• २०८१ बैशाख ७ शुक्रबार

ओलीकै नेतृत्वमा भावी सरकार : शेरधन राई

kharibot

काठमाडौं, पुस १० । नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लबमा बोल्दै राईले ओलीलाई भावी प्रधानमन्त्री र आफूलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरेका हुन् ।  

उनले वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरु गरिसकेको बताउँदै साना÷मसिना दलहरुलाई समेत समेट्न गरी गृहकार्यमा जुटेको बताए । अबको दुई हप्ताभित्र नयाँ सरकार बन्ने उनले दाबी गरे । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भोजपुरबाट प्रदेश सभामा निवाचित सांसद समेत रहेका नेता राईले अबको सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न नै अब सान्दर्भिक नरहेको जिकिर गरे । ‘सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न अब प्रश्न रहेन, दुनियाँलाई थाहा भएको कुरा हो नि, यो त चुनावअघि नै अनुमान गरेको, बुझेको कुरा हो नि, यसमा अब कुनै विवाद, शंका वा द्धिविधा भन्ने कुरा छैन, हाम्रो पार्टीका आदरणीय अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ ।’

तत्काल पार्टी एकता नहुने जनाउँदै उनले अहिले आफूहरुको ध्यान सरकार गठनमा केन्द्रित भएको बताए । उनले भने, ‘सरकार गठनको काम टुँगोमा पुगिसकेपछि हामी एकता प्रक्रियाको लागि जुट्छौं, त्यसैले सरकार गठनपूर्व पार्टी एकता नहुन पनि सक्छ ।’  २५ वर्षअघिदेखि वामपन्थीहरुको बहुमतको सरकार बनाउने जनताको चाहना यो पटक पूरा भएको उनले बताए । ‘वामपन्थीहरुको बहुमतको सरकार बनेको हेर्ने जनताको चाहना पूरा भएको छ’ राईले भने, ‘लगभग दुई तिहाई नजिक वाम गठबन्धनको पक्षमा मत खसेको छ, यसले मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलिदिएको छ।’

निर्वाचन सम्पन्न भएको यतिका दिन वित्दापनि वर्तमान सरकारले राष्ट्रिय सभासम्बन्धीको अध्यादेशलाई अड्को थापेर विवाद र बहस सिर्जना गरेको उनले आरोप लगाए । अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत वर्तमान सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले विवादमा ल्याउने काम गरेको उनको आरोप थियो । 
यस्तै उनले आफूलाई प्रदेश नं १ को मुख्यमन्त्रीको बलियो दाबेदार रहेको समेत बताए ।

उनले भने, ‘म केन्द्रीय प्रतिनिधिसभा र संविधानसभामा दुईपटक जितेर संसद्मा महत्वपूर्ण भूमिका खेलिसकेको, संसद्को सुशासन तथा अनुगमन समितिजस्तो महत्वपूर्ण समितिको सभापति समेतको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेको, त्यतिमात्र होइन संविधानसभाबाट संविधान जारी भएपश्चात् बनेको लोकप्रिय, सफल र ऐतिहासिक सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री समेतको जिम्मेवारी सफलतापूर्वक सम्हालेर एउटा सफल मन्त्रीका रूपमा उत्रिसकेको, नेकपा एमालेजस्तो लोकप्रिय र शक्तिशाली पार्टीको पोलिटब्युरो सदस्य एवं प्रदेश नं १ को सहसंयोजकको हैसियतमा जिम्मेवारी लिएर काम गरिरहेको व्यक्ति प्रदेशसभा सदस्यमा चुनाव लडेर भारी मतले निर्वाचित भएको छु ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै