• २०८१ बैशाख ७ शुक्रबार

योग पर्यटन प्रवर्धन गर्न माग

kharibot

काठमाडौँ । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुने गरेकामा यसबाट टाढा भएकाले अनेक समस्या बढ्न थालेपछि पछिल्लो समय मानिस फेरि योगतिर आकर्षित हुन थालेका छन् ।

आधुनिक युगको प्रभावमा योगलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि आकर्षित हुन थालेका हुन् । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् ‘मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो’ भनिएको छ । ईसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ । 
गीतामा ‘योगः कर्मसु कौशलम्’ अर्थात् योग अभ्यास गर्नेले कुशलतापूर्वक काम गर्न सक्छ भन्ने उल्लेख गरिएको छ ।

जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरुपमा अघि बढ्ने माध्यम योग हो । यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेको डा पोखरेलको भनाई छ । 
योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उनले बताए । अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन शुरु भएको छ । 

‘योगको शुरुवात शिव र पार्वतीको संवादबाट भएको मानिन्छ, शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल महात्म्यको हिमवत्खण्डमा यसको चर्चा छ’–योग दिवसका अभियन्ता डा पोखरेलले भने । 

योग पर्यटनका माध्यमबाट पनि नेपालमा विदेशीलाई घुमाउन सकिने अवधारणाका साथ तेस्रो राष्ट्रिय योग दिवस शिक्षा मन्त्रालय र योगसँग सम्बन्धित सङ्घ संस्थाले आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । 

मन्त्रालयले ‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने नाराका साथ आज बिहान ७ बजे रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रभातफेरी कार्यक्रमको आयोजना गर्दैछ । प्रभातफेरीको शुरुवात् उपप्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठले गर्नु हुनेछ । शहीदगेट–नयाँसडक–इन्द्रचोक–असन–भोटाहिटी हुँदै ¥याली शान्तिवाटिकामै आएर समापन हुनेछ । 
मन्त्रालयले यस वर्ष पहिलोपटक सप्ताहव्यापी रुपमा योग दिवस मनाउन लागेको प्रवक्ता हरि लम्सालले बताए । 

योग तथा प्राकृतिक चिकित्सक संघले बिहान ९ बजेदेखि दिउँसो एकबजेसम्म शान्तिवाटिकामै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समापनका अवसरमा मन्त्रालयले माघ ७ गते योग गोष्ठीको आयोजना गरेको प्रवक्ता लम्सालले सुनाए ।

जिल्ला शिक्षा कार्यालयलाई सबै स्थानीय तहमा दिवस मनाउन निर्देशन दिइएको पनि उनले बताए । आयुर्वेद विभागले अञ्चल, जिल्ला र आयुर्वेद औषधालयलमा पनि साताव्यापीरुपमा योग दिवस मनाउन निर्देशन दिएको महानिर्देशक डा वासुदेव उपाध्यायले बताए ।

मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेको थियो । यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिइएको छ । 
यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर डा हरिप्रसाद पोखरेलको सक्रियतामा विश्व योग दिवस मनाउन थालिएको थियो । योगको क्षेत्रमा काम गर्ने संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । 

विसं २०७२ अघि माघ १ गतेलाई विश्व योग दिवसका रुपमा मनाइन्थ्यो । विश्व योग दिवस भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको प्रस्तावमा २१ जुनमा मनाउन थालिएपछि नेपालका अभियन्ताले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न माग गरेका थिए । 

योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एसोसियसन नेपालका अध्यक्ष क्षितिज बराकोटीको विश्वास छ । 
नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । संस्कृत विश्वविद्यालयमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिइन्छ । 

विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र १० मा इच्छाधीन विषयका रुपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखेपनि यस विषयमा स्नातक गरेका जनशक्तिको अभाव भएपछि अहिलेसम्म पठनपाठन हुन सकेको छैन । 

तेस्रो राष्ट्रिय योग दिवस मनाउन उपप्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति र डा पोखरेलको संयोजकत्वमा प्रचार प्रसार र अन्तरक्रिया उपसमिति गठन गरिएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह ऐरको संयोजकत्वमा प्रभातफेरी उपसमिति र डा चिन्तामणि योगीको संयोजकत्वमा गोष्ठी संयोजन उपसमिति गठन गरिएको छ । 

योगलाई स्वास्थ्य, खेलकुद र पर्यटनसँग पनि जोडेर प्रवद्र्धन गर्न सकिने यस क्षेत्रमा लागेकाको भनाई छ । योगलाई खेलकुदसँग जोडेर माघ ८ गतेदेखि इटहरीमा राष्ट्रिय योग खेलकुद प्रतियोगिता हुँदैछ । 

नेपालभर योग सिकाउने ६०० भन्दा बढी संस्था छन् । यी संस्थामा योग अभ्यास गर्न आउने प्रायः विदेशी छन् । नेपालको पहाडी र हिमाली भेगको मध्यभागमा योग एवम् ध्यान केन्द्र स्थापना गरी प्रचारप्रसार गर्नसके योग पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै