योग पर्यटन प्रवर्धन गर्न माग

खरीबोट
ad

काठमाडौँ । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुने गरेकामा यसबाट टाढा भएकाले अनेक समस्या बढ्न थालेपछि पछिल्लो समय मानिस फेरि योगतिर आकर्षित हुन थालेका छन् ।

आधुनिक युगको प्रभावमा योगलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि आकर्षित हुन थालेका हुन् । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् ‘मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो’ भनिएको छ । ईसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ । 
गीतामा ‘योगः कर्मसु कौशलम्’ अर्थात् योग अभ्यास गर्नेले कुशलतापूर्वक काम गर्न सक्छ भन्ने उल्लेख गरिएको छ ।

जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरुपमा अघि बढ्ने माध्यम योग हो । यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेको डा पोखरेलको भनाई छ । 
योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उनले बताए । अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन शुरु भएको छ । 

‘योगको शुरुवात शिव र पार्वतीको संवादबाट भएको मानिन्छ, शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल महात्म्यको हिमवत्खण्डमा यसको चर्चा छ’–योग दिवसका अभियन्ता डा पोखरेलले भने । 

योग पर्यटनका माध्यमबाट पनि नेपालमा विदेशीलाई घुमाउन सकिने अवधारणाका साथ तेस्रो राष्ट्रिय योग दिवस शिक्षा मन्त्रालय र योगसँग सम्बन्धित सङ्घ संस्थाले आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । 

मन्त्रालयले ‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने नाराका साथ आज बिहान ७ बजे रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रभातफेरी कार्यक्रमको आयोजना गर्दैछ । प्रभातफेरीको शुरुवात् उपप्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठले गर्नु हुनेछ । शहीदगेट–नयाँसडक–इन्द्रचोक–असन–भोटाहिटी हुँदै ¥याली शान्तिवाटिकामै आएर समापन हुनेछ । 
मन्त्रालयले यस वर्ष पहिलोपटक सप्ताहव्यापी रुपमा योग दिवस मनाउन लागेको प्रवक्ता हरि लम्सालले बताए । 

योग तथा प्राकृतिक चिकित्सक संघले बिहान ९ बजेदेखि दिउँसो एकबजेसम्म शान्तिवाटिकामै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समापनका अवसरमा मन्त्रालयले माघ ७ गते योग गोष्ठीको आयोजना गरेको प्रवक्ता लम्सालले सुनाए ।

जिल्ला शिक्षा कार्यालयलाई सबै स्थानीय तहमा दिवस मनाउन निर्देशन दिइएको पनि उनले बताए । आयुर्वेद विभागले अञ्चल, जिल्ला र आयुर्वेद औषधालयलमा पनि साताव्यापीरुपमा योग दिवस मनाउन निर्देशन दिएको महानिर्देशक डा वासुदेव उपाध्यायले बताए ।

मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेको थियो । यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिइएको छ । 
यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर डा हरिप्रसाद पोखरेलको सक्रियतामा विश्व योग दिवस मनाउन थालिएको थियो । योगको क्षेत्रमा काम गर्ने संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । 

विसं २०७२ अघि माघ १ गतेलाई विश्व योग दिवसका रुपमा मनाइन्थ्यो । विश्व योग दिवस भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको प्रस्तावमा २१ जुनमा मनाउन थालिएपछि नेपालका अभियन्ताले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न माग गरेका थिए । 

योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एसोसियसन नेपालका अध्यक्ष क्षितिज बराकोटीको विश्वास छ । 
नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । संस्कृत विश्वविद्यालयमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिइन्छ । 

विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र १० मा इच्छाधीन विषयका रुपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखेपनि यस विषयमा स्नातक गरेका जनशक्तिको अभाव भएपछि अहिलेसम्म पठनपाठन हुन सकेको छैन । 

तेस्रो राष्ट्रिय योग दिवस मनाउन उपप्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति र डा पोखरेलको संयोजकत्वमा प्रचार प्रसार र अन्तरक्रिया उपसमिति गठन गरिएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह ऐरको संयोजकत्वमा प्रभातफेरी उपसमिति र डा चिन्तामणि योगीको संयोजकत्वमा गोष्ठी संयोजन उपसमिति गठन गरिएको छ । 

योगलाई स्वास्थ्य, खेलकुद र पर्यटनसँग पनि जोडेर प्रवद्र्धन गर्न सकिने यस क्षेत्रमा लागेकाको भनाई छ । योगलाई खेलकुदसँग जोडेर माघ ८ गतेदेखि इटहरीमा राष्ट्रिय योग खेलकुद प्रतियोगिता हुँदैछ । 

नेपालभर योग सिकाउने ६०० भन्दा बढी संस्था छन् । यी संस्थामा योग अभ्यास गर्न आउने प्रायः विदेशी छन् । नेपालको पहाडी र हिमाली भेगको मध्यभागमा योग एवम् ध्यान केन्द्र स्थापना गरी प्रचारप्रसार गर्नसके योग पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।

सम्बन्धित समाचार

एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

काठमाडौँ। स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।  विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन

मुख्यमन्त्री राईको दशैँको शुभकामना : राष्ट्रिय एकता कायम गर्नमा महत्वपूर्ण योगदान 

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि

बैतडीमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक ८ गतेदेखि

बैतडी / निगलाशैनी प्रिमियर लिग(एनपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक ८ गतेदेखि देहीमान्डौँमा गरिने भएको छ ।  निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) को आयोजनाका उक्त प्रतियोगिता सञ्चालन गरिने आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत

असान्जलाई सञ्चारको प्रयोगमा आंशिक खुला गरिंदै

बेलायत । इक्वेडर सरकारले लन्डनस्थित आफ्नो मुलुकको राजदूतावासमा रहेका जुलियन असान्जको सञ्चारलाई आंशिक रुपमा खुला गर्न लागेको विकिलिक्सले जनाएको छ । विकिलिक्सका संस्थापक असान्ज सन् २०१२ देखि इक्वेडरको राजदूतावासमा शरण लिइरहेका


z