• २०८१ बैशाख ६ बिहीबार

परिस्थितिसँग हाँसेरै लड्ने ताकत सबैलाई मिलोस्

kharibot

सम्झिन कत्ति सजिलो है । आफूलाई प्यारो लाग्ने मान्छे, मन परेको ठाउँ, मन परेको पुस्तक, मन परेको सिनेमा । सबै त सम्झिन्छौँ सजिलै ।

तपाई सजिलै के - के सम्झिनु हुन्छ ?

अहिले के सम्झनु भयो ?

अनि सम्झिन कस्तो गाह्रो है । कहिलेकाहिँ आफैँलाई औधी मन परेको कुरा, मन परेका दिनहरू धमिलो सम्झना मात्रै बनेर आउँछन् । तर पुरै सम्झने कोशिसमा रातभर निदाउन नसक्दा, सम्झिन जस्तो गाह्रो केहि लाग्दैन ।
तपाइलाई सम्झन गाह्रो भएको छ ?

आज फेसबुकले सजिलै गरी २ वर्षअघिको कुरा सम्झायो । सञ्चार र प्रविधिले हामीलाई सम्झिने बनाएको होला कि, बिर्सिने ? खैर, आज मलाई सम्झाएकै हो । फेसबुकले मलाई त्यो हाँसो सम्झाएको छ । जाजरकोटका ति कलिला हाँसो ।

जाजरकोटको एउटा गाउँ...मिडिया सर्भे(२०१९)को लागि आफ्नो उत्तरदाताको घर पहिल्याउन हिँडेकी म । पातलो बस्ती । सुनसान अनि ओरालो बाटो । खोलाको छेउ । वारि जाजरकोट, पारी रुकुम ।

काठमाडौँमा जस्तो घरैघरको घुइँचो थिएन त्यहाँ । जाजरकोटका घरहरुमा दुरी छ, मनहरु नजिक । काठमाडौँमा घरहरु नजिकै छन्, मनहरु कति नजिक होलान् ?

बाटोमा भेटिए दुई दिदिबहिनी । उमेर १० वर्ष नाघेका छैनन् । लुगा सिलाउन हिँडेका रहेछन् । मेरो अघिअघी आफ्नै गफमा मस्त हिँडिरहेका उनिहरु रोकिए । दुबैजना बसेर बिच बाटोको माटो कोट्याउन लागे ।
मैले सोधेँ "के गरेको?"
यिनी दुई मध्ये दिदिले जवाफ दिइन् "चक्लेट" (एउटा चकलेट कसैले झारेको रहेछ । माटोमा लगभग पुरिएछ पनि । चकलेटको झिलिमिली कागज उनिहरुका आँखाले चिन्यो । माटो लागेको झिलिमिली कागज फालेर चकलेटको दुईभाग लागाउनमा व्यस्त भए उनिहरु)

म सोध्छु : चकलेट मिठो लाग्छ?
दिदीले भन्छिन्  : लाग्छ ।
म फेरी सोध्छु : कतिवटा चकलेट खाने त ?
फेरी दिदी नै बोल्छिन् : दुइटा ।
तिमी चै ?( म बहिनीतिर हेर्दै सोध्छु)
चारवटा : सानी बहिनीको जवाफ ।

अलिपर एउटा घरमा चकलेट किन्न पाइने सानो पसल रहेछ । उनीहरूले नै देखाए । अनि उनीहरूले रोजे अनुसारको चकलेट दुइटा र चारवटा किनीदिए । आफैले छानेर, आफैले भनेजति चकलेट पाएका दिदीबहिनीको अनुहार खुशीले धपक्कै भएको थियो ।

"खै, यता हेर त" ????️
यति भनेर खिचेकी थिए ति दिदीबहिनीको यो फोटो ।
यसरी हाँसेका थिए उनीहरु,

हाँसेका दिदीबहिनी

अहिले समय सजिलो छैन । समयको रित नै यस्तै त हो । अफ्ठ्यारो नहुँदो हो त सजिलो, सजिलो जस्तै लाग्दैन थियो होला । अफ्ठ्यारो हुनुले नै सजिलो हुनुको महत्त्व राख्छ सायद । मृत्यु थिएन भने जीवन किन यति अमूल्य हुन्थ्यो होला र !

आज विश्व हाँसो दिवस । परिस्थितिसँग हाँसेरै लड्ने ताकत सबैलाई मिलोस्।
सबैको जीवनमा हाँस्ने बहानाहरु मिलिरहुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै