‘अबको राजनीति’मा समृद्धिको लगाम खिच्न सफल होलान् नवनिर्वाचित माननीयहरू ?

खरीबोट
ad

लोकतान्त्रिक पद्धतिमा राज्यसञ्चालनका सम्पूर्ण निर्देशन, नियन्त्रण र नियमनका सबै अधिकार जनतामा हुन्छ । हामीले २१औँ शताब्दीमा यही पढिआएका छौँ । विश्वका दिग्गज नेताहरुले प्रजातन्त्र अर्थात् लोकतन्त्रलाई परिभाषित गर्दा जनता जनार्दनलाई प्राधान्य मान्दै आएका छन् । चाहे अब्राहम लिंकन हुन्, या वर्षौँसम्म जनताको अधिकारप्राप्तिका लागि लडेका स्व. नेल्सन मण्डेला नै किन नहोऊन्, सबै 'राजनेता'हरूले लोकतन्त्रमा देशको समतामूलक समृद्धि, समानुपातिक अनि सन्तुलित विकास, सुशासन र सदाचारपूर्ण व्यवस्था, स्वाधीन जीवनशैली र समुन्नत मानवजीवनको उद्देश्य पूरा गर्ने सम्प्रभुत्व सामान्य प्रजामा नै रहेको स्वीकारेका छन् । यिनै स्वाभिमानी जनताजनार्दनको मत पाएर अहिले प्रतिनिधिसभा, प्रदेशसभा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रथमतः बधाइ छ । 

चाहे जुनसुकै चिह्न वा दलले जिते पनि सम्पूर्ण देशवासीले अपेक्षा गरेको भने स्थिरता, समृद्धि, शान्ति, अमञ्चयन र आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण नै हो । यही कुरालाई भर्खरै सम्पन्न निर्वाचनबाट जनताले निर्वाचित गरेका माननीयहरुले जोड दिएर अबको राजनीतिको लगाम खिच्न सक्नुपर्छ । यसलाई माननीयहरुले चुनौत र अवसरका रुपमा लिए भने पक्कै पनि अबको राजनीतिले क्रमभंगता गर्ने निश्चित छ, होइन भने नेपाली राजनीतिमा बिरालो बाँध्ने परम्पराजस्तै अकाट्य हुनेछ सत्तालिप्सा र स्वार्थी चाप्लुसी । जसले जनता र देशको हितग्राही कुराहरुको अवमूल्यन गरिरहनेछ । समृद्धि त परको कुरा । 
हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सूर्यलाई भरणपोषण गर्ने भर्ताको रूपमा पितासमान सम्मान गर्ने परम्परा छ, त्यस्तै प्राकृतिक पद्धति र जीवनपद्धति अपनाउने हामीहरूले रुखविरुवालाई मन नपराउने कुरै भएन ।

अर्कासँग मागेको भरमा सधैँभर कहाँ जीवन चल्न सक्ला र ? शरीरको लाज ढाक्न र हातमुख जोड्न अनि आकाशको छानो हटाउन हसिया ण्ज्ञछण्हथौडा अनि हलो–जुवा, कुट्टो कोदालो नगरी हामीहरूको जीवन नै चल्दैन । राष्ट्रिय अपमान, पछौटेपन र सर्वहारा प्रवृत्तिको अन्त्य गरी हर समस्याको समाधान गर्न हातमा प्रगतिको जाज्वल्यमान राँको बाल्न पनि हामीहरू पछि पर्नु हुँदैन । घामपानीमा हामीलाई सजिलै काम लाग्ने छाता अनि संस्कृति र संस्कारमा रम्न, सुखदुःख साटासाट गर्दा चौतारी, मेलापात, पर्व र उत्सवमा नभई नहुने मादलु सबैको निम्ति अनुकूल नै छ । यस संसारलाई नियाल्न, विगतदेखि आगतसम्मका गतिविधिमात्र नभई भविष्यसम्मको गोरेटो कोर्न पनि चर्मचक्षुमात्र नभई भित्री चक्षु पनि हामी सबैको खुल्नु जरुरी छ । हाम्रो संसद्मा प्रतिनिधित्व गर्ने आकारप्रकारमा सानोठूलो जस्तो देखिए पनि यी सबै दलहरूको भ्रष्टाचारबेगर गतिविधि वर्तमानमा अपरिहार्य छ । 

कोमल नेपाल
बेल्कोटगढी–६, नुवाकोट

राजनीतिक प्रणालीले नै देशको राज्यको भविष्य कस्तो हुने ? भन्ने कुराको सङ्केत गर्दछ । राजनीतिक उद्देश्यभित्र पार्टीहरू, चुनाव तथा हारजित, सरकार निर्माणजस्ता विषयवस्तुमात्र नभएर जनअभिमत र नागरिक आशा, अपेक्षा, भरोसालाई समेट्ने सिर्जनशीलता पनि चाहिन्छ । मूल्यमान्यताको परिपालन, खुल्ला तथा पारदर्शी गतिविधि, आत्मसम्मान र मर्यादाको संरक्षण, विध्वंस र उपद्रवको अन्त्य, समयसापेक्ष परिवर्तन र दूरदृष्टि साँच्चै नीतिहरूको राजा राजनीतिमा नभई नहुने गुण हुन् । प्राप्त विशेषाधिकारको दुरुपयोग भएन भने राजनीतिमा नयाँ ऊर्जा प्राप्त हुन्छ । समुदाय, सामाजिक संरचना, जाति, भाषा, धर्म, सम्प्रदाय आदिबीचको समन्वय, प्रतिनिधिमूलक, सहभागितामूलक, समतामूलक पद्धति राजनीतिका प्रमुख स्तम्भ हुन् । अहिले यी सबै कुरालाई लागू गर्ने अभिभारा प्राप्त गर्ने सांसद्हरूलाई आफ्नो कर्तव्य र उत्तरायित्वबारे सचेतीकरण गर्नु आम नेपालीहरूको विशेष कार्यअन्तर्गत पर्दछ । 

को हुन् सांसद् ?
सांसद शब्दले संसदप्रति उत्तरदायी अनि संसदबाट उत्पन्न भएको भन्ने अर्थ द्योतन गर्दछ । संसद भन्नाले हामीले सत्सभालाई बुझ्नुपर्दछ । सभायां साधुः सभ्यः, अझ भनौँ सभामा सज्जन र सत्यनिष्ठ व्यक्ति नै रहनुपर्दछ, त्यस्ता व्यक्तिलाई नै सदस्य भनिने हो । सत्यको वकालत गर्ने वा पक्षपाती व्यक्तिमा नै हर कार्यको लागि सदस्यताको योग्यता प्राप्त हुन सक्दछ । हिजो, आज र भोलि तिनै कालमा असलीरूपमा राम्रो तथा योग्य भई रहने कुरालाई नै सत्य भनिने हो र यस्तालाई नै संसदमा सदस्यता प्राप्त हुनुपर्दछ । यसको पूर्णतः विपरीत भूत, वर्तमान र भविष्य सबै कालमा अवास्तविक र नराम्रो लाग्ने नीच, हेय, अशिक्षित, भ्रष्ट र अवगुणी दुष्टात्मा व्यक्तिमा सदस्यताको योग्यता कहाँबाट समाहित होला र ?

राजनीतिमात्र होइन, देशका सबै निकाय, संस्थान अनि समाजिक क्षेत्रमा समेत विषवृक्षझैँ भ्रष्टाचार झाङ्गिएको देखिन्छ । प्रशासनिक कर्मचारी र भ्रष्टाचारमा विभेद देख्न पनि गाह्रो भइसक्यो ।

सांसदहरूको काम, कर्तव्य र अधिकार कानुनमा स्पष्टतः उल्लेख गरिएको छ, त्यतिमात्र होइन कानुनी कानुनमात्र नभई नैतिक कानुन झन् सामाजिक उत्थान र चारित्रिक व्यक्तित्वनिर्माणमा अग्रणी स्थानमा आउने तथ्य यथार्थ हो । शास्त्रका सर्वे भवन्तु सुखिनः अर्थात् सबै सुखी होऊन्, सह नाववतु......मा विद्विषावहै अर्थात् सँगसँगै बसौँ, कसैले कसैको पनि द्वेष र घृणा नगरौँ, असतो मा सद्गमय, मृत्योर्मा अमृतं गमय, तमसो मा ज्योतिर्गमय अर्थात्झूठो कृत्यको मार्गमा पथिक नबन, सत्य मार्गतिर नै प्रविष्ट होऊ, घृणा र विद्वेषजस्ता क्षुद्र मृत्युतुल्य काम नगर, यदि गर्छौ भने आफ्नो कीर्तिपताका दीर्घकालसम्म चारैतिर फैलाई अमर हुने काम गर ।  

असत्यतिर होइन, सन्मार्गतिर लाग । अपयश फैलने काम नगर, अमर हुने काम गर । सबैलाई अधोगतितिर उन्मुख गराउने अन्धकारतर्फ अग्रसर कहिल्यै पनि नहोऊ, प्रकाश र अग्रगमनको निम्ति नयाँ गोरेटो कोर । सत्य र मीठो बोल्ने निहुँमा कसैको अपकार भने हुन नदेऊ । न बू्रयात् सत्यमप्रियम् अर्थात् सत्य नै भए पनि अरुलाई दुःख लाग्ने र अरुको हानि हुने कृत्यलाईसमन्वयपूर्वक परिवर्तन गर्नेतर्फ अग्रसर हुनुपर्दछ । यही नैतिक आचरणलाई आफ्नो मूल आदर्श मानी सांसद्हरूको सदस्यताको योग्यता प्राप्त गर्नुपर्ने देखिन्छ । 

सदा सर्वदा परहित, परकल्याण र परोपकार गर्नु सांसदको कर्तव्य हो भन्दै बादल, तमाम नदीनाला र रुखवृक्ष तथा वनस्पतिहरू मार्गदर्शक बनिरहेका हुन्छन् । हामीले सजिलै अनुभव गर्न र देख्न पनि सक्छौँ कुनै पनि बोटविरुवाले आफूले उत्पन्न गरेका फल आफैँले सेवन गरेका छैनन्, तिनीहरूको उपभोक्ता त अर्कै कोही छ, वनमा तीखो काँडाको बीचमा फलेको ऐँसेलुलाई मीठो स्वाद लिएर उपभोग गर्ने अर्कै कोही छ, पक्कै पनि ऐँसेलुको बोट त त्यसबाट अनुगृहीत भएको हुँदैन, सम्पूर्ण वृक्षवनस्पतिले आफ्नै स्वार्थका लागि फलफूल उत्पन्न गर्दैनन्, तिनले त अर्काका लागि सबै कुरा उत्पन्नगरेका हुन््, त्यस्तै हिमालयको टुप्पोमा रसाउने, गुफा कन्दरामा झर्झराउने, वनजंगलमा उत्पन्न हुने नदी पहाडका कडा चट्टानसँग ठोकिएर पनि मानिसहरूको हरतरहबाट सहयोग गरिरहेका हुन्छन्, चाहे दैनन्दिनीमा सहायक बनेर होस्, चाहे तिर्खा मेटाएर होस्, चाहे जीवनीशक्ति आहारको रूपमा अन्न नै बनेर किन नहोस् । हामीले अझ विचार गरौँ त बादल पनि यत्र तत्र दौडिएर, ठोक्किएर, बर्सिएर नै किन नहोस् मानवहरूको बुभुक्षा, क्षोभलाई शान्त गर्नेमात्र नभई प्रकृतिलाई नै हराभरा बनाउने काम गरिदिन्छ । यिनीहरू त प्रतिनिधि उदाहरणमात्र भए यसका अलावा अनेक अनेक प्राकृतिक तत्त्वहरू छन्, जो सत्यनिष्ठ छन् अनि मानवजीवनमात्र नभई सम्पूर्ण प्राकृतिक पारिस्थितिक प्रणालीमा जोडिएका पनि छन् ।

यदि हामीहरूले यिनीहरूले गरेको कामको प्रतिफलस्वरूप ज्याला दिने योग्यता आफूभित्र प्राप्त गरेका हौँला त ? पक्कै पनि त्यस्तो क्षमता कसैको पनि छैन । तर पनि ती सबै यिनीहरूले सम्पूर्ण प्राणीजगत्मा जीवनी प्रदान गर्दछन् । त्यही भएर त हाम्रा दूरदर्शी तथा मर्मज्ञ पूर्वजहरूले यिनीहरूको सेवा, चिन्तन तथा संरक्षणमा विशेष जोड दिएका छन् । निर्जीव भए पनि यिनीहरूले कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन भन्ने गीताको कर्मवादी चिन्तनलाई स्वीकार गरेझैँ लाग्छ, साँच्चै हरेक कुराको फल स्वयं प्राप्त हुन्छ नै, तर त्यसको निम्ति आधार भएको कर्मलाई भने छाड्नुहुँदैन ।

तृष्णाको जञ्जालबाट मुक्त हुन पनि सबै मानिसले आफ्नो मानवीय योग्यता प्राप्त गर्न सक्नुपर्दछ । संसारमा जसले जे कुराका प्राप्त गर्न खोज्छ, त्योभन्दा त्यसको विपरीत मात्र प्राप्त हुन्छ । यो संयोगमात्र होइन एक तीतो यथार्थ पनि हो । यो प्रकृतिको एक अचम्मको खेल हो । वर्तमानमा केही पाइलाहरू सत्यका लागि काटिन पनि तयार छन् अनि केही पाइलाहरू असत्यका पछाडि स्वार्थले हिँडेका हुन्छन् । यी सबैको छिनोफानो समयले अवश्य पनि गर्छ नै । आजझूठो चरित्र सत्यझैँ लागे पनि केही समयभित्र फेरि त्यसको वास्तविक पर्दाफास हुन्छ अवश्य । यसप्रति जानकार रहनु सबै सांसादहरूको कर्तव्य पनि हो । 

माननीयहरूले यदि जसरी भए पनि आफ्नो रवाफ र स्वार्थमात्र पूरा गर्ने व्यभिचारी प्रवृत्ति अँगाल्न पुगे भने त्यो सम्पूर्ण जनभावनाप्रति तीखा वाण प्रहार हुन जानेछ, जुन कृतघ्नताको पराकाष्ठा हो ।

वर्तमानमा विजेता सांसद्हरूले संसद्को सदस्यताको महत्तालाई स्वीकार गर्नुपर्ने देखिन्छ । आफ्नो योग्यताको मापन तथा परीक्षण आफैँ गर्नुपर्छ । राजनीतिको यथार्थ उदाहरण पेश गर्ने तथा आफ्नो निष्ठालाई पूर्णता दिन जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चरित्रको अपेक्षा सम्पूर्ण मतदाताहरूबाट तपाईँहरूमा छ । लुला–लङ्गडा, सर्वहारा, महिला, दलित, उपेक्षित, अल्पसङ्ख्यक, मजदुर अनि युवायुवतीदेखि वृद्धवृद्धाहरूको अमूल्य मनोभावना तपाईँहरूसँग जोडिएको छ । मनोरञ्जन र फजुल गतिविधि अनि दम्भ र अहंकारको अपेक्षा कसैले तपाईँहरूबाट गरेका छ्रनन्, गरेका छन् त स्थिरता र समृद्धिको पाइला । तपाईँहरूले यदि जसरी भए पनि आफ्नो रवाफ र स्वार्थमात्र पूरा गर्ने व्यभिचारी प्रवृत्ति अँगाल्नुभयो भने त्यो सम्पूर्ण जनभावनाप्रति तीखा बाण प्रहार हुन जान्छ, जुन कृतघ्नताको पराकाष्ठा हो । अनि त्यसको प्रतिफल एक दशकभित्र नै पाउनुहुन्छ भने उदाहरण नेपाली राजनीतिको अन्तिम दशकको गतिविधिबाट पनि आँकलन गर्न सक्नुहुन्छ । अब तपाईँहरूले आफूलाई कस्तो दर्जामा उभ्याउने ?सोच्नुहोस्— मैले गर्नुपर्ने कर्तव्य के हो ? मैले आजसम्म जे गरेँ, के त्यो सही गरेँ ? केही कमीकमजोरी भएका छन् भने त्यसलाई कसरी सुधार गर्ने ? कसरी आफूले मात्र जित्ने नभई सबै देशवासीले जित्ने वातावरण निर्माण गर्ने ? यी र यस्तै प्रश्नको उत्तरभित्र नै सांसद् वा सदस्यताको गरिमा निहित भएको छ । 

आजसम्मको नेपालको संसदीय इतिहास हेर्ने हो भने केही संसद सदस्यहरूको कर्तुत र स्वार्थको कारणले देश र जनताका हाँसो रोदनमा परिणत भएका छन्, आशा निराशामा बदलिएका छन् अनि जोश, जाँगर र उत्साह दबाइएका छन् । वास्तवमा जुन सांसद र सदस्यको काम, कर्तव्य, अधिकार र चुनौतीबारे प्रदेश १ देखि प्रदेश ७ सम्मका सबै प्रतिनिधिको मनमस्तिष्कमा प्रवेश गराउनुपर्ने भएको छ । किनभने हिजोको जस्तो गल्ति नवनिर्वाचित प्रतिनिधिहरूबाट दोहोरियो भने त्यो तिनीहरूको निम्ति र समग्र देशको निम्ति पनि त्यति फाइदाजनक हुन सक्दैन ।

कथित केही सांसदहरूले आफ्नो पदको दुरुपयोग गरेकै कारण केही न्यायप्रेमीहरूको अपमान हुन पुगेको यथार्थ सबैमाझ छर्लङ्ग छ । अन्यायी तथा आडम्बरीहरूको उत्कर्ष जहाँ देखिन्छ, त्यहाँ सत्य मात्र होइन सत्यवादीहरूको उत्साह, जोश र जाँगर पनि हटेर जान्छ । जब देशमा विविध जातजाति, भाषा, धर्म, पेशा, सम्प्रदाय, लिंग तथा समुदायबीच विद्वेष बढेर जान्छ, तब अविश्वासको जरा झन् झांगिन्छ । अनि दाजुभाइ फुटे गवाँर लुटे भन्ने हाम्रा पूर्वजको कहावतअनुरूप भ्रष्ट शत्रुहरूले फक्रने मौका पाउँछन् र एक आपसमा लडाएर देश र देशका जनतालाई पराधीन बनाउँछन् । त्यसपछि त अर्काको वशमा परेका जनता जनार्दनहरूले सपनामा पनि सुख पाउँदैनन् ।

अघिको समयमा झैँ संसदमा न्यायको सम्मान हुनुपर्छ । सांसदहरूले आफ्नो सदस्यताको सदुपयोग गरी अन्याय, अत्याचार, दमन, शोषण, भ्रष्टाचार र अराजकतालाई रोक्नुपर्छ । सत्यको वकालत हुने ठाउँमा असत्य गतिविधि तथा त्यसलाई प्रश्रय दिने जोकोहीलाई पनि परास्त गर्ने सामथ्र्य प्राप्त हुन्छ । सबै असत्यदेखि डराउँछन् । कसैले अनायास अन्याय नै गरे भने पनि त्यसबाट घोर अनर्थ हुने सम्झेर गरिएको पश्चात्तापले न्यायको बाटोमा डोराउने योग्यता दिन्छ । यस्तो वैभव र गरिमा बोक्ने जनप्रतिनिधिहरूको नाम संसद सदस्य राखिएको होे, यसलाई वर्तमानमा पनि जस्ताको त्यस्तै अपनाउने अवस्था निर्माण गर्नु सम्पूर्ण जनप्रतिनिधिहरूको कर्तव्य हो । 

भ्रष्टाचार नै हो अहिलेको चुनौती 
स्थानीय सचिव १६ लाख पैसा लिएर फरार, फेरि विभूषणमा भ्रष्टाचार, सर्वोच्च अदालतका न्यायाधीश घूस लिँदालिँदै रङ्गेहात पक्राउ, राजनैतिक दलका केन्द्रीय नेतालाई अकूत सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण आयोग लगिँदै, मेलम्ची खानेपानी आयोजनामा फेरि अनियमितता......पढ्नको लागि पत्रिका खोल्दामात्र यस्तै–यस्तै समाचारमात्र सधैँ देखिने गर्दछन् । चिया पसल, बस स्टेशन, चौतारीमा पनि मानिसहरूको गफगाफको विषय यही हुने गर्दछ । चाहे हामीले सुन्ने रेडियो अनि हेर्ने टेलिभिजन तथा पढ्ने पत्रपत्रिका सबैतिर सबैको मुखबाट सजिलै निस्कन्छ– अहिलेको नेपाली राजनीति भ्रष्ट छ, निर्लज्ज छ । जति रगत चुसेर सुम्लिए पनि नअघाउने नेपालको कर्मचारीतन्त्र झन् भ्रष्टाचारमा लिप्त छ । राजनीतिमात्र होइन, देशका सबै निकाय, संस्थान अनि समाजिक क्षेत्रमा समेत विषवृक्षझैँ भ्रष्टाचार झाङ्गिएको देखिन्छ । प्रशासनिक कर्मचारी र भ्रष्टाचारमा विभेद देख्न पनि गाह्रो भइसक्यो । स–साना काम तथा गतिविधिमा पनि घुस लिने–दिने परिपाटी यत्र तत्र सर्वत्र देख्न पाइन्छ । 

देशमा वर्ग, वर्ण, लिङ्ग, जाति, भूगोलमा विविधता भए तापनि भ्रष्टाचार आदानप्रदानमा भने एकरूपता देखिनु दुर्भाग्यको कुरा हो ।

देशमा वर्ग, वर्ण, लिङ्ग, जाति, भूगोलमा विविधता भए तापनि भ्रष्टाचार आदानप्रदानमा भने एकरूपता देखिनु दुर्भाग्यको कुरा हो । सबैतिर अनेक–अनेक विषयमा ‘त्यो कामका निम्ति यति दान, यो कामका लागि यति सहयोग’ भन्दै अघोषित रूपमा घुस निश्चितप्रायः भएको देखिन्छ । भ्रष्टाचारलाई अनिवार्य गतिविधिको रूपमा स्वीकार्नुपर्ने कस्तो विडम्बना हामी सबैको ? के कारणले देशमा मडारिएयो यस्तो दुर्दशाको कालो बादल ? हामी कसरी उम्कन सकौँला ? यस्तो विसङ्गतिको पञ्जाबाट ?

के भनौँ भ्रष्टाचारबारे ? देशमा कहाँ देखिँदैन भ्रष्टाचार ? जन्मदेखि मृत्युसम्म मात्र होइन, मरिसकेपछिको पनि मान्छेलाई छोड्दैन भ्रष्टाचारी प्रवृत्तिको प्रभाव तथा माध्यमले जन्मदर्तादेखि मृत्युदर्ताको प्रमाणपत्र प्राप्त गर्दा घुसको कालो धन्दा देखिनु यसको प्रमाण हो । यसरी जन्मिएदेखि नै शरीरमा टासिएको भ्रष्टाचारको छाया प्राणपखेरु उडीसक्दा पनि शरीरसँगै रहिरहन्छ भने जीवित रहँदासम्मको यसको वास्तविकता कसको अनुभवभित्र नरहला र ?
जहाँतहीँ पनि प्लेटफर्म देख्न सकिन्छ– ‘यहाँ निशुल्क सेवा प्रदान गरिन्छ’ तर त्यहाँ शुल्कबेगर प्रवेश पाइएको अवस्था भने छैन । बीसौँ हजार मानिसको दैनिक आवतजावत हुने ठाँउमा अवस्थित सार्वजनिक शौचालयबाट मात्र नै दिनभरमा सञ्चित रकम दशौँ हजार हुन्छ । त्यहाँ भएको व्यक्तिले नै त्यसबाट भुँडी बढाएको हुन्छ त उसले सर्वसाधारणको आवाज कसरी सुन्न ध्यान देला र ?

प्रशासनिक स्थलको नागरिक वडापत्रमा स्पष्टतः उल्लेख गरिएको पाइन्छ–‘घुस लिन्या र दिन्या दुवै शत्रु हुन्’ परन्तु यहाँ लेनदेनमा वैचारिक उच्चता देखिनुभन्दा पनि अकर्मण्यतामात्र हावी भएको देखिन्छ । गणतान्त्रिक नेपालको कुना–कुनामा व्याप्त यस भ्रष्टाचाररूपी विशालकाय दुष्ट राक्षसको पञ्जाबाट कसरी नेपाली जनता उम्किन सक्लान् ? के ‘न्यायिक सर्वोच्चता’ यसको समाधानको विषय हुन सक्ला ? यदि हो भने यसले पनि आफ्नो प्रकाश र प्रभाव किन तेजिलो बनाउन सक्दैन त ? के न्यायालयले प्रजालाई देख्दैछ त ?

‘न्यायालयले प्रजाको हक–हित, समस्या र आवश्यकताबारे चिन्ता गर्नुपर्दछ’ यो सर्वस्वीकार्य विषय हो । तर न्यायालयलाई पनि स्वतन्त्र काम गर्ने वातावरण प्रदान गर्नुपर्दछ । यसबारे पनि माननीय सांसद्हरू सचेत हुनुपर्ने देखिन्छ । अन्त्यमा विजय र पराजय भन्ने कुरा प्रतिस्पर्धामा स्वतः नै प्राप्त हुन्छन् नै, त्यसैले कसैले विजयको उन्माद र कसैले पराजयको विषादको चित्र कोर्नेभन्दा पनि सुन्दर नेपालको भविष्यको गोरेटो बन्न सक्नुपर्छ । सबै विजेता नेपालीहरूको प्रतिनिधि र पराजित नेपालीहरूको प्रतिनिधिको मुख्य लक्ष्य भने नेपाल आमाको आँखामा मुस्कान छर्ने नै हो । अतः त्यो सानो लोकतान्त्रिक प्रक्रियालाई भुलेर स्वाधीन, समृद्ध र सुन्दर नेपाल निर्माणमा होस्टेमा हैँसे गरी अघि बढ्ने सद्बुद्धि सबैमा प्राप्त होस् । यही नै आजको आवश्यकता र सम्पूर्ण नेपालीहरूको चाह हो । 

सम्बन्धित समाचार

अख्तियारको काममा राजनीतिक हस्तक्षेप अस्वीकार्य छ : प्रमुख आयुक्त घिमिरे 

पोखरा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको काम कारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताएका छन् ।  सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार आयोजित अन्तरक्रियामा उनले भ्रष्टाचार गर्ने जोकोहीलाई

बिपीको विचारले मात्र काँग्रेसलाई एक बनाउँछः महामन्त्री डा.कोइराला

नवलपरासी। नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गरेका छ्न् ।  विजयादशमी, दिपावली र छड पर्व २०७५ को अवसरमा आज पूर्वी नवलपरासीको

डा.बाबुराम भट्टराईको प्रश्न - निर्मला हत्याको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने बेला भएन ?

काठमाडौं।  नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा ‘माथि’ को संलग्नता रहेको बताएका छन्।  निर्मलाको बलात्कार र हत्याको सबुतप्रमाण मेटाउनेलाई केरकार गर्दा अपराधी पत्ता लाग्ने

राजनीति तरंगित बनाउदै बामदेवको उम्मेदवारी : सत्तारुढ दलमै खटपट 

काठमाडौँ।  बामदेव गौतमलाई काठमाडौँ ७ मा उपचुनाव गराएर संसदमा लैजाने विषयले अहिले सत्तारुढ दल नेकपा भित्र एक किसिमको तरंग सिर्जना गरेको छ। आम रुपमा सत्तारुढ दलका कार्यकर्ताले बामदेवलाई उपचुनाव गरेर


z