धुपिले मन्छाएको भुत !

kharibot

काठमाडौं । तपाईले भुत देख्नु भएको छ ?

कोरोना भाइरसले विश्व नै चिन्तित तुल्याएको बेला' यस्लाई के को भुत चढेछ फेरि" ठान्नुभो होला है?

कोरोना भाइरस कै समाचार लेख्दा-लेख्दै, पढ्दा-पढ्दै अल्छि लाग्या’ भए आउनुस यता एकछिन, म गोसाइँकुण्डको भुत धुपिले मन्छाएको कुरा सुनाउछुँ ।

अघिल्लो पटक गोसाइँकुण्ड जान बनाएको योजनामा पाँचपोखरी गएका थियौँ, हिउँ पर्ने सिजनमा जमेको कुण्ड हेर्न जाने प्लानमा गोसाइँकुण्ड थन्काएर ।

टिक-टकमा कसैले १५ सेकेण्डको भिडियोमा संगीत भरेर अपलोड गरिदिएको थियो – सेताम्मे हिउँले ढाकेको बाटो, दुई किनारबाट गुराँसका हाँगाहरु एक-आपसमा अंकमाल गरेजस्तो लाग्ने,त्यसैमाथि टन्नै भरिएको हिउँ । अहो ! मन त भुरुरु उडेर उतिखेरै पुगिगयो त्यहि बाटोमा । टिक-टक कै भिडियोमा भरेको गीतसंगै हिउँमा नाच्न पनि थाल्यो मन त !

अब, मन पुगेर नाचिसकेको ठाँउमा, तन पुर्याउने हुटहुटी चलिसकेको थियो । ‘फ्रोजन लेक’, ‘लाइभ स्नो फल’, हिउँले ढाकेको बाटो कल्पना गर्दा मात्रै पनि हिड्ने दिन आजै भइदिए हुन्थ्यो जस्तो लागिसकेको थियो ।

हिड्ने दिन पनि टुङ्गो लाग्यो फागुन ७ गते, ९ गतेको महाशिवरात्रीमा गोसाइँकुण्ड पुग्ने गरी । हिम पहिरो र चितुवाको समेत डर हुने भएकाले धेरैले हामीलाई त्यो समयमा नजान सल्लाह दिएका थिए । हामी भने रोकिने वाला थिएनौं ।

जाने टोलि बनेको थियो ४ जनाको - दमकबाट गोसाइँकुण्ड नै जान भनेर आएकी साथी शुभलक्ष्मी लामा(उनको पहिलो ट्रेक थियो यो), आवास थापा (ऊ चाँही पहिले एक पटक गोसाइँकुण्ड पुगेर आइसकेको थियो, यात्रामा हाम्रो गाइड बन्यो ऊ), सोनी थापा र म (हाम्रो चाहिं यो दोस्रो आफिसिएल ट्रेक थियो तर गोसाइँकुण्ड पहिलो पटक जाँदै थियौँ)

७ गते काठमाडौंबाट गोसाइँकुण्डको यात्रामा निस्कने योजना भए पनि, हिड्ने दिन भोलिपल्ट अर्थात फागुन ८ गतेलाई मात्रै जुर्यो ।

८ गते बिहान ७ :३० बजे माछापोखरी बसपार्कबाट छुट्ने बसमा ४ वटा टिकट बुक गरिसकेका थिए आवास र सोनीले । शुभलक्ष्मी(उनलाई हामी शुभ भनेर बोलाउछौँ) र म पुग्दा बस हिड्नै लागेको थियो । हामीले सामान राखेर सिटमा बसेपछि बस गुड्न थाल्यो । काठमाडौंको माछापोखरी बसपार्कबाट गल्छी हुँदै धुन्चे पुगेर बस रोकिदा लगभग ३ बज्न लागेको थियो ।

छुटेका केही सामान धुन्चे बजारमा किनेर, खाजा खाइसकेपछि  सुरु भयो हाम्रो पैदल यात्रा । धुन्चेबाट हिड्न सुरु गर्दा ४ बजिसकेको थियो । घट्टेखोला पुग्दा गोसाइँकुण्ड जाँदै गरेको ९ जनाको टोलि भेटियो । घट्टेखोलाको उकालो चड्दै गर्दा फेरी अर्को ३ जनाको टोलि पनि भेटियो । उनीहरुसंग अघिपछि हुँदै उकालो उक्लिन थाल्यौँ ।

फागुनको शुरुवाती दिनहरु, घडीले ७ बजाउने तरखर गर्दै गर्दा अँध्यारोले छपक्कै छोपिहाल्यो । नचिनेको, जंगलको बाटो, देउराली पुगेर त्यतै बास बस्ने निधो गर्यौँ । देउराली पुग्न हामीलाई ३ घण्टा लाग्यो ।

अघिल्लो दिन दमकदेखि काठमाडौंसम्म बसको यात्रा, फेरी भोलिपल्टै काठमाडौंदेखि धुन्चेसम्मको बस यात्राले शुभलाई रिंगटा लागिरहेको थियो । उनी यस्तो पैदलयात्रामा पनि पहिलो पटक आएकी थिइन् । उनलाई गाह्रो भएको देख्दा कसरी पुर्याउने होला जस्तो लागे पनि ‘केहि हुन्न आज आराम गरेपछि भोलि हिड्न सकिन्छ । फेरी हामि म्याराथुनमा पनि त आएको हैन नि । बिस्तारै हिड्ने हो सकिन्छ’ भनेर उनलाई हौसला दिन भने छोडेनौं ।

बस यात्राको थकान एकातिर, पहिलो पटक पदयात्रा त्यो पनि ४३८० मिटर अग्लो ठाँउमा रहेको गोसाइँकुण्ड पुग्ने । हेर्दै आत्तेस लाग्ने अडिग पहाडहरु आफ्नै अगाडि उभिएका, कसरी पुग्नेहोला भन्ने डर त छँदै थियो, शुभलाई लाग्ने डर अर्को पनि रहेछ । अध्याँरो र भुतसँगको डर ।

''तिम्लाई भुतदेखि डर लाग्छ ?'' घट्टेखोलाको उकालो चढ्दै गर्दा खुसुक्क सोधेकी थिइन् शुभले ''मलाई त भुत हेर्न मन छ'' जवाफमा मैले भनेकी थिएँ । मेरो जवाफ सुनेर एकैछिन भएपनि आफ्नो डर बिर्सेर मज्जैले हासिन् उनी ।

९ गते बिहान ६ बजे नै देउरालीबाट हिड्ने प्लान बनाएका हामी हिड्दा ७ बजिहाल्यो । तातो चियाको चुस्कीसँगै बिस्कुट चोपेर खाएपछि उकालो चढ्न थाल्यौं । शुभको अनुहारमा पनि हिजो देखिएको थकाइ र डर सबै हराएको थियो । गफिदै उकालो चढ्ने जोश भरिएको थियो उनमा ।

शुभ मेरी ११/१२ कक्षा पढ्दा देखिन् कि साथी । त्यतिबेला (२०६७/६८ साल तिर) अहिले जस्तो  सामाजिक सञ्जालबाट लभ पर्दैन थियो । हाम्लाई त 'रङ्ग नम्बर'बाट फोन आउथ्यो । अहिले ति 'रङ्ग नम्बर'वालाहरु के गर्दै होलान्, भनेर सम्झिन पनि भ्यायौं । एक दशक नै पो भैसकेछ त, ति दिनहरु बितेको पनि । यस्तै इतिहाँस सम्झिँदै ४ घण्टाको उकालो बाटो हिँडेपछि लगभग ११ बजे चन्दनबारी पुगियो ।

होटलमा साहुजी एक्लै रहेछन् । हामी चारै जनालाई गिलासमा तातो पानी थमाउँदै खानाको बन्दोबस्तमा नै व्यस्त भए उनी । पानी निक्कै तातो रहेछ अलिकति चिसो पानी मिसाउन जर्किनबाट पानी सारौँ भनेको, जर्किनमा त तिनपानी पो रहेछ ! माथि धेरै चिसो हुँदालाई औषधी, १५० रुपैंयाको १ बोत्तल त्यही तिनपानी पनी झोलामा हाल्यौं । करिब आधा घण्टामा साहुजीले खाना तयार पारे । जति उकालो बढ्दै गयो चिसो उतिनै बढ्दै गएको थियो, अनि भोक पनि त्यति नै लागेको । ढिलो नगरी खाना खायौँ र त्यहांबाट अगाडि बढ्यौं ।

ठाडो उकालो सकिएर अब भने सजिलो बाटो आएको थियो । चन्दनबारीबाट हिंडेको १५ मिनेट जति मात्रै भएको थियो बिस्तारै-बिस्तारै बादलले आकाश ढाक्दै आयो र एकैछिनमा कपास जस्तो सेतो हिउँ फुस्फुसाउन थालिहाल्यो । हाम्रो 'लाइभ स्नो फल' हेर्ने सपना पुरा हुँदै थियो । हेर्दा-हेर्दै निक्कै बाक्लो हिउँ पर्न थाल्यो । सल्लाका बोटहरुले भरिएको त्रिकोणात्मक जंगलको बाटो, उस्तै उमेरका दौंतरी, पर्दै गरेको नरम हिउँसँग खेल्दा-खेल्दै, अझै हिड्न बाँकी छ भन्ने नै बिर्सिसकेछौँ ।

उकालो चढ्दा, अब कतिबेर लाग्छ पुग्न भनेर ओरालो झर्दै गरेका हरेकलाई सोध्न भ्याउँथ्यौं हामी । आफुलाई टिभी रिपोर्टर भन्ने दुई जना मानिसहरु फर्किदै रहेछन्, उनीहरुलाई पनि सोध्यौँ । अघिल्लो दिन नै आएका रहेछन्, हेलिकप्टरबाट । माथितिर धेरै हिउँ परेको र हेलिकप्टर आउन नपाएकोले हिड्दै फर्किएका रहेछन् उनीहरु । अब भने अलिकति छिटो हिडेर अघिल्लो होटलसम्म मात्रै भने पनि पुग्नुपर्छ भन्ने डर भयो र अलमल नगरी अगाडि बढ्यौं ।

चोलाङ्पाटी पुग्दासम्म हिउँ परिरहेकै थियो । एकैछिन थकाइ मारेर चिया खाजा नखाई हिड्न नसकिने अवस्थामा पुगेका थियौँ  । फेरी दिउसैदेखि बाक्लो हिउँ परिरहेकोले अगाडि बाटो कस्तो छ, नबुझी हिड्ने कुरा पनि भएन । हरेक मान्छेको फरक कुरा - कोही यहाँ भन्दा अगाडि जान सकिंदैन, हिउँ धेरै बाक्लो छ भन्थे त कोही बाटो पुरिएको छ अगाडि नजानुस भन्थे । अब त गोसाइँकुण्ड पुग्न धेरैदिन सकिदैन, भन्ने पनि थिए । अझै घट्टेकुलोको उकालोमा भेटिएका ३ जनाको टोली त लौरिबिनाएक पुगीकन अगाडि जान सकिएन भनेर फर्किदै रहेछन् । जे त पर्ला, लौरिबिनाएकसम्म चाहिं पुग्ने नै निधो भयो ।

अब त झन् ठ्याक्कै टिक-टकको भिडियो मै देखेको जस्तो बाटो शुरुभयो – सेताम्मे हिउँले ढाकेको, बाटोको दुई किनारबाट गुराँसका हाँगाहरु एक-आपसमा अंकमाल गरेजस्तो लाग्ने,त्यसैमाथि टन्नै भरिएको हिउँ । अहो ! तर, एकैछिनमा अध्यारोले छेकिहाल्यो त्यो दृश्य । अध्यारो बढ्दै आएपछि शुभको मनको डर पनि बढिहाल्ने । उही क्या, भूतको डर !  
उनले फेरी सोधिन् ''यहाँ भुत त आउदैन होला नि है ?''

''भगवान भएको ठाउँमा भुत कहिले आउदैन, बरु चितुवा चाहिं आउन सक्छ है यता । चितुवाले मान्छे मारेको समाचार आइरहेको हुन्छ ।'' यति भनेर भुत नआउने कुरामा विश्वस्त पार्न खोजें उनलाई ।

बिहान ७ बजेदेखि हिडेका हामी बेलुकाको ८ बज्नै लाग्दा मात्रै पुगियो लौरिबिनाएक र त्यहीं बिसायौं, बोकेको झोला र थाकेको शरीर ।

महाशिवरात्रिमा गोसाइँकुण्ड पुग्ने योजना लौरिबिनाएकमै रोकियो त्यस दिन । होटलमा जम्मा भएका २६/२७ जना थियौँ । चुलोमा हिउँ पकाएर पानी बनाउन ठुलो भाडो बसालिएको थियो र वरिपरी होटलका सबै पाहुना गोलोघेरा बनेर बसेका थियौँ । हिउँ पर्न रोकिएकै थिएन । अझै हुरीबतास पनि जोड-जोडले चलिरहेको थियो । हिउँको चिसो ठिरोमा आगोको तातो सबैलाई प्यारो थियो ।

शिवरात्रीको दिन, शिव जी को प्रसाद बनाउदै थिए कोही, अनि कोही जिउ दुखेको औषधीमा तिनपानी चढाउँदै । गफ त्यस्तै जोशिला थिए - ''भोलि यहाँबाट माथि जान सकिएला कि नसकिएला ? बाटो पुरिएको छ रे, सबै भन्दा पहिला को जाने ? यहाँसम्म आइसकेपछि जसरी पनि पुग्ने हो, वीर गोर्खाली पो त! '' यस्तै-यस्तै ।

१० गते बिहान सबै भन्दा अन्तिममा होटल बाट निस्कियो हाम्रो टोली । एकदमै ठाडो उकालो, हेर्दा नजिकै जस्तो लाग्ने तर जति हिडेपनी बाटो नै नकट्ने । लौरोले टेक्दै हिउँले पुरिएको बाटो पत्तालगाउनु पर्ने, एउटा खुट्टा मात्रै अडिने गोरेटो बाटो, खुट्टा चिप्लिए हिउँकै पहिरोमा लडिने पिर । होसियारी पुर्वक पुगियो गोसाइँकुण्ड ।

अब, प्रतिक्षाको घडी सकिएको थियो। 'लाइभ स्नो फल' अघिल्लो दिनभरि देखिसकेका थियौँ, हेर्दा हिउँको समुन्द्र जस्तो लाग्ने 'फ्रोजन लेक' आँखा आगाडि नै थियो । जता हेरेपनि सेताम्मे हिउँ, चाँदी झैं टल्किएको हिमशृंखलाले बेरेर राखेको स्वर्गको एक टुक्रा जस्तो लाग्दै थियो, गोसाइँकुण्ड क्षेत्र ।

कोही क्यामराको एंगल मिलाएर फोटो र भिडियो खिच्नमा व्यस्त थिए त कोही होटलमा बसेर तातो चियाको चुस्की लिनमा । १२ बजे सम्म हेलिकप्टर बाट यात्रीहरु आउने जाने चलिरहेको थियो । हेलिको आवाजले प्रकृतिको माधुर्यतामा केही दखल पुर्याको महशुस मैले गरेकी थिएँ । हिडेर त्यहाँपुग्ने अरुलाई पनि त्यस्तै भएको रहेछ । हेलिकप्टर आउन जान बन्द भएपछि कोही पलेटी कसेर मेडिटेसन गर्दै थिए । शहरको कोलाहल छल्न त्यहाँ पुगेका उनीहरु स्वर्गको काखमा बसेर त्यो शान्तिमा लिन हुन चाहान्थे सायद ।

११ बजेको थियो हामी गोसाइँकुण्ड पुग्दा, मन्दिर दर्सन गर्यौँ । सोनी र आवासलाई छिमेकीले केही धुप, अछेता, प्रसाद र भेटि पठाएका रहेछन्, मन्दिरमा चढाएर कुण्डतिरै लाग्यौँ ।

जमेर आइसको पोखरी बनेको कुण्ड, त्यसैमाथि हिउँको अर्को तह थपिएको । खुलेको मौसम, निलो आकाश केही बढिनै सुन्दर देखिएको थियो । कल्पना गरेको भन्दा निक्कै सुन्दर थियो परिवेश । हिउँलाई छोएर आएका चिसो हावाको झोक्काले अनुहारमा स्पर्श गर्दाको आनन्द ! बर्णन गर्न यी शब्दहरु कम पर्छन् । मन फुरुङ्ग थियो, तनको सारा थकान मेटिएर जिउ हलुङ्गो भयो । कुण्डमाथि नै नाच्न थाल्यौँ हामी ।

अब फर्किनु पनि त छ ! २ बजेपछि बादलले घेर्न थाल्यो, एकैछिनमा हिउँ फुस्फुसाउन पनि थाल्यो । सम्झनाका केही तस्वीर क्यामरामा अनि धेरै यादहरु मनमा समेटेर ओरालो झर्न थाल्यौँ, गोसाइँकुण्डको ४३८० मिटरको उचाईबाट ।

हिउँ परिनै रह्यो, लौरिबिनाएकबाट तल तिर जंगलको बाटो, अध्यारो भएपछि चितुवा आउने डर । त्यसदिन चोलाङ्पाटी पुगेर बास बस्ने भयौँ । होटल पुग्न बाँकी नै थियो । साँझ झमक्कै परिसकेको । हिउँको सेतो टल्किए पनि अरु सबै कालो छायाँ बनिसकेका थिए । बढेको अध्यारो सँगै शुभको मनको डर पनि बढ्दै आएको थियो । ''आवास!'' अलिठुलो आवाजमा उनले भनिन् ''तिमी पनी हामीसंगै हिडन, मलाई डर लाग्यो!'' आवास सबैभन्दा अगाडि हिडेको थियो ।

''के भयो र ?'' हामीले सोध्यौँ ।

''खै के पो हो ! भुत जस्तै कालो चिज थियो त्यहाँ'' शुभको जवाफ

''रुखको छायाँ होला, आउन्न भुत हिड । त्यही पनि हामी जस्तो भुत यहीं हुँदाहुँदै कुन भुत आउछ र यहाँ ।'' जिस्किदै मैले थपें ।

शुभको टाउको दुख्न  शुरु भयो, एकैछिनमा होटल पुग्यौँ । हामीलाई बिस्तारै थकाइ मर्दै गयो, तर उनको टाउकोको दुखाइ बढ्दै गयो । उनी खाना समेत खान नसक्ने भइन् । पस्किएको खाना थालमै छोडेर बान्ता गर्न थालिन् । चिसोले होला भनेर न्यानो बनायौँ, टाउको नदुख्ने औषधी खुवायौं । अँह, भएन । अब हामीलाई मात्रै हैन होटलमा भएका अरु पाहुनालाई पनि उनलाई के भएको होला भनेर चिन्ता हुन थाल्यो । उनले आफै भनिन् ''मलाई भुत लागेको हो, मैले बाटोमा अघि भुत देखेको थिएँ ।''

सानोमा हामीलाई अचानक जोरोले जिउ तातेर रन्किदा होस् या साँझतिर चौतारामा खेलेर घर फर्किदा जिउभरी डाबर निस्किदा(चिलाउने भुत लागेर), भुत लाग्यो भनेर झाँक्री हजुरबुवा कहाँ फुक्न लगेको याद थियो मलाई । झाँक्री हजुरबुवाले कुनी के-के भन्दै बाटेको धुप र अछेता मन्छिएर दोबाटोमा फालिदिएपछि हामीलाई लागेको भुत भाग्थ्यो ।

त्यहाँ झाँक्री थिएनन्, तर साथीलाई ठिक त बनाउनु पर्यो ! धुपको खोजि भयो, धुपी उपलब्ध भयो । साहुजीसँग थोरै चामल पनि मागेँ । धुपी सल्काएर धुँवा आउने बनाएँ, चामल र धुपी एकै हातमा लिएर शुभको टाउको र कुम तिर छुँदै, उसलाई लागेको सबै भुत भागोस भनेर मनमनै कामना गरें । धुपी र अछेता दोबाटोमा लगेर राखिदिएँ । उनको टाउको दुख्न अझै ठिक भएन, एकपटक भिक्स लगाएर निधारमा मसाज पनि गरिदिएँ । त्यसपछि म निदाएछु, बिस्तारै कम हुँदै गएपछि उनि पनि निदाईछिन् ।

भुत र शुभको मनको डर राति नै धुपिले मन्छाई सकिएको थियो । अनि, बिहानीसँगै आएको कलिलो घामका किरणले अध्यारो हटाइसकेको थियो । ठिक भएर बिउझीइन् शुभ ।

'जाँदा यो ठाँउमा चिया खाएको, यहाँ थकाइ मारेको' सम्झिँदै त्यही बाटो फर्कियौँ धुन्चे । ८ बजे चोलाङ्पाटीबाट हिडेका हामी धुन्चे पुग्दा ३ बजेको थियो । अब, ५२५ रुपैंयाको टिकट काटेर काठमाडौंबाट धुन्चेसम्म ल्याइदिने बस थिएन त्यहाँ, हामीलाई फेरी काठमाडौं पुर्याइदिन । त्यसैले दुई वटा जिप रिजर्भ गरेर अर्को ९ जनाको टोलीसहित फर्कियौँ काठमाडौं ।

गोसाइँकुण्डबाट फर्केको यति समयपछी आज लेख्दै गर्दा ती बाटो, गोरेटोमा हिड्दै छु जस्तो लाग्दै छ । उसैगरि रोमान्चित बनिरहेकी छु । खुट्टा राम्ररी नअट्ने बाटोमा हिउँ खोस्रीदै हिडेको सम्झदा जिउ सिरिङ्ग हुनेरहेछ अहिले पनि । यो यात्रा मेरो स्मृतिमा अनुपम अनुभवहरुको सङ्गालो हो । 

पर्यटकीय व्यवस्थापनका हिसाबले धेरै सुधार गर्न मिल्ला वा पर्ला पनि तर व्यक्तिगत रुपमा मलाइ अन्तर्आत्मादेखि नै लाग्छ - यो पदयात्रा र ती बाटाहरु थप सुगम नबनुन् । बाटैभरी आतिथ्यता टक्र्याउने होटेलहरु नथपिउन । त्यो सुगमता र आतिथ्यताले, कसरी त्यो प्रकृतिको आफ्नोपन महसुस गराउन सक्ला र फेरि !

ती बाटा- गोरेटा जस्ता छन्, त्यसै र त्यस्तै नै सुन्दर छन् । फेरी बाटैभरी ढकमक्क फुलेको लालिगुरासले लाली पनि त भर्नेछ । कृतिम लाली भरेर प्राकृतिक सुन्दरतामाथि भद्दापन थप्न जरुरि हुन्न । धेरै कुरा उस्सै सुन्दर हुन्छन्, सबैमा लाली चढाउन किन पो पर्छ र !

सम्बन्धित समाचार