• २०८१ बैशाख ५ बुधबार

यसरी भएको थियो निर्माण व्यवसायी गौचनको हत्या

kharibot

काठमाडौँ । गत असोज २३ गते दिउँसो व्यस्त काठमाडौंमा गोली चलेको समाचार सार्वजनिक भयो । त्यसको केही क्षणमै नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भएको र उनलाई निजामती अस्पतालमा तत्काल उपचारार्थ लगिएकोमा केही बेरमै उनको मृत्यु भएको थियो । 

यसपछि निर्माण व्यवसायीहरुले तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसमक्ष माग गरे । सरकारले असोज २७ गते मृतक गौचनलाई सहिद घोषणा गरेपछि आफन्तले उनको शव लिन मानेका थिए । योबीचमा लामो समय बितिसक्दा पनि प्रहरीले घटनाका दोषीलाई पक्राउ गर्न सकेको थिएन । 

बल्ल पक्राउ परे शुटरसहित पाँच जना

यद्यपि नेपाल प्रहरीले डीआईजी गणेश केसीको नेतृत्वमा छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको थियो । लामो समयपछि प्रहरीले मंगलबार घटनामा दोषी रहेका पाँच जनालाई सार्वजनिक गरेको छ । यसबाहेक प्रहरीले फरार आठ जनाको नाम पनि सार्वजनिक गरेको छ । घटनामा संलग्न पाँच जनालाई भृकृटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा शुटरसहित अन्य सहयोगीलाई मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेकाहरुमा गौचनलाई गोली हान्ने सुटर राजीव स्याङतानसहित मुकेशकुमार पाडे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी र शिवजी महतो रहेका छन् । महानगरीय प्रहरी रानीपोखरीका प्रमुख डीआईजी जयबहादुर चन्दले पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी गराएका हुन् । 

यसरी भएको थियो हत्या 

हाल फरार रहेका गुण्डानाइके समिरमान सिंह बस्नेतको योजनामा गौचनको हत्या भएको तथा त्यसमा मनोज पुनले सघाएको प्रहरीको भनाइ छ । बस्नेत नेपालमा नभएको प्रहरीको भनाइ छ । उनी नै हत्याका योजनाकार र नेतृत्वदायी भूमिका खेलेका थिए । त्यस्तै फरार रहेका मनोज पुन बुटवलका हुन्, उनी एमालेसम्बद्ध युवा संघ रुपन्देहीका दुर्गा तिवारीको हत्यापछि फरार रहेका छन् ।

पत्रकारसम्मेलनमा बोल्दै डीआईजी केसीले पैसाकै कारण निर्माण व्यवसायी संघका अध्यक्ष गौचनको हत्या भएको जानकारी दिए । उनले पैसाकै कारण हत्या गरिएको भने पनि यसअघि अध्यक्ष गौचनले भने आफूमाथि पैसा मागिएको कुरा प्रहरीमा नबताएको पनि जानकारी दिए । कार्यक्रममा बोल्दै डीआईजी केसीले सुटरसहित सहयोगीहरु पक्राउ परे पनि हत्याका योजनाकार फरार रहेको बताए । प्रहरीका अनुसार घटनापछि तथा पक्राउ पर्नुअघिसम्म शुटरले पैसा नपाएको खुलेको छ । 

१ महिनादेखि गौचनमाथि निगरानी 

प्रहरीका अनुसार हत्याका लागि अभियुक्तहरुले एक महिना अघिदेखि नै गौचनको निगरानी राख्न सुरु गरेका थिए । उनीहरुले मोटरसाइकल समेत भारतबाटै चोरेर ल्याई नेपाली नम्बर प्लेट राखेर घटनामा प्रयोग गरेका थिए । प्रहरीले पक्राउ गरेकामध्ये २१ वर्षका राजीव स्यांग्तान मुख्य शुटर (गोली हान्ने) हुन् । उनी नुवाकोट पञ्चकन्या गाउँपालिका ५ का बासिन्दा हुन् । त्यस्तै अर्का शिवजी महतो पर्सा कालिकामाईका हुन्, उनले घटनामा हतियार र मोटरसाइकल व्यवस्थापनमा सहयोग गरेका थिए भने पक्राउ परेका भारतको विहार बेतियाका मुकेश पाण्डेले पनि हतियार व्यवस्थापनमा सघाएका थिए । त्यस्तै पक्राउ परेका सन्तोष गुरुंगले पनि मोटरसाइकल व्यवस्थापनमा सघाएका थिए । अर्का अभियुक्त प्रकाश बुढाथोकीले भने घटनामा सहयोगी भूमिका निभाएका थिए । 

आठ जना अझै फरार

यसबाहेक समिरमान सिंह बस्नेत, मनोज पुन, लोप्सांग, गंगा लिंग्देन, श्याम गुम्बे, अम्बर राना, रोशन बुढाथोकी र अजय थापा अझै फरार छन् । प्रहरीका अनुसार घटनामा प्रयोग गरिएको हतियार अभियुक्तमध्येका शिवजी महतोले भारतबाट ५५ हजारमा खरिद गरी गुम्बेलाई ६५ हजारमा बेचेका थिए । घटनामा दुईवटा हतियारबाट गौचनमाथि उनीहरुले प्रहार गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै