• २०८१ बैशाख ६ बिहीबार

सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला, मुस्लिम बाहुल्य ६ देशका नागरिक अमेरिका आउन नपाउने

kharibot

वाशिंटन । अमेरिकाको सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि अमेरिका यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको पक्षमा फैसला गरेको छ । 

सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको निर्णयको समर्थन गर्दै तत्काल पूर्ण रुपले कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ । 

यस मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपतिको पक्षमा फैसला गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो । सर्वोच्च अदालतका ९ मध्ये सात न्यायाधीशले ट्रम्प प्रशासनले तल्लो अदालतले यात्रा प्रतिबन्ध लागु गर्न लगाएको प्रतिबन्ध हटाउन गरेको मागको पक्षमा मत दिएका हुन् । 

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै मुस्लिम बाहुल्य देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । 

सर्वोच्च अदालतले कार्यान्वयनको बाटो खुला गरे पनि अझै कानुनी चुनौती भने रहेका छन् । गएको जनवरीमा सत्ता सम्हाले लगतै ट्रम्पले यात्रा प्रतिबन्धको घोषणा गरेपनि विभिन्न कानुनी अड्चनका कारण कार्यान्वयन हुन् सकेको थिएन । 

तल्लो अदालतका न्यायाधीशले ट्रम्पको निर्णय धार्मिक रुपमा मुस्लिममाथिको प्रतिबन्ध रहेको भन्दै कार्यान्वयनमा रोक लगाएका थिए । तर उत्तर कोरिया र भेनेजुएलाका केही सरकारी अधिकारीमाथि लगाइएको प्रतिबन्धलाई भने तल्लो अदालतले यसअघि नै मन्जुरी दिएका थिए । 

अब सर्वोच्च अदालतको आदेशपछि मुस्लिम बाहुल्य ६ देशका नागरिक अमेरिका प्रवेश गर्न नपाउने भएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै