• २०८१ बैशाख ७ शुक्रबार

गोलकिपरले गोल गरेर बनाए इतिहास (भिडियो सहित)

kharibot

काठमाडौँ । इटालियन सिरी ए फुटबलको इतिहारमा एक गोलरक्षकले गोल गरेर आफू र क्लबका लागि इतिहास बनाएका छन् ।

पहिलो पटक इटालीको शीर्ष लिग सिरी ए खेलिरहेको बेनेवेन्तोले गोलरक्षकको गोलबाट लिगमा पहिलो अंक जोडेर इतिहास बनाएको हो । 

पहिलो पटक सिरी ए खेलिरहेको वेनेवेन्तोले लिगका १४ खेलसम्म आउँदा एक अंक पनि जोड्न सकेको थिएन । तर लिग अन्तर्गत आइतबार राति भएको खेलमा बलियो टिम एसी मिलानलाई २–२ को बराबरीमा रोक्दै बेनेवेन्तोले लिगमा पहिलो अंक जोडेको हो । 

खेलको इन्जुरी समयसम्म पनि बेनेवेन्तोलाई लिगमा अंकको खाता खोल्नका लागि अर्को खेल पर्खनु पर्ने जस्तो देखिएको थियो । तर इन्जुरी समयको पाँचौं मिनेटमा गोलरक्षक अल्बर्टो ब्रिग्नोलीले हेड मार्फत गोल गर्दै टिमलाई हारबाट जोगाए र क्लबलाई ऐतिहासिक एक अंक दिलाए । 

त्यसअघि ३८ औं मिनेटमा एसी मिलानका लागि बोनावेन्तुरा, ५० औं मिनेटमा बेनेवेन्तोका लागि पुस्कास तथा ५७ औं मिनेटमा एसी मिलानका लागि केलिनिकले गोल गरेका थिए । ७५ औं मिनेटमा रोमाग्नोली दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एसी मिलान १० खेलाडीमा सीमित भएको थियो । 

बेनेवेन्तोका लागि महत्वपूर्ण एक अंक दिलाएका गोलरक्षक ब्रिग्नोलीले आफू निकै खुशी रहेको र यो खुशी आफ्ना लागि मात्रै नभएर सबैका लागि रहेको बताएका छन् । २६ वर्षका ब्रिग्नोली युभेन्टसबाट लोनमा बेनेवेन्तो गएका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै