राजविराज । पूर्वी तराईमा बढेको शीतलहर तथा जाडोका कारण सप्तरीमा आज साँझ थप एक बालकसहित दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपनी गाउँपालिका–८ रायपुर निवासी २ वर्षीय शिवम् पासवान रहेको प्रहरी नायब उपरीक्षक धु्रवकुमार श्रेष्ठले बताए । बालकलाई चिसो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, डाक्नेश्वरी नगरपालिका–८ बिसहरिया निवासी ७० वर्षीया शुगावतीदेवी सरदारको पनि चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
योसँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २७ पुगे पनि प्रहरीले भने हालसम्म १६ जनाको मात्र पुष्टि गरेको छ ।