• २०८१ बैशाख ४ मंगलबार

दुई कोरियाबीचको वार्ताले राम्रो ऊर्जा दिएको छ : डोनाल्ड ट्रम्प

kharibot

वासिङ्टन (रासस/सिन्ह्वा) / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो उर्जा दिएको बताएका छन् । हालै दक्षिण कोरियामा सम्पन्न भएको दुई कोरियाबीचको वार्ताको बारेमा बुधबार प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सो धारणा राखेका हुन् । 

उनले यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द रुपमा वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गरेको समाचारमा जनाइएको छ । विगत लामो समयदेखि नै सत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर र दक्षिण कोरियाबीच गएको कम्तीमा पनि दुई वर्षपछि मङ्गलबार पहिलो पटक यति उच्चस्तरमा औपचारिक वार्ता भएको हो । 

यो वार्तापछि वातावरण निर्माण भएकोले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति इनलाई पनि राष्ट्रपति ट्रम्पले आग्रह गरेका हुन्  । मङ्गलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधिहरू पठाउने भएको जनाएको छ । दुई वर्षपछि भएको भए पनि मङ्गलबारको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको बताइएको छ । 

बुधबार ह्वाइट हाउसमा आयोजना गरिएको नर्वेजियन प्रधानमन्त्रीसहितको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, 'सो वार्तामा धेरै सकारात्मक कुराकानी भएका छन् र आगामी दिनका लागि पनि सो वार्तामा नयाँ विषयवस्तुहरुले प्रवेश पाएका छन् । कोरियाली प्रायद्वीपमा जारी रहेको द्वन्द्वको समाधानका लागि शान्तिपूर्ण समाधान आवश्यक छ र यसको विकल्प शान्ति वार्ता नै हो ।' 

मङ्गलबार भएको छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा बढी कुराकानी भएको थियो । छलफलका विषयवस्तुहरुको सीमितता रहेको दक्षिण कोरियाको भनाइ छ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा पनि सो वार्तामा प्रसंग उठेको बताइएको छ । तर यस विषयमा कुनै सहमति हुने वा केही एजेण्डा पास हुने काम भने भएको छैन । 

उत्तरका नेतासँग वार्ता गर्न तयार छु– राष्ट्रपति इन 

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले पनि आफू उत्तर कोरियाली नेतासँग भेटेर कोरियाको आन्तरिक विषयमा वार्ता गर्न तयार रहेको बताएका छन् । राष्ट्रपति इनले हाल कोरियाली प्रायद्वीपमा देखिएको समस्या समाधानका लागि तथा दुई कोरियाबीचको सम्बन्धमा सुधारका लागि भेटघाट र वार्ता गर्नुपर्दछ र त्यसका लागि हामी तयार रहेको बताए । 

उनले दुई वर्षपछि भए पनि वार्ताको वातावरण बन्नु र वार्ता हुनु निकै महत्वपूर्ण कुरा हो भन्दै यसबाट अब आगामी दिनमा दुवै कोरिया र कोरियाली प्रायद्वीपमा सहज वातावरण निर्माणका लागि आफूहरु तयार रहेको धारणा उनले राखे  । गत वर्षमात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मुनले नयाँ वर्षका अवसरमा अर्थात् गत जनवरी १ मा दिनुभएको शुभकामना सन्देशमा पनि सम्बन्ध सुधारका लागि कोरियाली सम्मेलन (कोरिया समिट) को आयोजना गर्न सुझाव दिएका थिए । 

साथै उत्तर कोरियाली नेता किम जोङ उनले पनि नयाँ वर्षको सोही सम्बोधनको क्रममा आफूहरु दक्षिण कोरियाको प्रस्तावमा वार्तागर्न तयार रहेको प्रतिक्रिया दिएका थिए । त्यसै बमोजिम विकसित परिस्थिति अनुसार उत्तर र दक्षिण कोरियाको वार्ता सम्भव भएको थियो । सो वार्तालाई निरन्तरता दिन र कोरियाली प्रायद्वीपमा जारी तनावपूर्ण अवस्थाको सुधार गर्न संयुक्त राष्ट्रसंघले पनि आग्रह गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै