• २०८१ बैशाख ८ शनिबार

मेचीबाट प्रतिनिधिसभामा पवित्रा निरौला एक्ली महिला सांसद

kharibot

सुरुङ्गा, झापा ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । 

मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उहाँ निर्वाचित हुनुभएको हो । योसँगै उहाँले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गर्नुभएको छ । 

प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी थापालाई १३ हजार ७६७ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले ४५ हजार ८१७ मत प्राप्त गर्नुभयो भने थापाले ३२ हजार ५० मत प्राप्त गर्नुभएको थियो । 

एमालेको १ नं प्रदेश सदस्यको जिम्मेवारीमा रहनुभएकी पवित्रा तीन दशकयता झापामा रहेर सक्रिय राजनीति गरिरहनुभएको छ । निरंकुश राज्य सत्ताको दवदवामा आफूलाई जोगाउनसमेत हम्मेहम्मे परेका बेला पनि राजनीतिमा उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो । 

विसं २०३६ मा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षबाट प्रारम्भ भएको पवित्राको राजनीतिक यात्रा यतिबेला प्रतिनिधिसभा सदस्यमा पुगेको छ । २०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनमा रहँदा विद्यार्थी युवा दस्ताको एउटा दरिलो सिपाही पवित्राको फराकिलो आत्मविश्वास र दृढताले राजनीतिक यात्रामा कुनै न कुनै जिम्मेवारी सम्हालीरहनु भयो । 

विसं २०३८ मा अखिल नेपाल महिला संघको गाउँ समिति सदस्य हुँदै उहाँको राजनीतिक यात्राले गति लियो । २०४० सालमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा दमकमा आयोजित समीक्षा बैठकस्थलबाटै उहाँ पक्राउ परेपछि तीन वर्ष जेल पर्नुभयो । 

विसं २०५४ मा जिल्ला विकास समिति झापाको मनोनीत सदस्य भएर उहाँले काम गरिसक्नुभएको छ । बिर्तामोड खानेपानी तथा सरसफाइ समितिमा पवित्राले १० वर्ष बसेर काम गरिसक्नुभएको छ । 

विसं २०६६ मा एमालेको जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हाल्नुभएको पवित्रा निरन्तर पार्टीमा क्रियाशील हुनुहुन्छ । त्यसयता उहाँले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनेर काम गर्नुभएको छ भने अनेम संघको केन्द्रीय सदस्य भएर भूमिका निर्वाह गरिसक्नुभएको छ । 

संविधानसभाको दोस्रो निर्वाचनमा यसै क्षेत्रबाट उहाँ नेपाली काँग्रेसको उम्मेदवारसँग पराजित हुनुभएको थियो । काँग्रेसका उम्मेदवार सुधीरकुमार शिवाकोटीले उहाँलाई थोरै मतान्तरले त्यो बेला पराजित गर्नुभएको थियो । 

छविलाल र खड्गमाया निरौलाकी छोरी पवित्राको जन्म २०२० माघ २० गते झापाको दमकमा भएको हो । उहाँले आइएसम्मको अध्ययन गर्नुभएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै