगाडि उम्मेदवारमाथि आक्रमणको प्रयास हुनु केही छिटफुट घटना मात्र हो भने । 

उनले भूकम्पीडितलाई जस्तै घरवारविहीन बाढीपीडितलाई पूर्वनिर्धारित कार्यक्रमअनुसार साधारण घरबार निर्माण गर्न सरकारले केही रकम किस्तामा वितरण गरेको जानकारी दिए ।

एक प्रश्नको जवाफमा नेता गच्छदारले लोकतन्त्रलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस एकीकरण गरिएको बताउँदै यसमा तत्कालीन फोरमका सबै कार्यकर्ताको सहमति रहेको छ भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै