• २०८१ बैशाख ६ बिहीबार

पशुपतिमा बाला चतुर्दशीको तयारी पूरा

kharibot

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा यस वर्षको बाला चतुर्दशीका लागि सबै तयारी पूरा भएको छ । 

कात्तिक ३० गते बिहीबार साँझ दिवंगत पितृको सम्झनामा आफन्तजनबाट रातभर दीपप्रज्वलन गरी भोलिपल्ट मंसिर १ गते शुक्रबारका दिन सत्विजारोपण व्यवस्थित रुपमा गर्न तयारी पूरा गरिएको हो । 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवंगत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्ने परम्परा छ । मन्दिर प्राङ्गणको चारैढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीपप्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

बत्ती बाल्न र रातभर जाग्रामका लागि पालभित्र र उपलब्ध हुनसक्ने अन्य स्थानसमेत कोषको तर्फबाट निःशुल्क उपलब्ध गराइने भएको छ । कसैले पनि शुल्क उठाउन नपाउने गरी कडा निर्देशन गरिएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । 

‘रातभर बत्ती कुरेर बस्न नसक्नेका लागि रु एक हजार तिरी कोषले नै कर्मचारी खटाई विगतमा झैँ बत्ती बाल्ने व्यवस्था मिलाइएको छ । मन्दिर प्राङ्गण, मुख्य क्षेत्रभित्र र ढुंगा छापेको, पिच गरेको स्थानमा सत्बीज नर्छन् र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न भक्तजनलाई अनुरोध गरिएको छ’– उनले भने । 

यस अवसरमा मादक पदार्थ एवं नशालु पदार्थ बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ । यसको अनुगमनको कडा व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई महँगा र भड्किला गरगहना एवं छालाका जुत्ताचप्पल नलगाउन सूचित गरिएको छ । 

भूकम्पका कारण देवालय, पाटी, पौवा सत्तल चिरा परी जोखिमपूर्ण अवस्थामा रहेकाले मानवीय क्षतिसमेत हुनसक्ने हुँदा त्यस्ता स्थानमा राति बत्ती बालेर बस्न निषेध गरिएको छ । खोजखबर कक्षको सञ्चालन र सञ्चारको प्रभावकारिताका लागि नेपाल टेलिकम र एनसेलबाट विशेष व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

मेलाका लागि एकीकृत सुरक्षा संयन्त्रअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक हजार १०० को संख्यामा परिचालन गरिने प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । बाला चतुर्दशीका लागि नेपाली सेनाको समेत विशेष सहयोग लिइने छ । 

बालाचतुर्दशीमा कैलाश डाँडामा मात्र बजार राख्न पाउने, वाग्मती नदीमा अस्थायी पुल र शौचालय एवं घुम्ती शौचालयको व्यवस्था गरिएको कोषले जनाएको छ । आर्यघाटतर्फको १ र २ नं चिता कात्तिक ३० एवं मंसिर १ गते दुई दिन बन्द गरिने भएको छ । 

सतबीज् मार्ग सुधारसहित पर्व अघि र सम्पन्न भएपछि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै पशुपति सरसफाइ अभियानमा संलग्न संघसंस्थाको सहयोगमा मन्दिर प्राङ्गणभित्रको निरन्तर सरसफाइका लागि नेपाल एसविआई बैंकको सहयोग लिइनेछ । 

पशुपति क्षेत्रको विशेष सफाइमा रहेको खेम्स क्लिनिङले बाला चतुर्दशीको अवसर पारेर विशेष सफाइ अभियान चलाउने खेम शर्माले बताए । यस वर्षको महाशिवरात्रि अघि नै पशुपति क्षेत्रलाई चम्किलो बनाइने उहाँको प्रतिबद्धता थियो । 

मेलामा प्रहरी शिविरसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी प्राथमिक उपचारको व्यवस्था मिलाइने भएको छ । खानेपानी तथा नुहाउने व्यवस्था गर्न कोषले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाउँदै छ । 

कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरुपलगायत जंगलमा पर्ने सत्बीज मार्ग एवं नमोबुद्ध समेतमा पर्याप्त बत्तीको व्यवस्था गरिएको र त्यसका लागि नेपाल विद्युत् प्राधिकरणको सहयोग लिई विद्युत् भार कटौती नहुने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

२०७४ मंसिर २ गते शनिबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म भगवान् श्रीपशुपतिनाथमा पहिरिने कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष मन्दिर प्राङ्गणमा सर्वसाधारणलाई दर्शन गराउने व्यवस्था कोषले मिलाएको सो अवसरमा जानकारी गराइयो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै