• २०८१ बैशाख ६ बिहीबार

दोस्रो चरणको मतदान आज, ४४ सय ८२ उम्मेदवार चुनावी मैदानमा 

kharibot

काठमाडौँ । प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो चरणको मतदान आज हुँदै छ । तराई र पहाडी ४५ जिल्लामा हुने मतदानबाट प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ सांसद निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । सुरक्षा व्यवस्था चुस्त रहेकाले ढुक्कका साथ मतदान गर्न आयोगले मतदातालाई आग्रह गरेको छ ।
दोस्रो चरणको निर्वाचनमा ७ हजार ७५२ मतदानस्थलमा १५ हजार ३४४ मतदान केन्द्र हुनेछन् । १ लाख ५५ हजार कर्मचारी र करिब २ लाख सुरक्षाकर्मी परिचालित छन् ।

आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ हजार ६६३ र प्रदेश सभामा २ हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यो निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । आयोगका अनुसार आजै साँझ ५ बजेपछि मतणना सुरु हुनेछ । पहिलो चरणमा १० मंसिरमा मतदान भएका ३२ जिल्लामा साँझ ५ बजेबाटै गणना सुरु हुनेछ ।

आज मतदान हुने जिल्लामा मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएपछि सर्वदलीय बैठक बसेर मतगणनाको कार्यतालिका सार्वजनिक हुनेछ । 

कुन कुन जिल्लामा हुदैछ निर्वाचन ?

आज प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मतदान हुँदैछ । 

त्यसैगरी, प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि मतदान शुरु भएको हो । 

प्रदेश नं ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया, प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मतदान हुँदैछ । 

४ दिनमा मतगणना सक्ने आयोगको तयारी:

आयोगले ४ दिनभित्र प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ ।

प्रत्यक्षतर्फको मतगणना आज साँझ ५ बजेबाट सुरु हुनेछ । आयोगले गणना सुरु भएको ४ दिनभित्र मतगणना सम्पन्न गर्ने गरी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि समानुपातिकको मतगणना सुरु हुनेछ । आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको ४ दिनभित्र समानुपातिको मतपरिणाम आइसक्नेछ ।

आयोगको निर्देशिकाअनुसार सम्भव भए प्रत्यक्ष र समानुपातिकको मतगणना सँगसँगै गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई भनिएको छ ।

तर, त्यसरी मतगणना गर्दा प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधिसभाका दुईवटा र समानुपातिकतर्फका दुईवटा गरी ४ वटा समूह बनाउनुपर्ने हुन्छ । मतगणनास्थल र जनशक्तिअनुसार दल र निर्वाचन अधिकृतबीचको सहमतिअनुसार कुन पहिला गणना गर्ने भन्ने निर्धारण गर्न पनि सक्नेछन् ।

तर, सामान्यतः पहिलो प्रतिनिधिसभाको प्रत्यक्ष, त्यसपछि प्रदेशको प्रत्यक्षको गणना हुने सम्भावना छ । यी दुवै गणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना सुरु हुनेछ ।

मतदान कसरी गर्ने ? 

दोस्रो चरणमा ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रबाट १ करोड २२ लाख ३५ हजार ९९० मतदाताले मतदान गर्नेछन् । ती जिल्लाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्षका लागि १२८ र प्रदेश सभातर्फ २५६ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

मतदाताले ४ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तर, उनीहरूले ४ वटा मतपत्र भएको ३ वटा पाना पाउनेछन् । मतदानका लागि लाइन बसेका मतदाताले सुरुमा हरियो रंगको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एउटा मतपत्र पाउनेछन् ।

उक्त मतपत्रमा छाप लगाएर मतपेटिकामा खसाएपछि कालो रंगको प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र पाउनेछन्, तर उक्त मतपत्रमा छाप लगाएर मतपेटिकामा खसाएपछि रातो रंगको समानुपातिकतर्फको ठूलो आकारको मतपत्र पाउनेछन् ।

उक्त पाानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेश सभातर्फ आफूले रुचाएको दललाई दुई ठाउँमा मतदान गर्नुपर्नेछ ।

मतदाता परिचय खुल्ने अरु कागज देखाएर पनि मतदान गर्न सकिने

बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नागरिकतालगायत तस्वीर टाँस भएका सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । 

निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न उक्त व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगका अनुसार कुनै मतदाताले प्राप्त परिचयपत्र हराएमा वा नष्ट यस्ता मतदाताले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएका परिचयपत्रसमेतका आधारमा मतदान गर्न सक्नेछन् । 

यसअघि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र पाउए मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा तथा मतदाता नामावलीमा नाम थप भई यही मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र पाउनुभएका मतदाताले सोही मतदाता परिचयपत्रबाट मतदान गर्न पाउने आयोगले जनाएको छ । 

आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणमा आज हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आह्वान गरेकी छन् । 

प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रो चरणको निर्वाचनका अवसरमा आममतदाताको नाममा जारी गरेको सन्देशमा उनले नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुपः जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्चात् मुलुकका ४५ जिल्लामा २०७४ साल मंसिर २१ गते हुन लागेको नेपालको संविधानले नेपाली जनताको लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभूति गर्नुका साथै आगामी माघ ७ गतेभित्र संघीय संरचनाअन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको स्मरण गराएकी छन् । 

“यसै सिलशिलामा विगतमा स्थानीय तहको र २०७४ मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक रहेको तथा उक्त निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधानबमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नेछ भन्ने मलाई विश्वास लागेको छ,” सन्देशमा राष्ट्रपतिले भनकी छन् । 

यो निर्वाचनमा सहभागी हुनु केबल संविधानले दिएको जनप्रतिनिधि छान्ने हक र जनतामा निहित सार्वभौम अधिकारको प्रयोग मात्र नभइ आर्थिक सामाजिक रुपले समृद्ध नेपाल निर्माणको दिशामा ठोस योगदान गर्नुसमेत हो भन्दै उनले सन्देशमा नेपालको संघीय संरचनाअनुसार हुने पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साह, उमंग तथा उल्लासमय रुपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउन अनुरोध गरेकी छन्  ।

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन् ।  

प्रधानमन्त्री देउवाले विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका छन् । 

विज्ञप्तिमा उनले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ – “सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु ।” 

नेपालको संविधानअनुसार भोलि मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यसअघि मंसिर १० गते उच्च पहाडी र हिमाली ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै