• २०८१ बैशाख ८ शनिबार

उखुको छिल्का झैँ मिल्काइए नारायण !

kharibot

यतिबेला के गर्दै होलान् नारायण ?

आफ्नो पसिनाको मूल्य पर्खिदै होलान् है..

हेर्नुस न, हामीलाई कति भ्याइ-नभ्याई छ : दाहाल, नेपाल, खनाल र ओलिले के-के भने भन्नमा । तिनलाई पनि फुर्सद पो कहाँ छ र ! किसानको पसिनाले सिंचेको उखुको रसले पोषिएका व्यापारीलाई पनि त छैन होला फुर्सद ! तर अब...
...अनन्त विश्रामको बाटोमा निस्किए नारायण राय यादव, जो अब कहिले उखु रोप्ने छैनन् ! उखुको भुक्तानी पनि माग्ने छैनन् !

नारायण, परिवारको भरोसा थिए । चार वर्षसम्म बाटो हेर्दा पनि चिनी मिलले उखुको भुक्तानी नदिएपछि काठमाडौं आउने बाटो तय भएको थियो उनको । उनी संगै काठमाडौं आएको थियो उनको परिवारको आशा । 'काठमाडौं गएर आन्दोलन गरेपछि त, कसो नपाइएला आफ्नै परिश्रमले उब्जाएको फसलको मूल्य ! यसपाली त ऋण चुक्ता गर्नुपर्छ ।' यहि सोचे होलान् उनले घरबाट निस्कनु पहिले ।

काठमाडौं आइपुगेकै दिन बाटै उनी चिसो सडकमा उभिएर 'किसान मार्न पाइदैन' भन्न थाले । शरीरले सकुन्जेल उनी यसै भनिरहे 'किसान मार्न पाइदैन' । उनी जस्तै अरु नारायणहरुले पनि त्यसै भने 'किसान मार्न पाइदैन' ।

र फेरी एकदिन सरकारले उखु किसानसंग उधारो सम्झौता गर्यो, चिनी मिलले जस्तै । सम्झौता पोहोर पनि भयो  तर आन्दोलन यसपाली पनि गर्नै पर्यो । उधारो सम्झौतापत्रले किसानको ऋण मिनाह भएन । तिर्न नसकेको ऋणले पोलिरहेको नारायणको मन झनै पिल्सियो । उनको हृदयलाइ नै भारि पर्यो सरकारको उधारो सम्झौता । 

आफ्नो माटो । परिश्रम र पसिना आफ्नो । उत्पादन पनि आफ्नै, तर परिश्रमको मूल्य आफ्नो बनाउन नपाउंदै ओइलिए उनी । 'किसान मार्न पाइदैन' भनेर आफ्नो श्रमको मुल्यको लागि आन्दोलन गर्दागर्दै एउटा किसानले मृत्युवरण गर्नु पर्यो ।

भलै डक्टरले उनको मृत्युको कारण हृदयघात भनिदिए, तर उनको मृत्यु निम्त्याउने घात त अर्कै छ नि । घात गर्नेहरुको सास त सजिलै चलेको होला है ? नारायणहरुको खेतको उखुबाट बन्ने चिनी अब ति व्यापारीहरुलाई चाँहि गुलियो नै भइरहला ? कि नुनिलो लाग्न थाल्या होला ! यतिका वर्षसम्म किसानलाई नतिरेको ऋणले पोल्दैन होला है ?

मैले 'मेरो देश' भन्ने पुस्तकमा सानै हुँदा पढेकी थिए - कृषि प्रधान देश नेपाल । अझै अहिले त देशमा 'समृद्ध नेपाल, सुखी नेपाली' भन्ने नारा नै लगाउछन् । कृषि प्रधान देशको समृद्धि हरेक वर्ष सडकमा पोखिन्छन्, र सुखी नेपालीको उदाहारण बन्छन् नारायणहरु । उखुको छिल्का झैँ मिल्काइन्छन् किसानहरु ।  

यतिबेला म सम्झिरहेकी छु - हाम्रो खेत खोलाको छेउमा थियो । हैन हैन, खोलाको बिचमा हाम्रो खेत थियो भन्दा अझै बेस होला । बर्खामा मनलाग्दी हिडीदिन्थ्यो खोला हाम्रो खेतको बीचबाटै । चैतमा रोपेको धान असार/साउनको बाढी आएर खेत नबगाउँदै भित्र्याउन पाइने हो कि होइन भन्ने द्विविधा रहन्थ्यो । का त्यति मात्रै र ! फेरी साउनमा रोपेको रोपोलाई पनि त मंगसिरसम्म जोगाउनु पर्यो नि । आखिर त्यहि खेतमा झुल्केका बालाले नै त घरका लालाबालाको पेट भरिन्थ्यो ।

बर्खे झरीको हरेक थोपा पानी टिनको छानोमा ठोकिएर आउने आवाजले ममीको मनमा हुन्डरी चलाइदिन्थ्यो । हरेक १५ मिनेटमा बाबासंगै चौताराको छेउबाट (जहाँबाट खेत देखिन्थ्यो) खोलाको बिचमा खेत बाँचेको निर्क्यौल गर्नुहुन्थो । यो, त्यो माटोको माया, त्यो फलको आशा र हाम्रो परिवारको गास र सास थियो । हामीलाई कुनै व्यापारीले पैसा नदेलान् भन्ने डर थिएन । ति व्यापारीलाई व्यापारको नियम नबुझाउने सरकारसंग गुनासो पनि थिएन । अनि प्रकृति ति व्यापारी जस्ता निर्दयी थिएन, र त हामीले मर्नु परेन ।

नारायणलाई पनि आफ्नो माटोको त्यति नै माया थियो । हरेक वर्ष उत्तिकै लगनका साथ बाली उब्जाउथे । तर त्यो उब्जनीले उनको परिवारलाई आशा मात्रै दियो । भरोसा दिएन ।

किसानलाई यति पनि अधिकार छैन र, कि उसले आफ्नो पसिनाको मूल्य पाओस । अब किसानले आन्दोलन नगरे उत्पादनको मूल्य नपाउने व्यवस्था भएको हो र देशमा ? मैले किन्ने चिनीको मूल्य के भनेर तिर्ने ?

नारायण जस्ता किसान छन्, फलाएका छन र त हामी सबैले मुखमा अन्न पार्न पाएका छौँ, पालिएका छौँ । खै त्यसको मुल्यांकन ? यहाँ त, राज्यले उनका शासन जोगाउन मान्छेहरुलाई सडकमा उतारेर पाल्छ । बरु तिनले नाराबाजीको पनि मूल्य पाएका छन् ।

सत्ताको भागबण्डा नमिलेर, त्यहि सडकमा तमासा बनाइरहेकाहरुको राजनीतिक विचलन मिलाउन अन्तर्राष्ट्रिय प्रतिनिधिलाई समेत दौडधुप छ अहिले देशमा । तर आफ्नो अधिकार खोज्न नि:स्वार्थ सडकमा ओर्लिएका किसानको पसिनाको मूल्य दिलाइदिने न उत्तरका प्रतिनिधि छन्, न दक्षिणका नै ! उनीहरु त हृदयघातको पाँसोमा बेरिएर घाटको यात्रामा निस्कन्छन् ।

उनी नारायण थिए,
उनको आत्माले शान्ति पाओस,
परिवार प्रती समवेदना,
अनि, ती सम्पुर्ण किसानहरुलाई यो हृदयघात सहने शक्ति प्रदान गर्नुहोस 'नारायण' ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै