• २०८१ बैशाख ५ बुधबार

बाजुराका मतदाताको माग, ‘स्वतन्त्र मतदान गर्न पाऊँ’

kharibot

बाजुरा ।  बाजुरामा विगतका चुनावमा आफूहरुले स्वतन्त्ररुपमा आफ्नो मत खसाउन नपाएको भन्दै यस पटकको निर्वाचनमा आफ्नो मत आफैँ हाल्न पाउनुपर्ने माग राजनीतिक दलहरुसँग गर्न थालेका छन् । 

जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रमा पहुँच भए कब्जा गर्ने र मतपत्र खोस्ने गरेकाले यो पटकको मत आफैँले हाल्न पाउनुपर्ने जोड दिन थालेका छन् । 

जुन राजनीतिक दलको बर्चश्व जहाँ छ, त्यहीँ मतदान केन्द्र कब्जा गर्दै आफ्नो पार्टीलाई जिताउन खोज्ने प्रवृत्ति अन्त्य गर्न दलका उम्मेदवारसँग आग्रह गर्न थालेको मतदाताले बताएका छन् । 

जिल्लाको विकट क्षेत्रमा रहेको गौमुल गाउँपालिकाका मतदाताले स्वतन्त्ररुपमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गरिदिन अनुरोध गरेका छन् । दलीय राजनीतिक प्रभावका कारण गौमुलको वडा नं १ अम्लीसमा धेरैले आफ्नो मताधिकार प्रयोग गर्नै नपाएको भन्दै स्थानीय युवाले आफ्नो अमूल्य मत आफैँले दान गर्न पाउनुपर्नेमा जोड दिएका छन् । 

मतदान गर्न आएका वृद्धवृद्धा र सोझा मतदातालाई फकाएर तपाई मत हाल्न जान्नुहुन्न तपाईकै रोजेको ठाउँमा हामी मतदान गरी दिन्छौँ भनेर फकाउने र भित्र गएर आफू अनुकूल पार्टीको चिह्नमा मतदान गर्ने गरेको उनीहरुले बताए  । 

वडाध्यक्षका उम्मेदवार जयराम रोकायाले भने, गत स्थानीय तहको निर्वाचनमा ३०० भन्दा बढी मतको अपेक्षा गरेका थियौँ, मतदान गर्दा ११४ मत आउँदा छक्क परेका छौँ, किन मत कम भएछ भनी खोज्दै जाँदा प्रायजसोको मत अर्काे व्यक्तिले हालि दिएको थाहा भयो । 

मतदान केन्द्र कब्जा हुँदैन, तर मतदाता नामावली अनुसार मतदान नभएको रोकायाको भनाइ रहेको छ । त्यस्तै, आफ्नो मत आफैँ खसाल्न नपाउने जिल्लाका धेरै मतदान केन्द्र छन् । 

“एमालेको पकडमा भएका मतदान केन्द्र एमाले र काँग्रेसको भएकामा काँग्रेसले मतदान केन्द्र कब्जा गर्दै आएका छन् । त्यहाँ दलका प्रतिनिधिले मतदान गर्छन्, वास्तविक मतदाता भने टुलटुलु हेरेर फर्किन्छौँ,” गौमुलका एक वृद्ध मतदाताले बताए । 

बाजुराका ७० मतदान केन्द्रमध्ये ३३ वटा मतदान केन्द्र अतिसंवेदनशील छन् । तीमध्ये धेरै ठाउँ राजनीतिक कारणले अतिसंवेदनशील छन् । राजनीतिक आस्थाकै आधारमा कर्मचारी खटाइने हुँदा कर्मचारीका कारण पनि स्वतन्त्र मतदानमा अप्ठेरो परेको स्थानीयले बताउने गरेका छन् । 

दल निकटका कर्मचारीले दलको इसारामा काम गर्छन्, कसरी स्वच्छ वातावरणमा मतदान हुन्छ ? स्थानीय तह निर्वाचनका एक पर्यवेक्षकले बताउनुभयो । शान्तिपूर्ण निर्वाचनमा सघाउन नेपाली काँगे्रस, बाजुराले गाउँगाउँमा स्वयंसेवक परिचालन गरी आफ्नो अमूल्य मत खेरजान नदिन मतदाता शिक्षालाई पनि उत्तिकै जोड दिएको छ । 

मतदाताले आफ्नो मत आफैँले दान गर्न दिनुपर्ने वातावरण मिलाउन निर्वाचन अधिकारीलगायत सम्बद्ध पक्षसँग माग गरेका छन् । जिल्लामा अहिले चुनावी अभियानलाई नेपाली काँग्रेस र वाम गठबन्धनले तीव्रता दिँदै आएका छन् । दुवै दलका उम्मेदवार कतै खेतबारीमा हलो जोत्दै मत माग्दै आएका छन् भने कतै कुटो कोदालोको काम गर्दै मत माग्ने गरेको पाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै