• २०८१ बैशाख ७ शुक्रबार

प्रहरीद्वारा गौचन हत्याका ५ आरोपी सार्वजनिक 

kharibot

प्रहरीले सार्वजनिक गरेका घटनामा संलग्न पाँच जना ।

काठमाडौँ ।  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले मुख्य अभियुक्तसहित ५ जनालाई सार्वजनिक गरेको छ । भृकृटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा शुटरसहित अन्य सहयोगीलाई मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेकाहरुमा गौचनलाई गोली हान्ने सुटर राजीव स्याङतानसहित मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन् । गत असोज २३ गते गौचनको ओमशान्ति चोकबाट बानेश्वर जानेक्रममा गोली हानी हत्या गरिएको थियो । पक्राउ परेकामध्ये राजीव सुटर रहेको अनुसन्धान टोलीका संयोजक डीआईजी गणेश केसीले जानकारी दिए ।

हत्यालगत्तै प्रहरीले घटनाबारे अनुसन्धान गर्न केसीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । पक्राउ परेका शिवजी महतोले ५५ हजारमा हतियार खरिद गरी हाल फरार रहेका श्याम बहादुर गुम्बेलाई ६५ हजारमा हतियार बेचेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घटनामा दुईवटा गोली प्रहार भएकोमा दुवै गोली फरक फरक हतियारबाट चलाइएको पनि खुलेको छ ।

उनीहरुको साथबाट बा.३५प २४६१ नं.को साइन मोटरसाइकल गरिएकोमा उक्त मोटरसाइकल शिवजी महतोले भारतको वेतियाबाट १८ हजारमा खरिद गरी श्याम गुम्बेलाई २४ हजारमा बिक्री गरेको देखिएको छ ।

प्रहरीले मनोज पुन र मुख्य आरोपी समिरमान लगायत आठ जना फरार रहेको जानकारी प्रहरीले पत्रकार सम्मेलनमा दिएको छ। प्रहरीले घटनामा संलग्न भई फरार भएकाहरुको नाम पनि सार्वजनिक गरेको छ । जसअनुसार समिरमान सिंह बस्नेत, मनोज पुन, लोप्सांग, बोका भन्ने गंगा लिंग्देन (लिम्बू), श्याम बहादुर गुम्बे, काले दाइ भन्ने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा रहेका छन् ।

गौचनलाई गत असोज २३ गते शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ कार्यालय आउने क्रममा गोली हानिएको थियो । गोली लागि घाइते भएका गौचनको मिनभवन स्थित निजामती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै