• २०८१ बैशाख ७ शुक्रबार

डा.केसी पक्राउ प्रकरण : प्रधानमन्त्री अनभिज्ञ, समाजिक सञ्जालमा आक्रोश, अवहेलना ठहर भए के होला कारवाही ?

kharibot

काठमाडौँ । प्रा.डा.गोविन्द केसी बारे सोमबार एकाएक अनेकन घटना क्रम विकसित हुदै उनि अनशनबाट सिधै प्रहरीको हिरासतसम्म पुगेका छन् । डा. केसीलाई पक्राउ गरेर सिंहदरबार वृतमा राखिएको छ भने आज बिहान ९ बजे सर्वोच्चको आदेश अनुसार अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।

सोमबार के के भयो ?

अपराह्न २ बजे पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतका प्रधानन्यायधिशको राजीनामाको माग गर्दै अनशन सुरु गरेका थिए ।  डा. केसीले आइओएमको डिनमा डा. शशि शर्मालाई पुनर्बहाल गर्न आइतबार सर्वोच्चले दिएको आदेशविरुद्ध अनशन घोषणा गर्दै पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गर्नुपर्ने माग आगाडी सारेका थिए । साथै डा केसीले तत्पश्चात् उनका भ्रष्ट क्रियाकलापहरूमाथि छानबिन र कारबाही गरियोस् भन्ने माग राखेका थिए ।

डा केसीको विज्ञप्ति सार्वजनिक हुनासाथ उनिविरुद्ध सर्वोच्च अदालतको अवहेलना भएको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले केसीविरुद्ध अदालतको मुद्दा हालेका थिए । सो मुद्धा बारे न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई मंगलबार विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो । फैसलामा ‘डा. केसीको नाममा प्रकाशित विज्ञप्ति हेर्दा संविधान र कानुनबमोजिम यस अदालत र मातहतका विभिन्न अदालतबाट भएका फैसलाविरुद्ध आमजनमानसमा भ्रम पर्ने गरी नेपालको न्यायव्यवस्था, न्यायपालिका र न्यायाधीशहरूका विरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति उल्लेख गरेको देखिँदा निजलाई अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो, निजलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउनू ।’ भनिएको थियो ।

आपराधिक आदेश दिने प्रधानन्यायाधीशको आदेश मान्दिनँ – डा केसी 

सर्वोच्च अदालतको आदेशअनुसार आफूलाई गिरफ्तार गर्न अनशनस्थल त्रिवि शिक्षण अस्पताल आएका प्रहरीलाई सम्बोधन गर्दै डा. गोविन्द केसीले भने, ‘म सर्वोच्च अदालतको प्रधानन्यायाधीश, जसले न्याय बिक्री गरेर देशै लुटिरहेको छ, न्यायको बलात्कार गरिरहेको छ । त्यसको विरुद्ध लडेको नागरिकको हैसियतले, ठीक छ भनेर बुझ्नुहोला । उसको आदेश म पालना गर्दिनँ, तर तपाईंहरू आएका हिसाबले देशको नियम, कानुनको र तपाईंहरूको कदर गर्दै म जान्छु । तर, आपराधिक आदेश दिने प्रधानन्यायाधीशको आदेश मान्दिनँ ।’

अवहेलना ठहर भए एक वर्ष कैद र १० हजार जरिवाना

न्याय प्रशासनसम्बन्धी ऐनको दफा १७ को उपदफा १ मा सर्वोच्च अदालतले आफ्नो र आफूमातहतका अदालतको न्यायसम्पादनमा अवरोध गरेमा, फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने उल्लेख छ । अवहेलना कारबाहीका लागि अदालतले न्याय प्रशासनसम्बन्धी ऐनको व्यवस्थामा टेकेर कारबाही गर्ने गरेको छ ।
डा. गोविन्द केसीले ‘अदालतको अवहेलना गरेको ठहरेमा सम्बन्धित अदालतले कसुरदारलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्नेछ,’ ऐनको दफा १ को उपदफा ४ मा उल्लेख छ । तर, त्यसअगाडि अभियुक्तले माफी माग्न सक्ने प्रावधान पनि छ ।

डा. केसीको पक्राउप्रति गृहमन्त्री समेत रहेका प्रधानमन्त्रीको आपत्ति

गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका देउवाले आफूलाई कुनै जानकारी नगराई पक्राउ गरेको विषयमा आफ्नो असहमति रहेको बताए । ‘मैले केसी पक्राउ परेको समाचार हेरेर थाहा पाएँ । उहाँलाई पक्राउ गर्न जाँदा कसलाई सोधेर प्रहरी गयो ? यसमा मेरो असहमति छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘केसी कुनै अपराधी होइनन्, रातारात पक्राउ गर्नुपर्ने कारण थिएन ।’ 

सामाजिक सञ्जालमा डा. केसी पक्राउको विरोध 

सर्वोच्च अदालतको आदेशमा डा. गोविन्द केसीलाई पक्राउ गरिएकोमा नेतादेखि नागरिकसम्म आक्रोशित भएका छन् । आइतबार बेलुकी डा. केसीलाई पक्राउ गरिएलगत्तै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा आक्रोश पोखिएको छ ।

आमनागरिकको मुद्दा छिनोफानो गर्न वर्षौं लगाउने अदालतले डा. केसीबारेको मुद्दा एकैदिन दर्ता गर्ने, त्यही दिन बहस गरेर आदेश दिने र लगत्तै पक्राउ गर्ने घटनाले सबै आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् ।

नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई देखि काँग्रेसका युवा नेता गगन थापाले डा. केसीको रिहाइको माग गरेका छन् । भने आम नागरिकले पनि गणतन्त्रमा आफूलाई लागेको कुरा बोल्न पाइने भएकाले प्रधानन्यायाधीश या न्यायाधीश र अदालतबारे असन्तुष्टी व्यक्त गर्दैमा मानहानी नहुने तर्क प्रस्तुत गरेका छन् ।

मंगलबार बिहान माइतीघर मण्डलामा विरोध कार्यक्रम हुदै 

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथितिविरुद्ध आन्दोलनरत डा. गोविन्द केसी पक्राउको विरोधमा मंगलबार माइतीघर मण्डलामा विरोध कार्यक्रम हुने भएको छ ।
केसी पक्राउको विरोधमा उनलाई सर्वोच्च अदालत पेस गर्नुअघि मंगलबार बिहान ८ बजे माइतीघर मण्डलामा प्रदर्शन आयोजना गरिएको छ। प्रदर्शनमा सहभागी भएर केसी पक्राउको विरोधमा ऐक्यबद्धता जनाउन सामाजिक सञ्जालमा सबैसँग आग्रह गरिएको छ।

पूर्वस्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सांसद गगन थापाले केसीले ट्विटरबाट आफू पनि उक्त प्रदर्शनमा सहभागी हुने जानकारी दिएका छन् ।
‘न्यायका लागि भोलि बिहान ८ बजे म माइतीघर जानेछु र विश्वास छ तपाईं पनि आउनु हुनेछ,’ उनले ट्विटरमा लेखेका छन्। त्यसअघि थापाले केसी पक्राउको विरोध र तुरुन्त रिहा गर्न माग गर्दै ट्विट गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै