• २०८१ बैशाख ४ मंगलबार

मदन भण्डारीको मृत्युको क्षण सबैभन्दा दुःखद - एमाले नेता भानुभक्त ढकाल

kharibot

काठमाडौं । भानुभक्त ढकाल वि.सं. २०१८ सालमा आमा विष्णुमाया र बाबु कुलप्रसाद ढकालको कान्छो छोरोको रुपमा जन्मिएका हुन् । सानो उमेरदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रुपमा लागेका उनी हालै सम्पन्न निर्वाचन मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसद् सदस्यमा विजयी भएका हुन् ।

उनले आफ्नो प्रतिद्वन्द्वीलाई १९ सय सात भोटले पराजित गरेका थिए । गत निर्वाचनमा जित सुनिश्चित नै भए पनि सोचेभन्दा कम मतले जितेकोमा उनलाई गुनासो छ । उनले १० हजार मतले जित्ने सोचेका थिए । 

आफूलाई यो निर्वाचनमा ‘एकपटक मौका दिनुस्, मुलुकलाई विकास र समृद्धि दिन्छौँ’ भनेर उनले वाचा गर्दै भोट मागेको सम्झिए ढकालले । अब उनले वाचा पूरा गरेर देखाउने पालो आएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण जनताले संयुक्त गठबन्धनको घोषणापत्रलाई सम्बोधन गरेको बताउँछन् ढकाल । उनी भन्छन्, ‘त्यो घोषणापत्रमा उल्लेख भएका कुराहरुलाई पूरा गर्न लागिपर्नुको विकल्प छैन ।’ 

सम्पूर्ण देश र जनताको हक, हित र अधिकारबाहेक अर्को महत्वपूर्ण कुरा विकास गरेर जनतालाई देखाउनु सानो काम होइन । यो काम गर्छु भनेर ढकालजस्ता धेरै नेताले वाचा गरेका थिए चुनावमा । अब चुनावले नयाँ म्यान्डेट दिइसकेको अवस्थामा ढकाललाई पनि विकासको बारेमा काम गरेर देखाउने चुनौती खडा भएको छ । यसबाहेक आफू निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को लागि त झन् विशेष योगदान दिनुपर्नेछ । यसका लागि के सोचेका छन् त ढकालले ? यो प्रश्नको उत्तर दिँदै ढकाल भन्छन्, ‘मुख्य पाँचवटा विषयलाई अघि सार्दै त्यसैमा आधारित भएर काम गर्ने सोच बनाएको छ ।’ त्यसको लागि प्रतिबद्धतापत्र नै जारी गरेको उनले बताए । आदिवासी जनजाति सांस्कृतिक प्रतिष्ठान बनाउने र उनीहरुसँग सम्बन्धित कला, धर्म, संस्कृति, परम्परा, रीतिरिवाजलाई व्यवस्थित गर्नको लागि राष्ट्रिय गौरवको योजना परिचालन गर्ने र त्यसलाई संग्रहालय बनाएर नेपालको विविधताभित्रको राष्ट्रिय एकताको प्राीविम्ब हेर्न मोरङ ३ नम्बर क्षेत्रमा जानुपर्छ भन्ने बनाउने उनको योजना छ ।

यसबाहेक उनले नदी कटानले सिर्जित समस्या समाधान र संरक्षणको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कदम चाल्ने बताए । आफ्नो क्षेत्रलाई विकासको मूलधारमा ल्याउने, प्रारम्भिक समयमा जमिन कटानको रोकथामको लागि काम गर्ने, विकासको पूर्वाधार संरचना तयार गर्नेदेखि पिचबाटो निर्माण उनको योजनाभित्र रहेको छ । त्यस्तै ढकालले सुकुम्बासी समस्या समाधान गर्ने योजना बनाएका छन् । पूर्वाञ्चल विश्वविद्यालय त्यहाँ नै पर्ने भएकाले त्यसलाई नयाँ जीवन दिइने खुलाए । यतिमात्र हैन यस ठाउँमा पेट्रोल खानी रहेको आफूले सुनेको बताउँदै यसलाई पत्ता लगाएर अगाडि बढ्ने समेत भन्न भ्याए । सुकुम्बासी र जमिनको स्वामित्व अन्त्य गर्ने कुरा पाँच वर्षको कार्यकालमा नै पूरा गर्ने उनको दाबी छ । यसको अतिरिक्त सिमसार क्षेत्र, धार्मिक तथा ऐतिहासिक मठमन्दिरहरुको संरक्षण गर्ने उनको योजना छ । जनताले वामपन्थीलाई मत दिएर पाँच वर्ष हेर्न चाहेकाले यही अवधिमा देश र जनताको समृद्धिको सवालको समाधान गरेरै छाड्ने उल्लेख गरे । 

नवनिर्वाचित सांसद् ढकालले वृद्धभत्ता दुई हजारबाट बढाएर पाँच हजार पु¥याउने कुरामा एकैचोटि गर्ने कि वष वर्षमा बढाउने भनी छलफल जारी रहेको बताए । केपी ओलीको नेतृत्वमा अब बन्ने सरकारले दुई वर्षभित्र न्यूनतम आधारभूत आवश्यकता पूरा गर्ने र पाँच वर्षमा मुलुकलाई एउटा स्थितिमा पुर्याउने उनको भनाइ छ । योसँगै आगामी दश वर्षभित्र विकासोन्मुख राष्ट्रको हाराहारीमा पुग्ने गरी काम हुनेमा उनी विश्वस्त छन् । 

विकासबारे ढकाल भन्छन्, ‘देशमा विकास भएको छैन, यसका लागि औद्योगिक क्षेत्र खोल्ने, बाँजो जमिनमा खेती गर्ने र सबैलाई रोजगारी दिलाउने गरी काम गर्छौँ ।’ वैदेशिक रोजगारीमा गएकालाई पनि फर्काएर काम दिने उनले दाबी गरे । अब नेपालमा स्थिर राजनीति हुने र त्यसले विकासमा सकारात्मक प्रभाव पर्नेमा उनी आशावादी देखिन्छन् ।  

मोरङ क्षेत्र नम्बर ३ बाट डाक्टर सुनिल कुमार शर्मालाई १९ सय ७ मत बढी ल्याएर निर्वाचित भएका ढकाल आफूले इमानको राजनीति गरेकाले जनताले भोट दिएको बताउँछन् । चुनाव जित्नकै लागि आफ्ना प्रतिस्पर्धीले ३७ करोड खर्च गरेको दाबी गरेका ढकालले हामीसँगको कुराकानीमा तर पनि जित हात पार्न नसकेको बताए । आफ्नो इमानको राजनीतिलाई जनताले सम्मान गरेको उनको भनाइ छ ।    

२०३५ सालको विद्यार्थी आन्दोलनदेखि नै ढकाल हरेक आन्दोलनमा सम्बन्धित रहँदै आएका छन् । अखिलको स्कुल कमिटीको प्रारम्भिक अध्यक्षदेखि केन्द्रीय महासचिव र पार्टीको आधारभूत कमिटीदेखि पोलिटब्युरो सदस्यसम्म  भएर राजनीति गरिसकेका ढकाल सप्तरीबाट पार्टीको तर्फबाट समानुपातिक सांसद भएर एमाले संसदीय दलको प्रमुख सचेतकसम्म भइसकेका छन् । राजनीतिकै सिलसिलामा तीन वर्ष जेलजीवन बिताएको उनले सुनाए । 

वकिल बन्छ भनेर ल कलेजमा भर्ना गरिए पनि उनले राजनीति गरे । तर व्यावसायिक वकालती पेसा नभए पनि उनलाई कानुनसम्बन्धमा जानकारी रहेको छ । उनले एमएमा इतिहास र समाजशास्त्रको समेत अध्ययन गरेका छन् । 

अहिले एमाले र माओवादी केन्द्रले ६० र ४० को भागबण्डामा चुनाव लडेका कारण एमालेको भागमा १५ जना मन्त्री पर्नेछन् । योभित्र महिला, मधेशी, जनजाति लगायतबाट प्रतिनिधित्व गराउनुपर्नेछ । नयाँ मान्छेलाई मौका दिने कुरा आए आफू पनि दाबेदार रहेको बताउँछन् ढकाल । उनले भने, ‘मेरो दाबेदारी भनेको सञ्चारमन्त्रीको हो ।’     सेवा गर्दा नथाक्ने क्षेत्र राजनीत भएकाले आफू सधैँ लागिपरेको उनको भनाइ छ । राजनीति गर भनेर हैन आफूले रोजेर लागेको क्षेत्र भएकाले उनी सधैँ यसैमा लागिपरेका छन् ।

दुःख-सुख

ग्रामीण परिवेशमा अरु सामान्य मान्छेजस्तै मेलापात, कुटो, कोदालो, दाउरा, घाँस गरेर गाई, भैँसी चराउँदै, बाल्यकाल बिताएका उनी जीवनमा सधैँ खुसी भएको बताउँछन् । उनको लागि सबैभन्दा दुःखद क्षणचाहिँ आफ्ना नेता मदन भण्डारीको दासढुङ्गामा भएको दुर्घटनालाई मान्छन् । 

रुचि 

ढकाल ऐतिहासिक पुस्तकहरु पढ्न मन पराउने नेता हुन् । पत्रपत्रिका पढ्ने तथा समाचारमूलक कुरा हेर्न मन पराउने उनी जीवनमा पाँचपटक मात्र फिल्म हेर्न गएका छन् । कविता पनि उनको रोजाइमा पर्छ । विशेष गरी इतिहास र साहित्य उनको रोजाइमा पर्ने गर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै