• २०८१ बैशाख ११ मंगलबार

यी हुन् डोनाल्ड ट्रम्पको ट्विटर एकाउण्ट 'डिएक्टिभेट' गरेर चर्चामा आएका जर्मन नागरिक

kharibot

अमेरिकी राष्ट्रपति ट्रंप (दायाँ), ट्रंपको ट्वीटर बन्द गर्ने जर्मन नागरिक दुयास्क (बायाँ) । तस्बिर : एजेन्सी

उत्तर अमेरिका । गत महिनाको सुरुतिर एकाएक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउण्ट सर्च गर्दा उनका फलोअरले उक्त एकाउण्ट नै नभएको रिजल्ट पाए । लाखौँ फलोअर भएका त्यसमाथि विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपतिको ट्विटर एकाउण्ट सस्पेन्ड भएपछि ठूलै हल्लीखल्ली भएको थियो । ट्रम्प त्यस्ता व्यक्ति हुन्, जो कुनै पनि महत्वपूर्ण कुरा मिडियामा भन्दा सोसल मिडिया त्यसमा पनि ट्विटरबाट सार्वजनिक गरिदिन्छन्, उनको एकाउण्ट डिएक्टिभेट भएपछि ट्विटरले आन्तरिक छानबिन नै गरी माफी मागेको थियो ।

पछि मात्रै थाहा भयो कि उक्त काम गर्ने एकजना ट्विटरका कर्मचारी थिए, जो आफ्नो अन्तिम दिन अफिसमा काम गरिरहेका थिए । उनी थिए टर्किस मूलका जर्मन नागरिक बतियार डुयास्क । अमेरिकाको सन्फ्रान्सिस्कोमा रहेको हेडक्वार्टरमा अस्थायी जागिरे उनको वर्क भिसा पनि सकिँदै थियो । उनकै कारण अमेरिकी राष्ट्रपतिको ट्विटर एकाउण्ट ११ मिनेटसम्म निष्क्रिय भएको थियो ।

डुयास्कबारे बल्ल जानकारी बाहिरिएको हो । उनले आफूले जानाजान नभई भूलवश राष्ट्रपतिको एकाउण्ट डिएक्टिभेट गर्नपुगेको बताएका छन् । उनको उक्त कदमपछि हरक्षण व्यस्त र महत्वपूर्ण ट्विटर एकाउण्ट बन्द भएको थियो । यो कामका लागि ट्रम्पका विरोधीले डुयास्कलाई प्रशंसा गरेका थिए भने ट्रम्पका समर्थकले ट्विटरको चर्को आलोचना गरेका थिए ।

डुयास्कले टेकक्रन्चसँग कुरा गर्दै उक्त कामलाई आफ्नो गल्ती भनेका छन् । उनले माफी माग्दै उक्त काम कुनै पनि उद्देश्यप्राप्तिका लागि नभएर भूलवश भएको बताएका हुन् । उनका अनुसार आफ्नो अन्तिम दिन कसैले ट्विटरको गाइडलाइनको सीमा नाघेको उजुरी परेपछि उनले डिएक्टिभेट गरिदिएको खुलाएका छन्, ट्विटरमा कसैको ट्विटलाई लिएर विभिन्न उजुरी पर्छ र कम्पनीले यदि त्यसले आफ्नो मर्यादा उल्लंघन भएको ठानेमा त्यस्तो एकाउन्ट सस्पेण्ड गर्ने गर्छ । केही दिनअघि मात्रै चर्चित न्युयोर्क टाइम्सको ट्विटर एकाउन्ट पनि घण्टौँसम्म बन्द गरिदिएको थियो ।

उनले ट्विटरको ट्रष्ट एण्ड सेफ्टी डिभिजनअन्तर्गत उपभोक्ताको मद्दतका लागि काम गर्दै आएका थिए । उनले सबैबाट गल्ती हुनसक्ने बताउँदै उक्त काम गल्तीवश नै भएको दाबी गरेका हुन् । एकाएक चर्चित भएपछि उनलाई मिडियाले पछ्याउन थालेको थियो । सोही कारण उनले आफ्नो सामाजिक सञ्जालका सयौँ साथीहरुलाई डिलेट गरेको खुलासा गरेका छन् ।

डिएक्टिभेट भएको ११ मिनेटसम्म ट्रम्पको ट्विटर एकाउण्ट एटरियलडोनाल्डट्रमप सर्च गर्दा अनअभाइलेबल, डज नट एक्जिष्ट देखिएको थियो । यो गत नोभेम्बर २ को घटना हो । ट्विटरमा ट्रम्पका ४२ मिलियन फलोअरहरु छन् । ट्रम्पले कसैको आलोचना वा प्रशंसा गर्नुपरे वा देशकै महत्वपूर्ण निर्णयको जानकारी समेत ट्विटरबाटै दिने गरेका छन् ।

उनले आफ्ना समर्थकसँग नजिकको सम्बन्ध स्थापित गर्ने सूत्रको रुपमा ट्विटरलाई लिएका छन् । ४५औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पको विजयपछि उनी र मिडियाबीच दूरी बढेपनि सोसल मिडिया उनको सबैभन्दा महत्वपूर्ण हतियार बनेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै