• २०८१ बैशाख ८ शनिबार

कहिले बन्छ बाहिरी चक्रपथ ? निर्माण प्रक्रियामा किन हुँदैछ ढिलाई ?

kharibot

काठमाडौँ । राजनीतिक इच्छाशक्तिको शिकार हुँदै आएका विभिन्न विकासे पुर्वाधार आयोजनाहरु समयमै बन्न नसकेका तिता यथार्थहरु हामीमाझ छन् । तीन दशक पार गरिसक्दा पनि मेलम्ची खानेपानी आयोजना निर्माण हुन नसक्नु, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गलगायतका आयोजनाको कामहरु समयमै हुन नसक्नु यसका उदाहरण हुन् ।

१३ वर्षदेखि चर्चामा रहेको बाहिरी चक्रपथ आयोजना निर्माण अघिका सबै प्रक्रियाहरु पुरा भए पनि यसले औपचारीक रुपमा निर्माणको प्रक्रियामा जान भने सकेको छैन । आयोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण सम्पन्न भए पनि यो सहरी विकास मन्त्रालयमै थन्कीएको छ । 

कुल ७२ किलोमीटर लम्बाइको बाहिरी चक्रपथ आयोजनामध्ये ६ दशमलव ६ किलोमिटरमा रहेको चोभार–सतुंगलसम्मको खण्डको डिपिआर सम्पन्न भए पनि हालसम्म उक्त खण्ड शिलन्यास हुन भने सकेको छैन ।

मन्त्रालयले प्रदेशसभाको चुनावपछि तुरुन्तै उक्त खण्ड निर्माणका लागि औपचारिक रुपमा शिलन्यास गरी बाहिरी चक्रपथको काम अघि बढाउने घोषणा गरेको थियो । तर, पनि चुनावको परिणाम आइसक्दा पनि बाहिरी चक्रपथको निर्माणको सुरुवातसमेत हुन सकेको छैन । 

मन्त्रालय स्रोतका अनुसार अब यो आयोजनाको शिलन्यास नयाँ सरकार गठन भएपछि मात्रै हुने देखिएको छ । हालसम्म पनि नयाँ सरकार गठनको कुनै गुञ्जायस नभएको समयमा तत्कालै बाहिरी चक्रपथको उक्त खण्ड शिलन्यास होला भन्नेमा कुनै आधार नै छैन । यसले गर्दा पनि निर्माणको प्रक्रियामा जान सुरु भएको यो आयोजनाको निर्माण कार्यमा थप समय लाग्ने स्पष्ट देखिएको छ ।

मन्त्रालय स्रोतका अनुसार मंसिर १० र २१ गते भएको प्रदेशसभा र केन्द्रको चुनावपछि उक्त खण्ड शिलन्यास हुने भनिएको भए पनि सो सम्बन्धि फाइल अहिले मन्त्रालयमै थन्किएको छ । निवर्तमान सहरी विकास मन्त्री दीलनाथ गिरीले मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा चुनावलगत्तै चोभार–सतुंगलसम्मको ६ दशमलव ६ किमी क्षेत्रको शिलान्यास गर्ने उद्घोष गरेका थिए । तर उनले उक्त कामको शिलन्यासको काम नगर्दै सोमबार मन्त्री पदबाट नै बर्खास्त भए ।

पूर्वाधार विकासको कामलाई छिटो गर्ने भन्दा पनि कुन राजनीतिक दल तथा मन्त्रीले जस लिने भन्ने विषयमा अल्झिदा नेपालका धेरैजसो आयोजनाहरुको अवस्था दयनिय बन्दै गएको छ । यसको शिकार बाहिरी चक्रपथ आयोजना पनि बन्ने देखिएको छ । सबै आवश्यक प्रक्रिया पुरा भएको यस आयोजना छिटै निर्माण प्रक्रियामा जानु आवश्यक छ ।

बहुप्रतिक्षित यस आयोजनाबाट १४ हजार घरधनी प्रभावित हुने देखिएको छ भने ९० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । आगामी असारसम्ममा सबै क्षेत्रको डीपीआर स्वीकृत गरी आगामी दशैंसम्ममा आयोजनाले समेट्ने सबै सडक खण्डको ट्रयाक खोलिसक्ने लक्ष्य राखिए पनि हाल भएको आयोजनाको कामको अवस्थालाई हेर्दा यो आयोजनाको ती कामहरु थप पछि धकेलिने स्पष्ट छ ।

पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यकाको बढ्दै गएको सहरीकरणका कारण बढेको अव्यवस्थीति बसोबासलाई व्यवस्थीत गर्दै योजनाबद्ध विकास गर्ने मुख्य उद्देश्यले आयोजना अघि सारिएको थियो । कुल ७२ किमीको लम्बाइमा बाहिरी चक्रपथले काठमाडौंको सीतापाइलादेखि बालाजु बाइपाससम्मको ३ दशमलव ७५ किमी साविकको चक्रपथमा जोड्ने छ । 

मन्त्रालयले गत बैशाखको अन्तीम साता नै चोभार–गम्चा–सतुंगलको ६ दशमलव ६ किलोमिटर निर्माण कार्य अघि बढाउन गरी उक्त खण्डको डीपीआर स्वीकृत गरेको थियो । तत्कालिन सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले यो काम गरेका थिए ।

आयोजनाले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रहरुलाई छोएको छ । यस आयोजनाले चोभार, गाम्चा, बलम्बु, नैकाप, रामकोट, टोखा सरस्वती, टोखा, चपली, चुनीखेल, गोकर्णेश्वर, नयाँपाटी, थली, दुवाकोट, सुडाल, जगाती दधिकोट, लुभु, हरिसिद्ध, धापाखेल र बुङ्मति क्षेत्र समेट्ने छ । आयोजना कार्यान्वयनमा आए हाल फैलिरहेको अव्यवस्थीत बसोबासका साथै सडकको अवस्थामा पनि सुधार हुने देखिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै