रेडियो तरंगबाट जन–जनको मनमा बसेकी रुपा 

खरीबोट

काठमाडौं । तीन दशक लामो समय रेडियोको दुनियाँमा बिताएकी रुपा विमल सानै उमेरदेखि रेडियोमा कसरी आवाज आएको होला, आफू पनि बोल्न पाए कस्तो हुन्थ्यो भन्ने सोचाइ राख्थिन् । दिउँसोको संकेत बिहानीले गर्छ भनेजस्तै रुपा बिमल अन्ततः आवाजकै दुनियाँमा व्यस्त भइन् । सानैदेखि गीत गाउन मन लाग्ने उनको बानी र प्रकृतिप्रदत्त मीठो स्वरले यसमा ठूलो टेवा दियो । उनी रेडियोमा बोल्न पाउँदा दंग भइन् । 

बाबाको जागिरको कारण लामो समय उनले भारतको मणिपुरमा बिताइन् । सो क्रममा रुपाको एसएलसी सम्मको अध्ययन उतै सकियो । बाबुले फुर्सदको समयमा रेडियो बनाउने काम गर्ने भएकाले उनलाई ठूलो भएपछि रेडियोमा नै बोल्छु भन्ने इच्छा पलाउन थाल्यो । 

पछि जब उनी नेपाल आइन्, पाटन क्याम्पसमा भर्ना भइन् । तर उनमा रेडियोमा बोल्छु भन्ने सोच हराएको भने थिएन । त्यसपछि उनको भेट मदन सुवेदीसँग भयो । उनले रेडियो नेपालमा नाटकको लागि मान्छे चाहिएको र स्व जीतेन्द्र महत अभिलाषीसँग भेट भयो । यसमा उनी छनोट पनि भइन् तर आवाजलाई माझ्नुपर्ने सुझाव आयो । त्यसका लागि उनले सक्दै, गर्दै जाँदा गौथली पार्टमा नाटिकाको रुपमा काम गरिन् । त्यसपछि उनको हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलगायतका मान्छेसँग भेट भयो अनि विस्तारै उनी पूर्ण बन्दै गइन् । 

आफ्नो लक्ष्य पछ्याउने क्रममा जब उनी रेडियो नेपाल जान थालिन्, धनेन्द्र विमलसँगको प्रेममा बाँधिन पुगिन् र पछि उनै विमलसँग रुपाको विवाह भयो । त्यसपछि विस्तारै रेडियो नेपालमा रेकर्डेड कार्यक्रममा काम गर्न थालिन् रुपा । त्यसपछि मात्रै उनको लाइभ कार्यक्रममा उपस्थिति हुनथाल्यो । पहिलोपटक उनले रेडियोमा बोलेको कार्यक्रम साँझ बिहान हो । जहाँ उनले गौथलीको भूमिका निभाएकी थिइन् । जब क्लासिक एडभरटाइजिङले रेडियो नेपालको समय किन्यो, त्यसपछि भने उनले लाइभ कार्यक्रममा बोल्न थालिन् । 

उनी आवाजमा पूर्ण त थिइन् नै, स्वर पनि राम्रो थियो । तर उनमा भाषाको समस्या थियो । यसलाई पनि उनले जीवनको पार नगरी नहुने चुनौती मानेर अगाडि बढिन् । र त आज पनि रेडियोले रुपाको आवाज आकाशबाट धर्तीमा फ्याँकिरहेको छ । 

यसबाट मख्ख छिन् रुपा । नहुन् पनि किन ? किनकि आफूले रुचाएको र इच्छाएको काम गर्न पाउँदा को खुसी हुँदैन ? 

जन्मदिने आमालाई जस्तै माया सासू आमालाई 

रुपाको प्रेम विवाह भएको हो । उनको माइतीमा उनलाई विवाह गर्न कुनै अप्ठ्यारो नभए पनि यता घरमा सासू आमाले विवाह गर्न मान्नुभएनु् तर छोराको इच्छालाई नकार्न पनि गाह्रै थियो । किनकि समय र समाज त्यस्तै थियो । ‘देश, विदेश घुमेकी एउटी रेडियो नाटिका भएकैले आफूलाई नराम्रो गर्ली भनेर विवाह गर्न नमान्नुभएको होला’, रुपा भन्छिन्, ‘तर मैले कहिल्यै सासूजस्तो व्यवहार गरिनँ, माइतीको आमाजस्तै लाग्छ । माया गर्छु उहाँलाई, उहाँ पनि मलाई माया गर्नुहुन्छ ।’ उनलाई लाग्छ माइतको आमाले जन्म र घरको आमाले कर्म दिनुभयो । मायामा कमी छैन ।  

थरिथरिका फ्यान

विमलले लामो समय रेडियोको दुनियाँमा बिताइसकेकी छिन् । उनको त्यो सुमधुर स्वर मन पराउने धेरै फ्यानहरु छन् । आफूले इच्छाएको क्षेत्रमा काम गर्न पाउँदा उनी दंग छिन् । यसमा उनका श्रीमानको ठूलो हात छ । उनले रेडियोको दुनियाँमा ठूलो सफलता हात पारेकी छिन् । रगतले चिठी लेख्ने,  ४-५ पेज चिठी लेख्ने, मन पराउने, आफूलाई देउतासरह मान्ने, उनको खुसीको लागि ज्यान दिने थरिथरिका फ्यानहरु छन् उनका । उनी भन्छिन्, ‘मेरा धेरै फ्यानहरु छन्, जसमध्ये थानकोटकी सोनी थापा बिर्सिनै नसक्ने फ्यान हुनुहुन्छ ।’

आफूलाई स्नेह सद्भाव दिने कतिपय फ्यानको त नाम नै याद छ उनलाई । उनका अर्का फ्यान किरण कुमार हुन्, उनले रेडियो विज्ञापनमा श्रीमतीको भूमिका निभाउँदा किन उसको श्रीमती बनेको भन्दै चिठी लेखेका थिए रे ! रेडियो कार्यक्रममा प्रसारण गर्ने चिठी नितान्त उनको लागि लेखेको र प्रसारण नगरेका धेरै चिठीहरु देखाउँदै उनी अगाडि भन्छिन्, ‘केटीका केटी नै फ्यान हुन्छन् भन्ने मलाई लागेको नै थिएन ।’ आफ्नै बोलीको प्रभाव देखेर उनी छक्क पर्छिन् । त्यस्तै उनका अर्का फ्यान कर्णध्वजले उनको फोटो देख्न पाऊँ भन्दै मनकामनामा भाकल गरेको चिठी पठाएको सम्झना छ उनलाई ।  टीनएजदेखि ६० वर्ष उमेर कटेकाहरुले रुपा नानी, छोरी भन्दै फोन गर्दा उनलाई धेरै खुसी लाग्छ । भन्छिन्, ‘साँच्चै बोलीमा जादु रहेछ ।’ 

बाल्यकालको बदमासी 

बाल्यकालमा सबैले बिगार गरेका हुन्छन् । त्यो सबै जानी, नजानी भएको हुन्छ । ती सबै सबैका लागि अविस्मरणीय हुन्छन् । उनी पनी आफ्नो बाल्यावस्था भन्नेबित्तिकै दुईवटा कुरा याद गर्ने बताउँछिन् । ठूली आमाको छोरा भाइले छिटो आमाको घर पुग्न बाख्राको दाम्लोमा खुट्टा छिराएर लडेको र आमाको ब्यागबाट पाँच रुपैयाँ निकालेकोले बाटोमा भेटेको भन्दै फिर्ता दिएको क्षण सम्झिँदा उनलाई बाल्यकालको सम्झना आउँछ । 

५३ वर्षमा पनि उस्तै सुरिलो स्वर

रेडियोमा बोलिराख्नुपर्ने कामै त्यस्तो भएपछि उनलाई धेरैले चिन्ने र सुन्ने नै भए । उमेरले ५३ वसन्त कटे पनि उनको सुरिलो स्वरमा कुनै कमी आएको छैन । किन त ? उनी हाँस्दै भन्छिन्, ‘आमाले पिरो पारेर सिलौटामा पिसेको अचार खाँदा खाँदा मेरो स्वर सुरिलो र राम्रो भयो ।’ तर रातको समयमा चिल्लो तथा पिरो उनी कहिल्यै खाँदिनन् । 

श्रोताले रुचाए

विमलका धेरै फ्यान हुनु भनेको उनको कर्मप्रति अरु सन्तुष्ट छन् भन्ने प्रमाण हो । उनले धेरै रेडियो कार्यक्रम चलाएकी छिन् तर आफ्ना धेरै श्रोताहरुले रेडियो कार्यक्रम जिन्दगीका आयामहरुलाई रुचाए । सुरुमा रेडियो नेपालबाट प्रसारण हुने गीति कथा सुन्दा उनलाई आफू पनि यस्तो कार्यक्रम चलाउन सक्छु भन्ने लाग्थ्यो । पछि उनले हुलासको मझेरी कर्यक्रममा नारी गाथा कार्यक्रम पनि चलाइन् । उनको त्यो आवाज सबैले मन पराए । त्यसपछि उनले क्लासिक एफएममा जिन्दगीका पाना, यथार्थ कथाव्यथा प्रसारण गर्नथालिन् र पछि तिनै कार्यक्रमलाई रेडियो सिटी ९८.८ मा जिन्दगीका आयामहरुको रुपमा प्रसारण गरिन् ।

जुन उनको धेरै कार्यक्रममध्ये सबैले रुचाएको कार्यक्रम हो । जहाँ जीवनका यथार्थ कुरालाई प्रसारण गरिन्छ । जहाँ उनको बोली सुन्दा रुपाले आफ्नै कथाव्यथालाई प्रस्तुत गरेकी हुन् भन्ने लाग्छ । जिन्दगीका आयाम सुनेर दुःखमा सहयोग गर्नेहरु धेरै आएका छन् । 

ड्युटीबाटै समाजसेवा 

उनको कार्यक्रममार्फत रुद्र बिकको किड्नी ट्रान्सप्लान्टको लागि २ लाख ७१ हजार सम्म सहयोग रकम उठेको थियो । यो उनले ड्युटी निर्वाहकै क्रममा गरेको समाजसेवा थियो । उनी भन्छिन्, ‘कार्यक्रम प्रसारण हुँदा मलाई अरुको नभएर आफ्नै कथा पढिरहेकी छु । आफ्नै जिन्दगीको आयाम सुनाउँदै छु जस्तो लाग्छ ।’ उनी भन्छिन्, ‘अरुको दुःख पढ्दा आफ्नो दुख केही हैन जस्तो लाग्छ ।’  

सुख दुःखका पलहरु 

२०६२-६३ सालको जनआन्दोलनताका आफू धेरै बिरामी भएको र २०७२ सालको भूकम्प गएको क्षण उनको जीवनकै त्रासद क्षण हो । तर जब उनको सानैदेखिको रेडियोमा बोल्ने सपना पूरा भयो उनी साह्रै खुसी भइन् । उनलाई अब भने आफूले विश्राम लिनुपर्छ भन्ने लाग्नथालेको छ । तर अहिले नै विश्रामको बेला नभएको भनी श्रीमान्ले सम्झाउने गरेको उनी बताउँछिन् । 

लामो समय रेडियोमा बिताउँदै गर्दा उनी आफूले पाएको यो माया अनि ममताको अगाडि आर्थिक रुपमा अलि कम भएको हो कि भन्ने लाग्छ उनलाई ।  उनी नयाँ पुस्तालाई पूर्ण तयारीका साथ अघि बढ्न आग्रह गर्छिन् । 

महिलालाई सुझाव 

पुरुषको तुलनामा नेपालमा महिलाहरु पछि परेका छन् । यसमा महिलाप्रतिको संकुचित सोच, तथा शारीरिक बनावट दुवै हो जस्तो लाग्छ उनलाई । चाडपर्वमा पार्वती र दुर्गाको रुपमा पुज्ने नारीलाई यही समाजमा घरमा भने नराम्रो व्यवहार गरिने गरेकोमा भने उनलाई दुःख लाग्छ । यी कुराहरुबाट माथि उठ्न सके मात्रै महिला अगाडि आउने उनको ठहर छ ।
 

सम्बन्धित समाचार

मालीबाट मालिक बनेका तीर्थ !

काठमाडौँ। फूलैफूलको पर्व तिहार घरदैलोमा आइसकेको छ । दाजुभाइमा गलादेखि घरका तलासम्म कुन कुन फूल प्रयोग गर्ने भन्ने चटारो यतिबेला सबैलाई परेको छ । सकेसम्म राम्रा राम्रा फूलमालाले झलमल्ल पार्न सबै

सन् २०४० सम्ममा फूलमा आत्मनिर्भर बन्छौँ : फ्यान अध्यक्ष, श्रेष्ठ

फूलैफूलको चाड तिहार नजिकिएसँगै बजारमा फूलको किनबेच ह्वात्तै बढेको  छ  ।  बिहीबारबाट फ्नोरिकल्चर एसोसिएसन अफ नेपाल(फ्यान)को पुष्पमेला समेत सुरु भएको छ । जुन १८ गतेसम्म चल्नेछ । ललितपुरको खेल मैदानमा

देवीलाई चढाइएको बलीलाई हिंसा मानिँदैन : विदुषी प्रियंवदा काफ्ले

नेपाली हिन्दूहरुको पर्व दशैँ सुरु भइसकेको छ । परम्परागत रुपमा दशैँ मनाउने चलन नेपाली समाजमा धेरै पहिलेदेखिकै हो । खासगरी आसुरीभावमाथि सत्यको विजयको उत्सवस्वरुप मनाउने गरिए पनि वर्तमान समयमा दशैँ

बचतकर्ताको रकम ठग्ने सहकारीलाई कानुनी दायरामा ल्याउँछौँ : नमराज ढकाल

देशमा संघीय शासनप्रणाली कार्यान्वयनमा गइसकेपछि देशका ७ सय ५३ वटै स्थानीय निकायले स्वायत्त रुपमा बराबर अधिकार प्राप्त गरेका छन् भने त्यस्ता स्थानीय निकायहरु २० वर्षपछि अहिले पुनः स्थानीय जनप्रतिनिधिबाटै शासित


z