• २०८१ बैशाख ८ शनिबार

नेपालको इन्टरनेटमा भारतीय एकाधिकार सकियो, आजदेखि चिनियाँ इन्टरनेट ब्यान्डवीथ 

kharibot

काठमाडौँ । नेपालको इन्टरनेट बजारमा भारतीय एकाधिकार आजदेखि सकिएको छ । 

सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि व्यवसायिकरुपमै चीनबाट इन्टरनेट ब्यान्डवीथ ल्याउने भएपछि २५ वर्षदेखिको भारतीय एकाधिकार सकिएको हो । टेलिकमले चिनियाँ नेटवर्क कम्पनी चाइना टेलिकम ग्लोबलबाट आजदेखि ब्यान्डवीथ ल्याउने भएको छ।

चीनियाँ स्थलमार्गबाट रसुवाहुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट अवदेखि टेलिकमले इन्टरनेट कनेक्सन ल्याउने छ। नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्बन्धमा २०७३ मंसिर २१ मा व्यावसायिक सम्झौता भएको थियो ।

संविधान निर्माणपछि ०७२ सालमा भारतले नेपालमा नाकाबन्दी लगाएपछि नेपालमा इन्टरनेटको लागि समेत वैकल्पिक मार्ग खोज्नुपर्ने बहस सुरु भएको थियो । त्यसपछि संसदीय समिति र सरकारले टेलिकमलाई चीनतर्फबाट पनि दूरसञ्चारको अन्तराष्ट्रिय स्थल आवद्धतामा जोडिन निर्देशन दिएको थियो । संसद र सरकारको निर्देशनपछि टेलिकमले भदौ ०७३ मै केरुङ नाकामा अप्टिकल फाइबरसँग जोडिएको थियो । त्यसपछि मंसिर ०७३ मै दुई सेवाप्रदायकबीच आइपी सर्भिस आदान प्रदानका लागि औपचारिक सम्झौता भएको थियो ।

हाल भारतबाटमात्र कनेक्सन ल्याइरहेको टेलिकमले प्रतिस्पर्धी र एउटामात्र देशमाथिको परनिर्भरता अन्त्य गर्नभन्दै कनेक्सन ल्याउने योजना बनाएको थियो। व्यवसायिक सम्झौता हुनुभन्दा पहिले नै परीक्षण भइसकेको स्थलमार्गबाट आजबाट व्यवसायिक रुपमै आउने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन् ।

टेलिकमले धादिङको गल्छीदेखि रसुवासगढीसम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ । सोही मार्गबाट इन्टरनेट व्यान्डवीथ अवदेखि नेपाल आउने छ । व्यवसायिकरुपमै व्यान्डवीथ आजदेखि आउने भएपनि ठुलो भोल्युममा भने नल्याउने टेलिकमका अधिकारीहरुले प्रष्ट पार्दै आएका छन् । आवस्यकताअनुसार ल्याउँदै गर्ने उनीहरुको भनाइ छ।

चीनबाट आएको इन्टरनेट टेलिकमको नेटवर्क हुँदै केन्द्रिय प्रणालीमा जोडिने छ र सबै उपभोक्तामाझ पुग्ने छ। हाल नेपाल टेलिकमले भारतका विभिन्न सेवाप्रदायकहरुबाट २२ जिबिभन्दा बढीको भोल्यूममा इन्टरनेट ल्याएको छ।

यसरी चीनबाट इन्टरनेट आएपनि तत्काल उपभोक्ताले भने कुनै फरक महसुस भने गर्न पाउनेछैनन् । उपभोक्तासँग जोडिएका गुणस्तर(स्पीड) र मूल्य जुन कनेक्सन जहाँबाट आएपनि टेलिकममै निर्भर हुने हुँदा त्यसको प्रभाव भने पर्ने छैन ।

चीनबाट आउने भएपनि मुल्यमा भने कुनै कमि नआउने र टेलिकमले हाल खरिद गरिरहेको भन्दा सस्तो मूल्यमा चीनबाट नल्याउने बताइएको छ ।

हाल टेलिकमले अन्य अन्तर्राष्ट्रिय नेटर्क सेवाप्रदायकको भन्दा धेरै महंगोमा भारतबाट खरिद गरिरहेको छ। उसले हाल पनि प्रति एमबी महिनाको ३४ डलरभन्दा माथि मूल्यमा खरिद गरिरहेको छ तर निजीले भने १५ डलर हाराहारीमा नेपालमै उपलब्ध गराइरहेको छन्।

तर चीनसँग जोडिनुमात्र होइन भारतको एकाधिकार पनि तोडिनुले एकातिर बजार विस्तार भएको छ भने अर्कोतिर यसले कनेक्सन एक्स्पोजर बढाएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै