• २०८१ बैशाख १४ शुक्रबार

पुत्रवियोग जीवनको ठुलो शोक रहेछ – प्रचण्ड 

kharibot

काठमाडौं । पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुत्र वियोग संसारको ठुलो शोक रहेछ भनेका छन् ।

स्वर्गीय प्रकाशको सम्झनामा बिहीबार प्रचण्ड निवासमा श्रद्धाञ्जली सभामा प्रचण्डको तर्फबाट राखिएको व्यक्तव्यमा देशका हरेक युवामा प्रकाश देखेको उल्लेख छ ।
श्रद्धाञ्जली सभामा शीर्ष नेताहरुका साथै कूटनीतिक नियोगका प्रतिनिधि समेत उपस्थित थिए । कार्यक्रममा प्रचण्डले आफ्ना छोराको सम्झनामा दिएको वक्तव्य बाचन गरिएको थियो ।

सो व्यक्तव्यमा आफू पूर्णकालिन राजनीतिमा लागेका कारण बाल्यकालमा छोरालाई समय दिन नपाएको प्रचन्डले स्मरण गरेका छन् ।

श्रद्धाञ्जली सभामा प्रचण्डले दिएको व्यक्तव्य जस्ताको तस्तै :

यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनहरू,

हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल(प्रकाश) को श्रद्धाञञ्जली सभामा यहाँहरूको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईँहरूको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ । पीडामा साथ दिनुले खुसीमा साथ दिनुभन्दा धेरै महत्व राख्दछ । तपाईँहरूको साथले हामीलाई एकमात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ ।

यही मंसिर ३ गते आकस्मिक हृदयघातबाट हाम्रा छोरा प्रकाशको असामयिक निधन भयो । उनी जम्मा ३६ वर्षका थिए। ३६ वर्ष संसार बुझ्न र बाँच्न अत्यन्त थोरै उमेर हो। कलिला दुई छोरालाई टुहुरा बनाएर उनी यति थोरै उमेरमै हामीबाट सधैंका लागि विदा भए ।

म पूर्णकालिन राजनीतिमा लागेको तीन वर्षपछि २०३८ सालमा प्रकाशको जन्म भयो । म भुमिगत राजनीतिमा थिएँ, कहिलेकाहीँ मात्र घर आउँथें, त्यो पनि राति अबेला आउँथें र बिहान झिसमिसेमै हिँडिहाल्थें । उनी निरन्तर सामाजिक, आर्थिक र मनोवैज्ञानिक असुरक्षाबीच हुर्किए ।

सुरक्षाका कारण एकपछि अर्को स्कुल फेर्दाफेर्दै उनको पढाइ लथालिङ्ग भयो । अरू थुप्रै नेपाली युवाजस्तै कलिलैमा हतियार बोकेर क्रान्ति र नेतृत्वको रक्षाका लागि उनी पूर्णकालिन कार्यकर्ता भए । अहिले सम्झिँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन् । बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बाबुका रुपमा उनीमाथि न्याय गरिनँ, गर्न सकिनँ ।

केहीले कमरेड प्रकाशलाई केवल मेरो छोरामात्र ठाने र त्यसैमा उनको व्यक्तित्व सीमित गर्न खोजे । तर, उनी प्रविधिमा, संगठनमा र व्यवस्थापनमा अत्यन्त पोख्त थिए । म प्रधानमन्त्री हुँदा र त्यसपछि पनि मेरो निजी सचिवालयमा उनी मेरो छोरा भएका कारण होइन, त्यो भूमिकाका लागि आवश्यक योग्यता र क्षमता भएका कारण जिम्मेवारीमा थिए । उनी अत्यन्त मिडियामैत्री थिए। प्रविधिमा उनको रुचीमात्र थिएन, दख्खल पनि थियो ।

व्यवस्थापनमा उनको दक्षता त यहाँहरु सबैले देखिरहनुभएकै हो । सानैदेखि उनी मेरालागि छोराभन्दा पनि बढी सहकर्मी र सहयोद्धा थिए । म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगबिना सफल हुने थिएन ।

पुत्रवियोग मान्छेको जीवनमा सबैभन्दा ठूलो शोक मानिन्छ र रहेछ पनि । शोकको यो घडीमा हामीले देशमात्र होइन, विश्वभरिबाटै हार्दिक समवेदना र सान्त्वना पायौं । नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति हामी ऋणी छौं ।

हाम्रा छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्वक समवेदना पायौं । युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यवद्धता र सहानुभुति देखाए । विभिन्न पेशागत, व्यवसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई सान्त्वना दिए । मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र अर्याघाटसम्म स्वतःस्फुर्त रूपमा उर्लिएको जनसागरलाई मैले क. प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु ।

दश वर्ष लामो नेपाली क्रान्तिकालमा हामीले त्याग, तपस्या र बलिदानका धेरै किर्तिमान देख्यौं । ‘जीवनको लम्बाइ होइन, उचाइ धेरै हुनुपर्छ’ भन्ने हाम्रो मान्यता थियो र छ। कमरेड प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल(क्रान्तिकारी) संगै युवा संगठनहरुले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईँका छोराछोरी हौं’ भनेर हाम्रो आत्मबल बढाए ।

प्रकाश अब छैनन्। तर, देशका हरेक युवायुवतीमा हामीले प्रकाशलाई देखेका छौं । यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा हामी अझ दृढ भएका छौं। हो, हामी शोकाकुल छौं । तर, देश र समाजप्रतिको दायित्व यो शोकमा हामीले अझ बढी महशुस गरेका छौं ।

आफन्तजन, राजनीतिज्ञहरू, पार्टीका साथीहरू, महामहिमहरू, विभिन्न पेशा र वर्गका शुभचिन्तकहरू, यो शोकका क्षणमा यहाँहरूले मनैदेखि दिएको समवेदना र सहानुभूतिले हामीमा धैर्य र हिम्मत थपेको छ। आजको उपस्थितिका लागि म परिवार र पार्टीका तर्फबाट हृदयदेखि नै तपाईँहरूप्रति कृतज्ञता व्यक्त गर्दछु ।
७ मंसिर, २०७४
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै