• २०८१ बैशाख ८ शनिबार

आसन्न निर्वाचन र सचेत नागरिकको जिम्मेवारी

kharibot

लेखक : डा. एम.एल.शर्मा 

काठमाडौँ । अबको नेपाल कस्तो बनाउने र कसरी बनाउने भन्ने छिनोफानो हुन केही हप्ताको मात्र प्रतिक्षा छ । यति भनिरहँदा हामी आम मतदाताको यूगले दिएको जिम्मेवारी बढेको छ । 

२०७२ को संबिधानको कार्यान्वयनको सिलसिलामा अबको नेपाल बारे आम मानिसमा चासो सर्वत्र हुनु स्वाभाविक छ । अहिले देखिएको परिवर्तन सहज रुपमा प्राप्त भएको भने हैन । विगत सात दशकदेखि नेपालमा राजनीतिक स्थायित्व हुन सकेको थिएन र हरेक परिवर्तन पश्चात जनताका आशा पूर्ण रुपमा अथवा भरपर्दो हुने गरी पुरा भएनन् । तसर्थः अहिलेको ऐतिहासिक परिवर्तन ल्याउन कहिले शान्तिपूर्ण तथा कहिले शसस्त्र संघर्ष गर्नु परेको हो । यो परवर्तनका लागि जनताले अविराम संघर्ष गरेका छन् । पहिलेका क्रियाकलापहरुले वर्तमान समयमा असर गरिरहेको हुन्छ  भने अहिले गरिने क्रियाकलापले भविष्यलाई डोराउने कार्य गर्दछ । जतिनै ठूला भनिएका परिवर्तन हुँदा पनि देशले अपेक्षित प्रगति गर्न नसके कै हो । 

त्यस कारण अव फेरी पनि पुरानै किसिमले  राजनीतिक ब्यवस्था अगाडी बढ्ने कुराको कल्पना पनि गर्न सकिँदैन र यसमा कसैलाई छुट पनि दिन सकिदैन । महत्वपूर्ण समयमा कुनै भुल नहोस र नगरोस भनेर जनस्तरमा छलफल हुनु आवश्यक छ । आजका जनताले केही नगर्नेलाई छुट दिन सक्ने छैनन् । 

यहि सन्दर्भमा आम जनमानससँगै बुध्दिजीवीहरुले पनि सक्रियताका साथ यस ऐतिहासिक मोडमा आफ्नो सान्र्दभिक विचार प्रवाह गर्न आवश्यक छ । यस ऐतिहासिक दायित्वबाट सचेत नागरिक वर्ग टाढिएर बसे सचेत नागरिक को कर्तब्य पूरा नगरेको ठहरिने छ । 

उज्यालो र खुला आकासको आजको वाताबरण सजिलो जस्तो देखिए पनि सजिलो छैन । आम नेपाली जनताको मुहारमा खुसी झल्किने अवस्था श्रृजना गर्न आसन्न निर्वाचन महत्वपूर्ण छ । विभिन्न समयक्रममा महान सहिदहरु, आन्दोलनका अग्रजहरु, योद्धाहरु तथा आम जनताको सपना र अपेक्षामा खरो उत्रिन अबको नेतृत्व सक्षम हुनै पर्दछ । सचेत नागरिकले यथार्थलाई विश्लेषण गर्दै सहि कुरा जनमानसमा ल्याउन अति नै जरुरी छ । नेपालले अवलम्बन गरेको लोकतान्त्रिक पद्धति मौलिक प्रकारको भन्न सकिन्छ र नविन ढङ्गले अगाडी बढ्दै छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले भने जस्तै सबै जातको साझा फुलबारी र प्राकृतिक स्रोत र साधनमा हामी सम्पन्न हुँदा हुदै पनि  नेपाल पछाडी पर्न गएको कारणहरुलाई ठम्याउन आवश्यक भएको छ । करीब तीन दशक हुन लागेको छ  नेपाल आधुनिक खुला समाजमा प्रबेश गरेको ।

यस अवधिमा विभिन्न आन्दोलन भए अनि हजारौ जनताले सहादत  प्राप्त गरे तर पनि  जनताले पाएका उपलब्धीहरु न्यून छन् । यो करिव तीन दशकको समय अवधिमा अधिकांश समय नेपाली कांग्रेसले प्रजातन्त्र र लोकतन्त्रको नाममा अधिनायकवादी शासन शैली जनताले अहिलेसम्म ब्यहोरी रहेका छन् । अहिले चुनावमा हरेक आन्दोलनमा अग्रिम मोर्चामा रहेको बामपंथी शक्तिलाई उनीहरुले जितेमा अधिनायकवाद लादिन्छ भन्दै कांग्रेसी वृत्तबाट कोकोहोलो मच्चाईएको सुनिएको छ । नेपाली कांग्रेसले देशलाई सहि मार्गमा डोराउन नसकेको अवस्था नेपाली जनताले अनुभूति गरेका छन् । 

अहिले देश निर्वाचनको मुखैमा भएको बेला र आसन्न निर्वाचनले देशको अबको बाटो तय गर्ने हुँदा सचेत नागरिकले यथार्थपरक बिचार आम जनमानसमा ल्याउनु पर्ने कर्तब्य रहेको छ । सचेत नागरिक तथा बुद्धिजीवी भन्नाले आरामदायी जीवन निर्वाहा गर्ने र कुनै विषयको विज्ञ हो भन्ने आम बुझाई छ वास्तवमा त्यो सहि बुझाई हैन । सामाजिक राजनीतिक विवेक बिनाको नागरिक सचेत र बुद्धिजीवी कहलाउन सक्दैन । विज्ञान प्रविधि लगायत जुन सुकै विधामा पनि यदि हाम्रो राजनीति सही छ भने सबै कुरा सहि हुन सक्दछन् । यसकारण आसन्न महानिर्वाचनले देशलाई सहि दिशा निर्देश गर्न सहि सोच र सहि निर्णय समयमानै गर्नु पर्दछ ।

हाम्रा दुई छिमेकी राष्ट्रहरु चीन र भारत तीब्र रुपले विकासमा फड्को मार्दै छन् । हामी भने विकासमा धेरै पछाडी परेका छौ र दुखको जीवन बाँचीराखेका छौ । अहिले सम्मको कुनै पनि निर्वाचनमा स्पष्ट बहुमत नदिइएको बामपन्थी शक्तिलाई राष्ट्र र जनताको पक्षमा कार्य गर्न यस पटक एक पटक पूरा मौका दिन आवश्यक  देखिन्छ । आधुनिक नेपालको लोकतान्त्रिक आन्दोलनमा बामपन्थि शक्तिको नेतृत्वदायी भूमिका रहेको छ । २०४६ सालको आन्दोलन, सविधान बनाउन त्यतिबेला खेलेको भूमिका, ०६२-६३ को जनआन्दोलन तथा गणतन्त्र स्थापना, २०७२ को सम्विधान जारीगर्ने हरेक तह र तप्काका जनतालाई अधिकार सम्पन्न बनाउन बामपंथी शक्तिले ऐतिहासिक महत्व राख्ने भूमिका खेल्दै आइरहेको छ । नेपाली कांग्रेसलाई २०१५ सालमा दुई तिहाई, २०४८ सालमा सुविधाजनक बहुमत र ०५६ सालमा पनि पूर्ण बहुमत दिँदा पनि नेपाली कांग्रेसको कुनै पनि सरकारले जनअपेक्षा बमोजिम कार्यसम्पादन गर्न नसकेको इतिहास ताजै छ । 

नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर विकासपथमा अगाडी बढाउने स्पष्ट दृष्टिकोण सहितको सरकार निर्माण अहिलेको अभिभारा हो । विकास र सम्वृद्धि हामी आम नेपालीको सपना हो र यसलाई यथार्थमा परिणत गर्ने कार्यमा सम्पूर्ण देशभक्त नागरिकहरु आआफ्नो सधै गर्ने गरेको कार्य सँगसँगै जनमानसमा बास्तविक कुरा राख्न अगाडी आउनु पर्दछ । आफ्नो स्वार्थ मात्र हेर्ने र  राष्ट्रमाथि न्याय गर्ने बेला चूँइक्क बोल्न सम्म डराउने कथित बौद्धिक भनिने र कहलाउन खोज्नेहरुले छर्ने भ्रमजालको पर्दा समयमानै च्यात्नु पर्ने ऐतिहासिक दायित्व छ ।

नेपालमा बाम प्रगतिशिल शक्तिले निकै कम समयमात्र सरकारको नेतृत्व गर्न पाएको अवस्थामा पनि आम जनमानसलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने र नेपालपनि विकासको पथमा अगाडी लम्कन सक्दछ  र हामी नेपाली पनि सम्बृद्ध बन्न सक्छौँ भन्ने सकरात्मक सन्देश दिन सफल भएको छ । सम्बृद्धि र विकास निर्माणको कुरालाई तपसिलको विषय बनाउन पाईदैन । यो मूख्य विषय हो । 

यी विषयलाई अन्यत्रै मोडेर पटक पटक जनताको अभिमतलाई लत्याएर आएका शक्तिहरुले अहिले बाम प्रगतिशिल शक्तिलाई अधिनायकवादी भनि हल्ला पिटाइ रहेका छन् । जुन शक्तिको दह्रो उपस्थितिले सम्पूर्ण आन्दोलनको विसौनीको रुपमा नेपालको संविधान २०७२ जारी गर्यो त्यही शत्तिलाई अन्यथा लाग्ने गरी आरोपहरु लगाउँदा नेपालको सम्विधान र राजनीतिक स्थायीत्वको बारेमा यो वा त्यो रुपमा  भ्रम फिँजाएको ठहरिने छ । 

नेपालको बारेमा विदेशीहरुले गर्ने अध्ययन र मूल्याङ्कनलाई पनि पभावित गर्दछ । एउटा जिम्मेवार भनिने राजनीतिक दल नेपाली कांग्रेसले अनर्गल कुराहरु नगरी जिम्मेवार राजनीतिक शक्तिको भूमिका खेल्न जरुरी छ । राष्ट्र र जनताप्रति अब पनि जिम्मेवार नबने कहिले बन्ने ? 

सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित  र स्वाभिमानका यी पाँचै  स्तम्भ हामी नेपालीका लागि आर्दश हुन् । यसैको जगमा टेकेर नै सामाजिक न्याय, सदभाव र राष्ट्रिय एकता, शान्ति र स्थायित्व प्राप्त गदै सम्बृद्धिको यात्रामा अगाडी जान सकिने हुँदा आगामी निर्वाचन मार्फत स्थायी सरकार निर्माणका लागि सम्पूर्ण क्षेत्रका सचेतनागरिकहरुले गलत दृष्टिकोणबाट आएका भ्रमहरुलाई हटाउन आफ्नो क्षमता र बुद्धिमताको प्रयोग गर्नु पर्दछं । 

(यी लेखक निजी विचार हुन्, डा. शर्मा त्रिवि, कीर्तिपुरमा प्राध्यापक हुनुहुन्छ) 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै