• २०८१ बैशाख ७ शुक्रबार

निर्वाचनमा ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीको उत्साहपूर्ण सहभागिता

kharibot

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा किशोर÷किशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्ण सहभागिता जनाई मतदान गरेका छन् ।

ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि लाममा नबसीकनै मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा उनीको उत्साहपूर्ण सहभागिता देखिएको हो ।

काठमाडौँ रत्नराज्यलक्ष्मी माविमा रहेको केन्द्रमा मत हाल्न आउनुभएकी स्थानीय ९१ वर्षकी ज्येष्ठ नागरिक मुनादेवी भट्टराईलाई मत हाल्न पाउँदा निकै खुशी लागेको छ ।

‘भोट हालें, खुशी लाग्यो, भताभुङ तरिकाले बन्ने भन्दा पाँच वर्षका लागि विकास गर्ने दिगो सरकार बनोस्’ – मतदान गरेर फर्कनुभएकी भट्टराईले उत्साही भएर प्रतिक्रिया दिए ।

सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाइएकामा निकै खुशी देखिएका उनले थपे, ‘भोट हाल्न नजाऔँ जस्तो विचार आउने हामीजस्ता बूढाबुढी सबै भोट हाल्न गएनन् भने धेरै भोट कम हुन्छ, विकास गर्ने नेताले हार्लान् भनेर आएको ।’

मत हाल्न आउनुभएका ८७ वर्षीय मणि सिंह ठकुरीले पनि भोट हाल्न पाएकामा खुशी प्रकट गरे । ‘जनता र यो ठाउँको विकास गर्ने उम्मेदवारलाई भोट हालें’ – आफूले जीवनमा धेरै पटक नेतालाई भोट हालेको तर यसपालि चाहिँ विकास गर्ने खालको उम्मेदवारलाई मत हालेको सुनाउँदै उनले भने ।

त्यस्तै, सोही मतदान केन्द्रमा मत हालेर फर्कनुभएका ७६ वर्षीय पञ्चनारायण महर्जनले जनप्रेमी र विकासप्रेमी उम्मेदवारलाई मत हालेको प्रतिक्रिया दिए । ‘मैले मत हालेर आएँ, जनताको दुःख, समस्या बुझ्ने र यो ठाउँको विकास गर्ने नेतालाई भोट दिएँ’ – हँसिलो मुहारमा उनले सुनाए ।

ज्येष्ठ नागरिक मात्र होइन, पहिलो पटक मतदान गर्ने अवसर पाएका किशोरकिशोरी पनि मतदान गर्न पाएर दङग देखिए ।

चाबहिल बहुमुखी क्याम्पस केन्द्रमा रहेको मतदान केन्द्रमा मतदान गर्ने लाममा बस्नुभएकी १७ वर्षीय मनिशा काफ्लेले भने – ‘खुशी लागेको छ मत हाल्न पाउँदा । आफैँले चुनेको उम्मेदवारलाई आफ्नै हातले भोट हाल्न पाउँदा छुट्टै आनन्द हुन्छ ।’

मनिशाजस्तै पहिलो पटक मत हाल्नुभएका १८ वर्षीय रमेश श्रेष्ठलाई पनि पहिलो पटक मतदान गर्न पाएकामा खुशी लागेको छ । उनले भने – ‘भोट नहाल्दा कसरी हाल्ने होला जस्तो लागेको थियो, तर सजिलो नै हुँदो रहेछ । आफ्नो उम्मेदवारलाई भोट हालें । खुशी लाग्यो ।’

मत हाल्ने आफ्नो नैसर्गिक अधिकारको सदुपयोग गर्दै ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीले आज मतदानमा सक्रिय सहभागिता जनाए ।

नेपालको संविधानमा तीन तहको सरकारको व्यवस्था गरिएको छ र स्थानीय तहको निर्वाचनपछि आज दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४५ जिल्लामा भइरहेको छ ।

प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि दुई हजार ८१९ गरी कूल चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार खडा भएका छन् । कूल एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताका लागि सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र तोकिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै