उत्तर अमेरिका । कन्स्पिरेसी थिअरिष्ट (मनगढन्ते व्याख्याता) स्कट सी वेरिंगले नासालाई एलियनबारे धेरै कुरा थाहा भएको दाबी गरेका छन् । नासाले वर्षौँ वर्षदेखि अन्तरिक्ष यानहरुले धेरै तथ्यहरुबारे पत्ता लगाए पनि त्यसलाई सार्वजनिक गर्न आनाकानी गरेको आरोप लगाएका हुन् ।
विशेष गरी भोयागर १, नासाको सबैभन्दा पुरानो मानवरहित अन्तरिक्ष यानले हाम्रो सौर्यप्रणालीबाहिर रहेर अनुसन्धान गरिरहेको छ । सन् १९७७ को सेप्टेम्बर ५ मा यसलाई प्रक्षेपण गरिएको थियो ।
यूएफओ साइटिंग्स डेली नामको एलियन ब्लगका संस्थापक समेत रहेका वेरिंगले नासालाई १३ बिलियन माइल टाढा रहेको यानले संकलन गरेका तथ्य तथ्यांकहरु सार्वजनिक गर्न आग्रह समेत गरेका छन् । आफूले नासालाई भने पनि उसले भने कुनै प्रतिक्रिया नदिएको उनको दाबी छ ।
उक्त यानले ४० वर्षदेखि सोलार सिष्टम बाहिर रहेर डाटा संकलन गरिरहेको छ । उनको दाबी के पनि छ भने हाम्रै सौर्य प्रणालीभित्र र बाहिर एलियन (अर्कै ग्रहका प्राणी)हरुको अस्तित्व छ तर यसबारे केवल नासालाई मात्र थाहा छ र उनीहरु यो कुरा लुकाइरहेका छन् ।
यद्यपि उनले यस्तो दाबी गरे पनि नासाले भने अन्तरिक्ष यानहरुले खिचेका तस्बिर, तथ्य तथ्यांकको जानकारी बेलाबखत दिँदै आएको छ । केही समयअघि मात्रै ३० वर्षपछि पुनः आफ्नो अन्तरिक्ष यान भोयागर १ को थष्र्टर (अगाडि धकेल्ने शक्तियुक्त मेसिन) विष्फोट गराएर मिसन लम्ब्याएको थियो ।