• २०८१ बैशाख ११ मंगलबार

कृषि विश्वविद्यालयले नै पाएन भर्ना अनुमति

kharibot

फाइल तस्वीर

चितवन । अरुलाई सम्बन्धन दिएर अनुगमन गर्ने विश्वविद्यालयले नै भर्नाको अनुमति पाएन भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरले पशु चिकित्सा तथा पशुपालन विषयमा भर्ना अनुमति पाएको छैन । न्यूनतम मापदण्ड समेत पूरा नगरेपछि नेपाल पशु चिकित्सा परिषद्ले भर्ना अनुमति नदिएको हो ।

अध्ययन, अनुसन्धान र प्रसार गर्ने विश्वविद्यालयले छ वटा आंगिक र आठ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएर अनुगमन गरिरहेको छ तर आफ्नै केन्द्रीय क्याम्पस रामपुरमा मापदण्ड पूरा गर्न नसकेपछि यस वर्षको भर्ना अन्योलमा परेको छ ।

सामान्यतया सो विश्वविद्यालयले दशैं र तिहारको बीमा स्नातक तहमा भर्ना खोल्ने भए पनि परिषद्बाट अनुमति नपाउँदा भर्ना खोल्न सकेको छैन । परिषद्का रजिष्ट्रार डा.नारायण घिमिरेले तोकिएका मापदण्ड पूरा गर्न नसक्दा अनुमति नदिइएको बताए । पशु चिकित्सक उत्पादन गर्ने जस्तो संवेदनशील विषयमा प्रयोगशाला, पशु अस्पताल, पशुको संख्या, प्रयोगशालामा हुने उपकरण जस्ता सामान्य विषय वस्तु पनि विश्वविद्यालयले पूरा गर्न नसकेको घिमिरेले बताए । उनले भने “चिकित्सक उत्पादन गर्ने काममा प्रतिबद्धताले हुँदैन, काम हुनुपर्यो ।”

विसं. २०७५ मा पहिलो वर्षको न्यूनतम मापदण्ड पूरा भएर विद्यार्थी भर्ना गर्न अनुमति दिएको भए पनि दोस्रो र तेस्रो वर्ष पूरा गर्नुपर्ने मापदण्ड पूरा विश्वविद्यालयले अझै पूरा गर्न सकेको छैन । त्यहाँ उत्पादित जनशक्ति दक्ष नभएको प्रश्न समेत उठ्ने गरेको घिमिरेले बताए । विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मी मापदण्ड पूरा गर्ने प्रतिबद्धताका साथ भर्नाको अनुमति माग्ने कार्य भएको बताउछन् । उनले भने “तत्काल हुने काम गरिहाल्छौँ, अरु मापदण्ड क्रमशः पूरा गर्दै जानेछौं ।”

सो विश्वविद्यालयको पशु चिकित्सा संकायमा ५० जना विद्यार्थी पढ्ने गरेका थिए । न्यून शुल्कमा पढ्न पाउने भएपछि देशैभरका विद्यार्थीको रोजाइमा यो विश्वविद्यालय पर्ने गर्दछ । विश्वविद्यालयमा राजनीतिक खिचातानीका कारण लामो समय उपकुलपतिसहित उच्च अधिकारीको पद खाली रहेर कायममुकायमको भरमा सञ्चालन हुँदै थियो । अहिले पनि सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, डीन लगायत महत्वपूर्ण पद रिक्त छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै