म आउनेछु आमा ! एकदिन ...[कविता]

खरीबोट
ad

म आउनेछु आमा ! एकदिन ...
यो खाल्डोबाट उन्मुक्तिको श्वास फेर्दै,
यो कंक्रिटको तन र मन त्यागेर
सिमेन्टको भुइँ र आकाश च्यातेर
मनै हराएका मान्छेकाे भीडबाट एक्लिँदै
छियाछिया तनभित्र मानवता छोप्ने मान्छे गलहत्याउँदै
म आउने छु आमा ! एकदिन
आफ्नै गाउँ आउनेछु । 

यहाँ, 
आवाज छ, ध्वनि छैन
आँखा छ, दृष्टि छैन
हाँसो छ, खुसी छैन
माया छ, मुटु छैन
रोदन छ, आँशु छैन
पीडा छ, चित्कार छैन
यो सांसारिक सुखलिप्साको सहरमा 
यो भौतिक आनन्दमात्र बिक्री गर्ने बजारमा 

आमा !
सबै कुरा छ
तर, 
तपाईँको न्यानो माया छैन
आशीर्वादको हात छैन
छ त केवल,
स्वार्थ र अहंकारले भरिएको मानवरुपी जञ्जीर मात्र । 

आमा ! 
यहाँ त 
उडिरहेको धूलोबाट पैसा झारिन्छ
बागमतीको फोहोरमा पैसा चालिन्छ
आमाबुवाको स्नेह र अभिभावकत्वलाई तराजुमा जोखिन्छ
तिललाई पहाड बनाइन्छ अनि पहाडलाई तिल
मरिमराउमा गाउँबाट मलामी बोलाउनुपर्ने यो सहरमा 
भोजभतेरमा बेहुलीको बाको टुप्पी बिक्री हुन्छ
आर्यघाटमा पोलिनुअघि रकम बुझाउनुपर्छ 
मलाई यहाँ पटक्कै बस्न मन छैन, 
म आउनेछु आमा ! एकदिन...
आफ्नै गाउँ आउनेछु । 

मलाई, 
सहरमा फाटेको जीवनभन्दा
गाउँमा फाटेको धूरी प्यारो छ
महलको कठ्यााङ्ग्रिने जाडोभन्दा
धूलाम्य आँगन न्यानो छ 
त्यो सन्नाटाको डल्ला फोड्न
घरको छेउकुना मिलाउन
मन्जुश्रीको फरुवा बोकेर
आँशुभित्र खुसीको श्वास फेर्न
म एक दिन पक्कै आउनेछु आमा !  
आफ्नै गाउँ आउनेछु ।  
 

सम्बन्धित समाचार

दशैँ (कविता)

खेल्दिन्छु दशैँमा पिङ रात्री कुकुरको रुवाई संगीत लाट्कोसेरो र हुच्चिलको शब्द संयोजनमा अभावको छिद्र बाँसुरी बजाउँदै उघ्दै ब्युँझिदै गाउँदा गाउँदै समय चिप्लिसकेछ कालो समयको बुई चढेर फेरि आयो दशैँ ! गरिबी चराउँदा चराउँदै पोहोर साल मरेका चाडपर्वको वर्षदिने खर्च जुम्ल्याहा

मुक्तिको गीत (कविता)

जसरी छाँगाबाट छङ्छङ खस्नुमा झरनाले जीवनको सौन्दर्यशास्त्र भेट्छ, त्यसरी काँधमा भिरेको बन्दुकको नालबाट उनीहरु जीवनकै सबसे प्रीय गीत सुसेल्छन् ! जसरी रावणको  पूरा लङ्का ध्वस्त बनाउँन आगोको एक फिलिङ्गो नै काफी हुन्छ, त्यसरी नै तिम्रो साम्राज्यमा

दशैको सम्झनामा (कविता)  

मेरि प्रकृति पनि  कति सुन्दर देखिएकी छिन्  कतै धानका बाला झुलेका छन्  कतै मखमली र सयपत्री  फुल्न लागेका छन्  कस्तो राम्रो बाताबरण  कस्तो स्वास्थ र निर्मल हावा  मान्छेहरू कति खुसी देखिएका  सबैको मनमा उत्साह र  उमंग छाएको छ यो

आमा, म र मेरो सपना (कविता)

एक्काइसौँ शताब्दिको गर्भबाट जन्मिएको म एउटा बालक, सदियौँदेखी प्रकृतिको अनुपम सुन्दरता र दुबोको गुन्टाझैँ मुलायम  आमाको काखमा लुट्पुट्टिरहेछु ! र मलाई मायालु बतासझैँ  कोमल हातहरुले सुम्सुम्याइरहेकी  मेरि आमा भन्दै थिईन् ;- बाबू,, उहिले- उहिले पृथ्वीमा बादशाहहरु थिए उनकै मनोमानी


z