प्रधानमन्त्रीज्यू, तपाई त सपना देख्नु हुन्न है ?

kharibot

एक नकावधारी उत्तेजित हुँदै म भएतिर तम्सदै थियो । अर्को त्यस्तै नकावधारी हातमा छुरा बोकेर आक्रोशित हुँदै म भएको तिरै आउदै थियो । म बिरामी थिएँ । अस्पताल अलि पर थियो । अलिक परको अस्पतालको भिड र कोलहाल, म सहन सकिरहेको थिइन । म कतै जान सक्दिन थिएँ । म बसेको घर पुरै खाली थियो । मलाई भोक लागिरहेको थियो । म एकदमै डराई रहेको थिएँ । त्यतिकैमा मुर्छित भएर लडेछु । 

बिउझदा शरीर शिथिल भएको थियो । गुप्ताङ्गबाट खुन बगेको थियो । भोक झन बेस्सरी लागेको थियो । रोगले मलाई अझै गालेको थियो । अस्पतालको कोलहाल त झनै बढेछ । म चल्नै नसक्ने भएछु । एउटा नकावधारी अलप भइसकेछ । अर्को नकावधारी मेरो नजिकै आयो । उस्को हातको छुरा मेरो शरीरभरी जताततै रोपिदियो । मेरो शरीर विभत्स हुँदै थियो । मान्छेहरु जम्मा हुँदै थिए । कोहि क्यामेरा बोकेर, कोहि कपी कलम बोकेर, कोहि झन्डा बोकेर । मैले चेत गुमाउदै थिएँ । संसार धमिलिदै गयो । मैले केही देखिन । सबै अँध्यारो भयो । कालो !!!

झल्यास्स बिउझिएँ,
ओहो ! कस्तो डर लाग्दो सपना । सपनाको डरले आफैलाई घेरे जस्तो लाग्यो । उठेर पानी पिउछु । अनि सम्झन्छु, दिनभरी देशको समाचारमा आउछ : हत्या, सामुहिक हत्या, बलात्कार, स्वास्थ्य सामग्रीको अभाव, मिर्गौला र मुटुका बिरामीले उपचार पाएनन्, क्वारेन्टाइनमा मृत्यु, मृतकको कोरोना परिक्षण 'रिपोर्ट पोजेटिभ', मजदुरको चुलो बलेन, सुत्केरी भोक-भोकै, किसानले मल, विउ पाएनन्.......' यहि समाचारहरुकै प्रतिविम्ब हो मैले देखेको डर लाग्दो सपना । देशका धेरै नागरिकहरुको वास्तविक भोगाई हो यो ! 

सुरक्षा बर्तौला 

प्रधानमन्त्रीज्यू तपाई त यस्ता सपना देख्नुहुन्न है ? कि तपाई समाचार नै हेर्नुहुन्न/सुन्नुहुन्न ? अहिले देशमा यहि त भइरहेको छ नि भनेर, यी सबै कुराहरु सम्झदै गर्दा ऐंठन हुँदैन है तपाइलाई ? 

एका विहान, उठ्ने बित्तिकै सम्माननीय प्रधानमन्त्रीज्यूको प्यारोडी अकाउन्टबाट आएको ट्वीट पढेँ : ''यो देशमा घाँस उम्रिदा यार्चागुम्बा भएर उम्रिन्छ नेपालीहरुले सधै घाँस खाइरहेका छन् त्यसैले नेपालीहरुको इमिनिटी पावर राम्रो छ । अझै दुई वर्ष घरमै बसेर घाँस खाँउ कोरोनालाई सजिलै जित्न सकिन्छ ।''

प्रतिनिधिसभाको बैठकमा, जेष्ठ २८ गते बुधबार प्रधानमन्त्रीज्यूले गर्नुभएको सवाल जवाफ र उहाँको प्यारोडी अकाउन्टबाट भएको ट्वीट मिल्दोजुल्दो लग्यो । ठ्याक्कै प्राधानमन्त्रीज्यू कै बोलि राखे झैँ ।

''सम्माननीय प्रधानमन्त्रीज्यूलाई धरै कुरा था'छैन, तर था'छैन भन्ने नै था'छैन'' माननीय गगन कुमार थापाले यहि वाक्य बोल्दै 'भ्रष्टाचार, स्वास्थ्य सामग्रीको सुची राखेर संसदमा छलफल गर्नका लागि प्रधानमन्त्रीलाई खुला आह्वान गर्छन्' र प्रश्न सोध्छन् - ''हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कल्ले भन्यो ?''

प्रधानमन्त्रीज्यू उत्तर दिनुहुन्छ ''नेपालीको प्रतिरोध क्षमता राम्रो छ भनेर कसले भन्यो रे ? भर्खरै सुन्नुभयो नि मैले भनेको । यो त मैले भन्या हो । हठी सुनिए प्रधनमन्त्री । यति मात्रै ले कहाँ पुग्यो र नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ भनेर प्रष्ट पार्न उनले थपे - ''यो देश, झार उम्रियो भने यार्सागुम्बा भएर उम्रिने देश हो । यस देशमा ढुंगाबाट सिलाजित निस्किन्छ । यस देशमा माटोबाट सिम्रिक हुन्छ । यो देश जडिबुटीको देश हो, औषधिको देश हो ।''

''नेपालीको भान्छामा दाल, चामल, मकै, भटमास यी अनेक चिज हुन्छन् र त्यसमा बेसार, नुन, खुर्सानी अनिवार्य हुन्छन् । जिरा, धनिया, प्याज, लसुन, अदुवा यी सबै औषधि हुन्छन् । हरेक दिन औषधि खाएर प्रतिरोध क्षमता बढाएको नेपाली, यसको प्रतिरोध क्षमता माथि हुन्छ भन्ने कुरा स्वत: सिद्ध छ । त्यस अर्थ नेपालीहरुको प्रतिरोध क्षमता राम्रो छ । हाम्रो भान्छाको तरिकामा हामि कायम रहनु पर्छ ।'' 

''निरोगी नेपालको उपचार दोस्रो पक्ष हो । पहिलो पक्ष स्वस्थ रहनका लागि उपचार कि निरोगीपन, भन्दा स्वस्थ रहनका लागि आरोग्यता, निरोगीपन त्यसका लागि सन्तुलित र औषधिमय खाना, जो हामिले खाने गरेका छौं । औषधिमय खाना । दोस्रो उपयुक्त शारिरीक श्रम या व्यायाम । तेस्रो आराम, आवाश्यक मात्रामा शरीरलाई पुग्दो आराम । यो मैले मात्र भनेको हैन ऋषीमुनिहरुले गर्या व्याख्या हो ।''

प्रधानमन्त्रीज्यूका यी वाणी सुनिरहँदा म, सुत्केरी आमाले 'पेटभरि खान मन छ' भनेको सम्झन्छु । नुन किन्ने पैसा नभएर पुर्याएर नुन हालेको तरकारी खान्छौं भनेको सम्झन्छु । 'तेल कहाँ पाउनु हजुर जे भएको पानीमै उमालेर खान्छौं' भनेको सम्झन्छु । मल, विउ नपाएर पुर्पुरोमा हात राखेका ति मुक्तकमैया, मजदुर, किसानहरुलाई सम्झन्छु जो कृषि र मजदुरीको तारतम्य मिलाएर जीविकोपार्जन गर्दै आएका छन् ।

प्रधानमन्त्रीज्यू, तपाई बेसर, मसलाको कुरा गर्नुहुन्छ । नुन र तेल बीनाको छाक टार्नेहरुलाई एकपटक भेट्नु होला । तपाई दाल र भातको कुरा गर्नुहुन्छ, कि दाल कि भातको भर पर्नेहरुलाई भेट्नुहोला । कति दिनदेखी नबलेको चिसो चुलोको छेउमा लालाबालाको अनुहार हेरेर गहभरि टिलपिल आशु पारेकाहरुलाई भेट्नुहोला । र, तब मात्रै नेपाली जनताको इम्युनीटि पावरको कुरा गर्नुहोला यदि आम जनताको इम्युनीटिको कुरा गर्नुभएको हो भने ! माननीय, सम्माननियले आफ्नो इम्युनीटि पावर कसरि थेग्नुभा'छ त्यो त जान्दैनन् ति निमुखा जनता । 

प्रधानमन्त्रीज्यू, देश र जनताले केहि आश गरेको नेता हुनुहुन्छ तपाई । पार्टी र देशको अभिभावक हुनुहुन्छ तपाई । देशमा परेको संकटको समयमा निर्णायक भुमिका निर्वाह गर्ने क्षमता भएको नेता हुनुहुन्छ तपाई । देशप्रति तपाईको योगदान र राष्ट्रियताको भावनालाई सम्पुर्ण नेपाली जनताले कदर गरेका छन् ।

तर, १४ वर्षीय अल्लारे उमेरदेखि शुरु गरेको राजनितिमा उमेरले यति पाको भइसकेका प्रधानमन्त्रीले महामारीको यो कठिन परिस्थितिमा गम्भीर विषयको संसदीय छलफलमा समेत अपरिपक्व जवाफ दिँदा आएको लामो तालीको गड्गडाहटले भने सिङ्गो नेकपाकै राजनैतिक परिपक्वतामाथि प्रश्न चिन्ह खडा गरेको छ ।

तपाईले त विश्व देख्नु भएको छ । जान्नु भएको छ । न्युजिल्यान्डकी महिला प्रधानमन्त्री जसीन्डा अर्डर्नले न्युजिल्यान्ड कोरोना मुक्त घोषणा भएको खबर सुनेपछि खुसी हुँदै नाचेको कुराले अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा राम्रै स्थान पाइरहेका छन् । विश्वभरिबाट उनलाई तालीको सम्मान आइरहँदा हाम्रा माननीयहरु भने यस्ता गम्भीर विषयमा समेत प्रधानमन्त्रीज्युको ठट्यौलीमा ताली पड्काएर बस्नु कत्तिको लज्जास्पद हो ? हामिलाई हाम्रो प्रधानमन्त्री त्यसैगरी नाचेको हेर्ने सौभाग्य खै ? ताली बजाएर प्रधानमन्त्रीज्युको सम्मान गर्ने सौभाग्य खै हामिलाई ?    

भ्रस्टाचार आफू पनि गर्दिन र गर्न पनि दिन्न भन्ने तपाई, स्वास्थ्य सामग्रीकै खरिद र अलपत्र नेपाली उद्धार जस्ता संवेदनशील विषयमा समेत कमिसन को लालचमा डुबेकाहरुलाई देखिरहँदा किन कारवाहीको दायरामा ल्याउन किन सकिदैन ?
१०० कि ९९% सन्तुष्टिको कुरा गर्ने हाम्रा प्रधानमन्त्रीज्यू आफ्नो सरकारको सन्तुष्टिमा आफु मात्रै लिप्त रहने त ?

सिमा विवादको विषयमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको देशको नयाँ नक्सा प्रकाशन गर्ने नेपाल सरकारको काम सम्मान योग्य छ । यसमा कुनै दुई मत नै छैन ।

अब, कोरोना सन्त्रासको यो परिस्थितिमा अलिकति गम्भीर भएर दुई तिहाईको सरकार हाक्ने तपाई र तपाईको पार्टिले त कोरोना परास्त गर्दै नयाँ इतिहास रच्नुपर्ने हो । आलोचकहरुलाई सत्ताको मोहले तपाइलाई बचाएको हो भन्ने ठाँउ राख्न दिनु नहुने हो । तर खै ?

यतिबेला कृष्णज्वाला देवकोटाले लेख्नुभएको लेखमा समाविष्ट एक वाक्यांस सम्झन्छु - "नेकपाले सगरमाथाको शिखर भेटिसकेको थियो र ओर्लिनु नै थियो । यो नाच्दै गाउँदै देउरालीमा विसाउँदै ओर्लन सक्थ्यो । तर गतिमा विश्वास राख्ने स्वघोषित मार्क्सवाद भएर होला हिमपहिरोतिर अग्रसर छ ।"

सम्बन्धित समाचार