• २०८१ बैशाख ८ शनिबार

भारतमा पनि प्रधानन्यायाधीशमाथि सवाल उठाइयो 

kharibot

तस्बिर : बीबीसी हिन्दी

दक्षिण एसिया । भारतको सर्वोच्च अदालतका चार वरिष्ठ न्यायाधीशहरुले इतिहासमै पहिलोपटक पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतमा चलिरहेको अनियमिततालाई लिएर सार्वजनिक रुपमै गुनासो गरेका छन् । न्यायाधीशहरु जे चेलमेश्वर, रञ्जन गोगोई, मदन लोकुर र कुरियन जोसेफले गुनासो गरेका हुन् ।  

भारत स्वतन्त्र भएपछि पहिलोपटक सर्वोच्च अदालतका चार न्यायाधीशले शुक्रबार पत्रकार सम्मेलन गरेपछि भारतमा यसले हलचल मच्चाएको छ । विशेषगरी चार जना न्यायाधीशले अदालतभित्र प्रशासनिक अनियमितता भएको आरोप लगाएका हुन् ।

सर्वोच्चका दुई नम्बर न्यायाधीश मानिने चेलामेश्वरले भनेका छन्, ‘करिब दुई महिनापहिले हामी चार न्यायाधीश मिलेर प्रधानन्यायाधीशलाई पत्र लेखेका थियौँ र भेटेका थियौँ । हामीले उहाँसँग अदालतमा जे भइरहेको छ, त्यो सही नभएको पनि बतायौँ । प्रशासन ठीकसँग नचलेको बतायौँ । यो मामिला एउटा मुद्दालाई लिएर थियो ।'

उनले आफूहरुले यो कुरा प्रधानन्यायाधीशलाई सम्झाउन असफल रहेको समेत बताएका छन् । त्यसपछि आफूहरुले राष्ट्रकै अगाडि यो कुरा राख्नुपरेको दाबी गरेका छन् । यो मुद्दा सीबीआई जज लोयाको शंकास्पद मृत्युलाई लिएर भएको न्यायाधीशहरुको भनाइ छ । 

उनीहरुले प्रधानन्यायाधीशलाई बुझाएको पत्र पनि छिट्टै सार्वजनिक गर्ने बताएका छन् । २० वर्षपछि आफूहरुमाथि आत्मा बेचेको आरोप नलागोस् भनेर पत्रकार सम्मेलन गरेको उनीहरुको भनाइ छ । लोकतन्त्रलाई कायम राख्न पनि सर्वोच्च अदालत जस्तो संस्था सही ढंगले चल्नुपर्ने उनीहरुको भनाइ छ ।

उनीहरुले सीजेआईमाथि महाभियोग चल्ने र नचल्ने भन्नेबारे भने राष्ट्रले नै विचार गर्नुपर्ने उनीहरुको सुझाव छ । बितेका केही महिना जे नहुनुपर्ने त्यही भइरहेको भनी प्रधानन्यायाधीशको उनीहरुले चर्को आलोचना गरेका छन् । 

भारतमा न्यायाधीशले पत्रकार सम्मेलन गरेको यो नै पहिलोपटक रहेको बताइएको छ । भारतमा अहिलेका प्रधानन्यायाधीश दीपक मिश्रसँग दुई नम्बर वरीयताका वरिष्ठ न्यायाधीश चेलामेश्वरको धेरै मुद्दालाई लिएर विवाद रहेको भारतीय मिडियाहरुले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै