• २०८१ बैशाख ७ शुक्रबार

मनोवाद भन्दा मीठो संवाद अर्को होला ?

kharibot

मनोवाद भन्दा मीठो संवाद होला, की नहोला ?

आफ्नो मनले धेरै जस्तो आफूलाई मनपर्ने कुराहरु नै भन्छ । त्यसैल मनोवाद मिठो हुन्छ सायद । यो चाहिँ एक हप्ताअघि मैले मेरो मनसँग गरेको संवाद ।

यति बेला संसार कोरोना भाइरसको त्रासमा गुम्सिएको छ । देशमा निषेधाज्ञा छ, अझै थपिँदै छ । दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै निषेधाज्ञाको आज दशौँ दिनमा नागपोखरीदेखि कमलपोखरीसम्म एकफन्को लगाउने 'मूड' चल्यो । यो 'मूड' पनि बडो अचम्मकै जिनिस रहेछ ।

आज शनिवार, वैशाख २५ । आजको जागिर खाइसकेर कतै निस्कन्छु सोचेँ । धारामा पानी पो आएछ । भर्नै पर्‍यो । २ जार र एक बाल्टी पानी थापेर राखेपछि कोठाबाट निस्किएँ ।

ए, फाट्टफुट्ट मान्छे र सवारीसाधन त हिँडिरहेका, गुडिरहेकै रहेछन् त ! मैले सोचेजस्तो सुनसान भने रहेनछ बाहिर । सरासर नागपोखरीसम्म पुगेँ । कता जाउँ ! टक्क रोकिए फेरि सोचेँ । यतै जान्छु । नागपोखरीबाट हात्तीसार जाने 'वन वे'लाई पछ्याउँछु । बाटो सुनसान थियो । आफैसँग सोद्छु, सधैँ हतारमा कुद्ने यो सहर पनि 'एकछिन थकाइ मार्छु है' भने झैँ गरी सुस्ताउने रहेछ है ?

हात्तीसार पुगेँ । यता त अलि बढी चहलपहल रहेछ फेरी ! आउने र जानेहरु मात्रै । रोकिएका कोही छैनन् । आउनु र जानु भनेको पनि प्रकृतिको निरन्तर प्रकृया न हो । अपसोच हिजोआज जानेहरुको खबरले मन हुँडलीन्छ ।

अगाडि बढ्छु । 'पुलिस छन् होला । कहाँ हिँडेको ? खै आइडी देखाऊ । यस्तो प्रश्नको सामना गर्नुपर्ला अब ।' यति सोच्दा सोच्दै कृष्ण पाउरोटी पुगेँ । मैले सोचे जस्तो केही रहेनछ यता पनि । तर भिड भने अझै बढेको । म पुतलीसडक तिर नलागी त्यहाँबाट कमलपोखरी तिर मोडिन्छु । पैदल हिँड्ने खास्सै छैनन् । सबै सवारीमै सवार । बाटो छेउका बिजुली खम्बा, घरहरु र सवारीसाधनका बत्तीले झिलिमिली सडक ।

ए, सहर सुस्ताएको रहेनछ क्यारे । सहर सुस्ताउनु भनेको सहरका मान्छे पनि त सुस्ताउनु हो नि, हैन र ? मान्छेहरु उस्तै गरी हतारिएको देख्छु । आकाशतिर हेर्छु । एउटा सेतो चरा उसकै वेगमा उडेर जान्छ । उ पनि हतार मै रहेछ सायद । मलाई हतार थिएन ।

म एकदमै धिमी गतिमा हिँड्दै छु । हुँइहुँइ साइरन बजाउँदै एम्बुलेन्स मेरै छेउबाट हुइँकिन्छ । त्यो एम्बुलेन्सले बतासलाई पनि 'त पछि आइज न है अहिले मलाइ हतार छ' भनेर हिँडे झैँ लाग्छ । मलाई एम्बुलेन्सको साइरन बजेको आवाज एकदमै डर लाग्छ । झनै हिजोआज त, सपनामा पनि एम्बुलेन्सको साइरनले तर्साइरहन्छ ।

हिजोआज एम्बुलेन्सको साइरन बज्दै गर्दा, कोरोना सङ्क्रमित बिरामी अक्सिजन या अस्पतालको शैय्या नपाएर छटपटाइरहेको दृश्य घुम्न थाल्छ आँखैभरि । त्यो एम्बुलेन्स पर पुगिसक्यो । उसको हुँइहुँइ मेरो कानबाट हटेकै छैन । को होला त्यहाँ भित्र ? उ कुन छटपटीसँग लड्दै होला ? अस्पतालमा बेड पाउला त उसले ? त्यो छटपटीसँग उसले गरेको संघर्षले जीवन फिर्ता पाउला फेरि ? कस्तो उमेरको मान्छे होला ?

फेरि अर्को एम्बुलेन्स त्यसैगरि हुइँकन्छ । म आत्तिन्छु । सडक छेउको पेटिमा थचक्क बस्छु । हे भगवान् । मैले भगवान् सम्झिए । भगवान् ले सुने होलान् ?

कमलपोखरी आइपुगेछ । कुनै बेला म यहाँ टहलिन्थे । मन बहलिन्थ्यो । अहिले त्यही कमलपोखरी देख्दा नि मन बिथोलिन्छ । कमलपोखरी अगाडीको बाटो छिर्छु, नाट्यस्वरी गल्ली पुग्नु छ । कस्तो अँध्यारो बाटो । अलि अगाडि मधुरो उज्यालो रहेछ । त्यो उज्यालोले जकराण्डाका फुल भुईँभरि छरिएको देखायो । मलाई जकराण्डाको बोट अँध्यारोमा खिच्न मन लाग्छ । फोटो खिच्छु । मन्दमन्द चलेको बतासको तालसँगै हाँगाहरूले कुम जोडेर मस्की मस्की नाच्दै छन् जस्तो लाग्यो । एक छिनमा लजाए झैँ लागे जकराण्डाका फूल र हाँगाहरू । मैले बालिदिएको मोबाइलको 'फ्ल्यास लाइट'ले उनीहरूको सामिप्यतालाई अप्ठ्यारो पारेछ कि क्या हो ?

कुम जोडेर नाच्दै  जकराण्डाका फूल र हाँगाहरू

'पुलिस आयो पुलिस ।' एक हुल केटाहरू आउँछन्, हल्ला गर्दै । म उनीहरूलाई सुने नसुनेको झैँ गर्छु । अनि हिँड्छु त्यहाँबाट ।

ओहो ! कति धेरै मान्छेहरु । कोही बाटोको छेउमा उभिएका । कोही थ्याच्च भुइँमा बसेका । किन बसेका होलान् यसरी । ए ! पसल कुरेका होलान्, सटर लाएर । ग्राहक आइहाले भने भित्रबाट सामान किनबेच गर्न ।

गल्ली भित्र छिर्छु अब । यहाँ त कोही छैनन् । म मात्रै छु । शिरशिर हावा आउन थाल्छ । हावा त अघिदेखि नै चलेको थियो । अहिले एक्लै हुन पाएपछि अझै धेरै महसुस भयो । कस्तो मीठो हावा ! एक छिन रोकिएर त्यो हावालाई मेरो शरीर सबै सुमसुम्याउन दिन्छु । चिसो हावाको स्पर्श औधी मनपर्छ मलाई ।

म बस्ने घर आइसक्यो । दुबैतिर पर्खाल छन् । एकातिर म बस्ने घर । अर्को तिर छिमेकीको बारी । फर्सीका बुटाहरू मौलाउँदैछन् त्यहाँ । अलि कुनातिर जकराण्डाको ठुलो बोट पनि छ । पर्खालमै टास्सिएर एक थरी फुल हुर्किएको छ । फुलको बोट पर्खालभन्दा अग्लो छ । मलाइ अँध्यारोमा ती फूलहरूको पनि फोटो खिच्न मन लाग्छ । मोबाइलको 'फ्ल्यास लाइट' बालेर खिच्छु ।

अब कोठामा आइपुगेर ति फूलहरूका फोटो हेर्छु । ओहो ! कस्ता राम्रा । फूल सबै राम्रा हुन्छ । मलाई यो फुलको जात र नाम थाहा छैन । तर, सधैँ चियो गर्ने आँखाहरू छलेर, पातहरूको छायामुनि उभिएर एक अर्कालाई चुम्बन गर्दै गरे जस्ता लाग्ने ति फूलहरु एकदमै प्यारा लागे ।

एक अर्कालाई चुम्बन गर्दै गरे जस्ता लाग्ने फूलहरु

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै