• २०८१ बैशाख ७ शुक्रबार

नेतृत्वमाथि हस्तक्षेप गर्छु भन्ने नैतिक अधिकार गगन थापालाई छैन – बालकृष्ण खाँण

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले गगन थापालाई नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भन्ने नैतिक अधिकार नभएको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता खाँणले निर्वाचनमा पार्टीले व्यहोरेको हारको जवाफदेहिता पार्टी सभापति शेरबहादुर देउवाले मात्रै नभएर सबैले लिनुपर्ने भन्दै त्त्काल नेतृत्व परिवर्तन नहुने बताएका हुन् ।

उनले भने,‘अहिले कसैले पार्टी सभापतिको विरुद्धमा अभिव्यक्ति दिँदैमा केही हुनेवाला छैन, पार्टी नेतृत्व परिवर्तन भएन भने हस्तक्षेप गर्छु भनेको पनि सुनियो, तर यस्तो भन्ने नैतिक अधिकार उहाँलाई पनि छैन, प्रचारप्रसार समितिको संयोजक गगन थापाजी पनि हो, उहाँले पनि पार्टी पराजयको जिम्मेवारी लिनुपर्छ, यो त सामूहिक जवाफदेहिताको कुरा हो, मैले आफ्नो ठाउँबाट लिनुपर्ने जवाफदेहि म लिन्छु, अब केन्द्रिय समितिमा यो विषयमा कसैले कुरा राख्छ भने छलफल हुनसक्छ, तर नेतृत्व फेरबदल हुँदैन, बरु पार्टीलाई एकजुट भएर अघि बढाउँछौं।’

साक्षात्कारमा बोल्दै उनले विशेष महाधिवेशन बोलाएपनि नबोलाएपनि पार्टी नेतृत्व परिवर्तन नहुने ठोकुवा गरे । उनले थपे,‘विशेष महाधिवेशन बोलाएपनि नेतृत्व परिवर्तन हुँदैन, यो म अहिल्यै नै भन्छु।’ खाँणले पार्टीलाई सशक्त रुपमा अघि बढाउनको लागि बरु एकजुट भएर नेतृत्वलाई सघाउनतिर नेताहरु लाग्ने विश्वास दिलाए । महामन्त्री डा. सशांक कोइरालाले पनि सामूहिक रुपमा पराजयको जिम्मेवारी लिँदै अब पार्टीलाई पूनः स्ट्रेन्थ प्रदान गर्न एकजुट भएर लाग्नुपर्ने अभिव्यक्ति दिएकोले सबैको ध्यान अब एकजुट भएर अघि बढ्ने नै रहेको उनले जनाए ।

त्यस्तै उनले पार्टी सभापति देउवाले चाहे उहाँ आँफै संसदीय दलको नेता बन्ने समेत स्पष्ट पारे । ‘उहाँले चाहनुभयो भने संसदीय दलको नेता आँफै बन्नुहुन्छ–उनले थपे।’ पार्टीले निर्वाचनमा भोगेको पराजय अस्वभाविक भएको भन्दै हारको सबैले जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो । खाँणले थपे,‘पार्टीमा कुनै मतान्तर छैन, नेतृत्व परिवर्तनको कुनै एजेण्डा नै छैन, केन्द्रिय समितिको बैठकमा छलफल भएपनि यसबारेमा कुनै बबण्डर हुँदैन।’ उनले पार्टीभित्र आफ्नो कुरा राख्ने छुट सबैमा भएको समेत स्पष्ट पारे ।

उनले पार्टी सभापति देउवालाई थप बल पुर्याएर आगामी दिनमा अझै शक्तिशाली र बलियो पार्टी बनाउन सबै नेताहरु एकजुट हुनुपर्नेमा जोड दिए । ‘पार्टीलाई एक ढिक्का बनाएर चलाउनको लागि र यसलाई आत्मबल प्रदान गर्न खासगरी उभार्नको लागि सबै मिलेर जानुपर्छ, पार्टी सभापतिलाई सहयोग पुरयाउनुपर्छ’–उनले थपे।

कांग्रेस मास बेस पार्टी भएकोले अब यसलाई कार्यकर्ता आधारित बनाउनतिर लाग्नुपर्नेमा समेत खाँणले स्पष्ट पारे । उनले भने,‘भातृसंस्थालाई अब कार्यकर्ताबेस बनाउनुपर्छ, सिँगो पार्टीलाई पनि कार्यकर्ता बेस बनाउनुपर्छ।’ पार्टीलाई प्रिसिडेन्सियल स्ट्रक्चर अनुसार फर्ममा राख्नको लागि रिफर्म गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाई थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै