• २०८१ बैशाख ८ शनिबार

यी १० मध्ये को बन्ला २०१७ को टाइम वर्ष व्यक्ति ?

kharibot

काठमाडौँ । प्रसिद्ध टाइम म्यागजिनले २०१७ को टाइम्स वर्षव्यक्तिका १० दाबेदारहरुको नाम सार्वजनिक गरेको छ । सन् १९२७ देखि टाइमले हरेक वर्ष पर्सन अफ द इयर भनेर विश्वका चर्चित, शक्तिशाली व्यक्ति, समूहलाई उनीहरुको चर्चाको कारण राम्रो वा नराम्रो जे होस्, वर्षव्यक्ति छनोट गर्दै आएको छ ।

विगत केही वर्ष हिलारी क्लिन्टनदेखि फेसबुकका मार्क जुकरबर्ग, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, ब्ल्याकलाइभ्सम्याटर आन्दोलनका अभियन्ता, सीआरआईएसपीआर वैज्ञानिक र बियोन्सेहरु पर्ने गरेका थिए तर यसपटक भने अरुले नै ती स्थानमा आफ्नो दाबेदारी राख्न सफल भएका छन् ।

टाइम्सले छानेका १० नाम

जेफ बेजोस

यी अमेजनका सीईओ यस वर्ष विश्वकै धनी व्यक्ति घोषित भएका थिए ।

द ड्रिमर्स

पढ्न भनेर निश्चित समयावधिको लागि अमेरिका गएका आप्रवासी विद्यार्थीहरुलाई सपनेबाज अर्थात् ड्रिमर्स भनिएको हो । उनीहरु आफ्नो आमाबाबुसँग अमेरिका गए पनि उनीहरुको भविष्य धरापमा परेको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन सरकारले पूर्वराष्ट्रपति बाराक ओबामाले ड्रिमर्सका लागि सुरु गरेको डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स प्रोग्राम रद्द गरे उनीहरुको भविष्य धरापमा पर्ने देखिएको छ । केही डेमोक्रेटहरुले गभर्नमेन्ट शटडाउनको धम्की दिँदै वैधानिक ड्रिमर्सको समस्या समाधान गर्न चेतावनी दिँदै आएका छन् ।

प्याट्टी जेन्किन्स

द वन्डर वुमन फिल्मकी निर्देशकले यस वर्ष हलिउडमा तहल्का पिट्दै थुप्रै बक्स अफिस कीर्तिमान तोडेकी छिन् । पहिलो हप्तामा नै कुनै महिला निर्देशकले निर्देशन गरेको फिल्मले एक सय मिलियन डलरको कमाइ गर्न सफल भएपछि उनको चर्चा चुलिएको हो ।

किम जोंग उन

कम्युनिष्ट देश उत्तर कोरियाका तानाशाह भनेर चिनिने उनकै कारण विश्वमा आणविक युद्धको भय फैलिएको छ । आफू सत्तामा आएपछि यिनको पुर्खामा कसैले नगरेको एकपछि अर्को आणविक परीक्षणले अमेरिका र उत्तर कोरिया युद्धको करिब करिब नजिक पुगेका छन् भने छिमेकी देशलाई समेत चिन्ता बढाएको छ ।

कोलिन काइपर्निक

अमेरिकी यी खेलाडी खेल्नुअघि बज्ने राष्ट्रगानका बेला घुँडा मारेर रंगभेदी असमानताको विरोध गरेकै कारण चर्चामा छन् । यिनले सुरु गरेको यो अभ्यास वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पको सत्तागमनपछि अन्य खेलाडीले पनि सुरु गरेका छन् । सोही मुद्दालाई लिएर ट्रम्पले खेलाडीको तीव्र विरोध गर्दै अमेरिकाविरोधी क्रियाकलाप गरेको आरोप लगाउँदै आएका छन् ।

#metoo मुभमेन्ट 

यौनिक आक्रमण (सेक्सुअल ह्यारासमेन्ट)को विरोधले यतिखेर अमेरिका हल्लिएको छ । हलिउड उद्योगमा फिल्म निर्माता हार्वे वेइनस्टेइनको कर्तुत मिडियामा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिटु मुभमेन्ट ह्यासट्याग भएर चर्चित बनेको हो । हलिउडका अन्य सेलिब्रेटी महिला अभिनेत्रीले समेत यसपछि अन्य प्रतिष्ठित व्यक्तिहरुले आफूमाथि यौनिक आक्रमण गरेको आरोप लगाउँदै मिडियामा एक पछि अर्को गरी सार्वजनिक गर्नथालेका छन् । अहिले पनि यो क्रम जारी छ । हलिउडबाट सल्किएको यो लुकेको अपराध अब अमेरिकी मिडियामा पनि पुगेको छ । धेरै पत्रकारहरुले यौनिक आक्रमण गरेको आरोपपछि राजीनामा दिने र बर्खास्तीमा पर्ने क्रम सुरु भएको छ । यसबाहेक अमेरिकी राजनीतिज्ञहरुमाथि पनि मिटु मुभमेन्ट पुगिसकेको छ ।

साउदी राजकुमार मोहम्मद बिन सलाम

३२ वर्षका यी राजकुमारले भ्रष्टाचार गरेको भन्दै राजपरिवारकै सदस्यलाई नजरबन्दमा हालिदिएका छन् । साउदी अरबमा उनी एकाएक सक्रिय भएपछि विश्वव्यापी रुपमा उनको चर्चा बढेको छ । 

डोनाल्ड ट्रम्प

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प २०१६ को वर्षव्यक्ति समेत हुन् । उनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो कार्यकाल बिताएका छन् भने चुनावमा रसियाले हस्तक्षेप गरी उनलाई जिताएको भनी विपक्षीले आरोप लगाउँदै आएका छन् । यसबाहेक उनले पूर्वराष्ट्रपतिले गरेका हरेक काम उल्ट्याउनेदेखि विभिन्न देशसँगको व्यापार सम्झौता तोड्ने, जलवायु परिवर्तनसम्बन्धी पेरिससम्झौताबाट हात झिक्नेलगायतका राष्ट्रसंघीय सम्झौतासमेत तोडेका कारण उनको खास चर्चा छ ।

सि जिनपिंग

यी हुन् चीनका राष्ट्रपति । आफ्नो पहिलो पाँच वर्षे कार्यकालले यिनलाई चर्चाको शिखरमा पुर्याएको छ । सत्तामा रहँदा राम्रो गरेकै कारण यिनको सि जिनपिंगवादलाई चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्त बनाएर माओत्सेतुंगपछि दोस्रो नम्बरमा राखेपछि राष्ट्रपति सी अहिले चर्चित बनेका छन् ।

रोबर्ट म्युलर

अमेरिकामा अहिले यिनैको चर्चा छ । राष्ट्रपति ट्रम्प शक्तिशाली भए पनि गत वर्षको राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरी ट्रम्पलाई जिताएको विपक्षीको आरोपपछि ट्रम्प एडमिनिस्ट्रेसनले नै विशेष अनुसन्धान आयोग बनाएको थियो र त्यसैका नेतृत्वकर्ता हुन् म्युलर । उनले ट्रम्प टिम र रुसका पदाधिकारीको मिलेमतोको सूक्ष्म अनुसन्धान गरिरहेका छन् भने ट्रम्पका निकटवर्तीहरु उनको निशानामा पर्ने देखिएको कारण यिनको चर्चा चुलिएको हो ।

टाइम्सले बुधबार बिहानै २०१७ को वर्षव्यक्ति यिनै १० मध्ये एकलाई बनाउनेछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै