• २०८१ बैशाख ६ बिहीबार

पृथ्वीनारायण शाहलाई हेर्ने सरकारी दृष्टि यसपटक बदलियो

kharibot

राष्ट्रपति विद्यादेवी भण्डारीले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौं । ‘नयाँ नेपाल’ बनाउने अभिलाषा र मोहमा विगत एक दशकयता ‘नेपाल’ शब्द र आजको भूगोल विश्वमानचित्रमा कोरिदिएर विभिन्न बाईसे÷चौबीसे राज्यमा बसोबास गर्ने जनतालाई एउटै नेपाली साइनो उपहार दिने एकीकरण अभियानको नेतृत्वकर्ता बडामहाराजा पृथ्वीनारायण शाहलाई हेर्ने सरकारी आँखा यसपटक बदलिएको छ । 

२०६२/०६३ को दोस्रो जनआन्दोलनपछि देश गणतन्त्रात्मक बनेपछि सत्ता र शक्तिको उन्मादमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनमा मनाइने गरेको परम्परा ‘तथाकथित कम्युनिष्ट क्रान्तिकारिता’ र प्रजातान्त्रिक पद्धति मान्नेहरुकै अकर्मण्य नेतृत्वका कारण छायाँमा पारिएको थियो । राज्यले दशकौँदेखि मनाउँदै आएको राष्ट्रिय एकता दिवस सरकारी स्तरमा मनाउन छाडिएको थियो । 

तर यसपटक भने सरकारले आफ्नो गल्ती महसुस गरेको छ । जसले नेपाल बनाएर दियो, जसको नेतृत्वलाई सबै जातजातिका मानिसले आआफ्नो तर्फबाट काँधमा काँध र साथमा साथ दिए उसैको अवमूल्यन गरिनु गणतन्त्रको कालो कर्तुत थियो । यद्यपि सरकारी स्तरबाट बिर्सिए पनि नेपाली जनताले १० वर्षयताका हरेक पुस २७  मा निर्णयगत हिसाबले ‘म्युटेड’ अवस्थामा समेत राष्ट्रिय एकता दिवसलाई बिर्सिएनन् । जनस्तरको सोही सम्मानको व्यापकता हो आज गणतन्त्र नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सिंहदरबारको ड्युटी अहोरात्र निभाइरहेको राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण हुनु, सम्झिइनु । 

  • प्रधानमन्त्री शेरबहादुर देउवाले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै । तस्बिर :  रासस

१२ वर्षपछि खोलो फर्किन्छ भन्ने उखान यहाँ पनि चरितार्थ हुनपुग्यो जब कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतले राष्ट्रनिर्माताले राज्यबाटै सम्मान पाउनुपर्ने निर्णय मन्त्रिपरिषद्बाट पारित गराए । एकपछि अर्को गल्ती गर्दै जाने तर गल्तीहरु कहिल्यै सुधार्न नपर्ने अकर्मण्य र जनताप्रति अनुत्तरदायी नेपाली राजनीतिमा यो एक प्रकारको ब्रेक थ्रु नै हो । गणतन्त्र प्राप्तिपछि तीन÷चार जना कम्युनिष्ट नेताले सरकारको नेतृत्व गरे, हरेक सरकारको पालामा पुस लागेसँगै बिर्सिएका पृथ्वीनारायणलाई सम्झिनुपर्छ भन्ने आवाज बुलन्द नभएका पनि होइनन्, तर कुनै पनि कम्युनिष्ट सरकारले नेपालनिर्माताको लुटिएको सम्मान फिर्ता दिन अन्कनाए । 

एक दशक समय नै गुज्रिसके पनि सरकारले बिराएको बाटो पुनः भेट्टाएको छ । हुन त पृथ्वीनारायणले हत्याको श्रृंखला चलाएका हुन्, सत्ताका भोका भएकैले अन्य सत्ता कब्जा गरेका हुन्, अरुको भूभाग लुटेर आफ्नामा गाभेकाले उनी एकीकरणका हर्ताकर्ताभन्दा ज्यादा लुटेरा हुन् भन्ने ‘डिस्कोर्स’ नेपालमा मिडियागत, पार्टीगत र जातिगत रुपमै सुरु भएको छ तर ती सबैले नेपाली जनतामा स्थान बनाउन सकेनन्, किनकि नेपाली जनता पृथ्वीनारायणलाई बिर्सेर आफूलाई नेपाली भन्न नै नसक्ने अवस्थामा रहेकैले उनीप्रतिको सम्मान नेपाली हृदयबाट आजसम्म खोस्न नसकिएको अब पुष्टि भएको छ ।   

एकपछि अर्को गल्ती गर्दै जाने तर गल्तीहरु कहिल्यै सुधार्न नपर्ने अकर्मण्य र जनताप्रति अनुत्तरदायी नेपाली राजनीतिमा यो एक प्रकारको ब्रेक थ्रु नै हो ।

यो क्रममा पृथ्वीनारायणलाई दिइएको सम्मान खोसिने मात्रै काम भएनन्, नेपालको चन्द्र र सूर्यांकित झण्डा नै फेर्नुपर्छ भन्नेसम्मका आवाज उरालिए भने चौतर्फी र योजनाबद्ध रुपमा अंग्रेजसँग नझुकेको नेपाली राष्ट्रियता कमजोर पारेर खेल्ने काम हुनलागेका थिए । संघीयताको नाममा पहिचानसहितको जातीय संघीयता र संघीय राज्यलाई आत्मनिर्णयाधिकार दिइनुपर्ने मिडियाबाजी गरिए पनि अन्ततः देशले जातीय संघीयतालाई अस्वीकार गरिदियो र नेपाली जनतालाई अधिकारसम्पन्न बनाउन विकासलाई जोड दिइयो । फलतः देशमा नयाँ प्रशासनिक व्यवस्था कार्यान्वयनमा आएको छ, जसले ७ सय ५३ वटै स्थानीय तहलाई पूर्ण र समान अधिकार दिएको छ । 

त्यसो त सार्वजनिक विदा दिएर मात्रै सम्मान हुन्छ भनी ठान्नु पनि तर्कयुक्त हुँदैन । तर सरकारी स्तरबाट उनको सबल र सफल नेतृत्वदायी भूमिकाको लागि एक दिन कर्मचारीलाई आराम दिइनुलाई गलत भन्न मिल्दैन । समयक्रमसँगै विभिन्न कुराहरु क्रमशः परिवर्तन हुँदै जान्छन् । यो संसारकै नित्य प्रक्रिया हो, चलिरहन्छ । पृथ्वीनारायणलाई देखावटी सम्मान दिएरमात्र पुग्दैन । उनले अवलम्बन गरेका दिव्योपदेशमा उल्लिखित एकतावादी दृष्टिकोण र नीतिहरु २ सय ९५औँ वर्ष बितिसक्दा समेत सार्थकता देखिन्छ । त्यसकारण नेपाली राजनीतिले त्यसलाई मार्गनिर्देशन मानिदिए नेपाली समाज सुधारको कडी हुनेतर्फ सोच्नुपर्ने हुन्छ । आजको आवश्यकता उनको जन्मजयन्तीमा फोटोमा माला लगाइदिएरमात्रै पुग्दैन त्यसकारण सरकारले नै दिगो र जनताले देख्ने गरी पृथ्वीनारायणको व्यावहारिक सम्मान गर्नुपर्छ । 

महामानव गौतम बुद्ध नेपाली भूमिमा जन्मिएको विषयमा बेलाबखत विवाद झिकिने गरेकोमा सरकारी तहबाट त्यसको प्रतिवाद गरिएको पाइँदैन । गौतम बुद्ध, पृथ्वीनारायणहरु भनेका नेपालका राष्ट्रिय विभूतिहरु हुन् । उनीहरुको सम्मानबाट मात्रै देशको इज्जत झल्किने भएकाले सरकारले यी कुराहरुमा सोच्नुपर्ने देखिन्छ । हुन त नेपालको नोटमा बुद्ध जन्मिएको विषय राख्ने, पृथ्वीनारायणको तस्बिर छाप्ने लगायतका कुराहरु जनस्तरमा उठ्दै पनि आएका छन्, यदि यी सवालहरुबारे साँच्चै विमर्श गरियो भने राष्ट्रिय विभूतिहरुको सम्मान पनि हुने र इतिहासको सम्झना पनि भइराख्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै