• २०८१ बैशाख ६ बिहीबार

साइकल चढ्ने लालबाबुको भन्दा हेलिकप्टर चढ्ने प्रचण्डको चुनाव खर्च कम !

kharibot

काठमाडौं । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा हाइप्रोफाइल नेताले गरेको खर्च र कम चर्चित नेताले गरेको चुनावी खर्च एकै होला ! पक्कै हुँदैन । सबैले गर्ने अनुमान यही नै हो । तर भयो भने पनि अब आश्चर्य नमाने हुने भएको छ । 

गत चुनावमा नेपालका हाइप्रोफाइल नेता प्रचण्डको चुनावी खर्च एमालेका सादगी छविका नेता लालबाबु पण्डितको भन्दा निकै कम भएको पाइएको छ । साइकल र टेम्पो चढेर देशको राजनीति सुधार्छु भन्ने एमाले नेता लालबाबु पण्डितले केही समयअघि गत प्रतिनिधिसभा निर्वाचनमा गरेको खर्च १३ लाख १६ हजार एक सय ७८ रुपैयाँ रहेको छ । यसविपरीत पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी खर्च नौ लाख ९४ हजार मात्रै भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन्, यसले सबैलाई आश्चर्यमा पारेको हो । 

साइकल र टेम्पो चढ्न रुचाउने पण्डितको चुनावी खर्च १३ लाख हुनुभन्दा पनि सबैलाई जिज्ञासा लागेको विषय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चुनावी खर्च कम हुनुलाई आश्चर्य मानिएको हो । यसरी अस्वाभाविक रुपमा प्रचण्डको चुनावी खर्च सादगी नेता लालबाबुको भन्दा तीन लाख २१ हजार ६ सय ३६ रुपैयाँ कम देखिएको छ । पटक पटक हेलिकप्टरबाट चुनावताका प्रचारप्रसारमा दौडिएका प्रचण्डको चुनावी खर्च साइकल चढ्ने लालबाबुको भन्दा कसरी कम हुनसक्छ । यो जिज्ञासा सर्वसाधारणले गरेका हुन् । 

निर्वाचन आयोगको क्षेत्रीय निर्वाचन कार्यालय मोरंगमा पण्डितले पुस ३ गते आफ्नो निर्वाचन खर्च बुझाएका थिए । जसअनुसार मोरंग ६ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका पण्डितले पाँच प्रति मतदाता नामावली खरिदमा १५ सय, सवारी साधन र घोडामा २ लाख ४० हजार, सवारी इन्धन र दानामा ९८ हजार ५ सय ५०, प्रचार प्रसार सामग्रीमा २ लाख ८० हजार ६ सय १५, ढुवानी ३४ हजार ४ सय ६०, गोष्ठी तथा कार्यकर्ता परिचालनमा दुई लाख ८ हजार, छापा तथा विद्युतीय प्रचारप्रसारमा १ लाख ८७ हजार, कार्यालय सञ्चालनमा १ लाख २० हजार ४ सय ७५, प्रतिनिधि परिचालनमा ६२ हजार ५ सय १४ र अन्य खर्चमा ८३ हजार रुपैयाँ चुनावमा खर्च भएको विवरण बुझाएका छन् । यो सबै खर्च कुल १३ लाख १६ हजार एक सय ७८ रुपैयाँ हुन आउँछ । लालबाबु पण्डित प्रायः साइकल चढेरै चुनावी प्रचार प्रसारमा सामेल भएका थिए । उनले साइकल चढेर नै सिंहदरबार बदल्ने कसम खाएका थिए । 

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा नौ लाख ९४ हजार पाँच सय ४२ रुपैयाँ खर्च भएको विवरण पेश गरेपछि यो जनमानसले यसलाई नपत्याएका हुन् । प्रचण्डले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत चुनावी खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिएका छन् । अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

प्रचण्डका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवम् वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च भने नौ लाख ३९ हजार ९४० पेश भएको निर्वाचन कार्यालयले जनाएको छ । 
प्रतिनिधिसभा निर्वाचनमा एक जना उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने नियम छ । 

अन्य शीर्ष नेताहरुको चुनावी खर्च यस्तो छ 

झापा ५ का उम्मेदवार बनेर जितेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गत चुनावमा भएको खर्च २४ लाख एक हजार १ सय ६० रहेको छ भने झापा ३ मा राप्रपाका राजेन्द्र लिंग्देनसँग पराजित कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको चुनावी खर्च २२ लाख ६८ हजार, झापा १ का माओवादी केन्द्रका नेता राम कार्कीको चुनावी खर्च २४ लाख १० हजार र सोही क्षेत्रबाट उठेका कार्कीका प्रत्याशी कांग्रेसका विश्वप्रकाश शर्माको चुनावी खर्च २१ लाख ६८ हजार रहेको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तै जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार कांग्रेस वरिष्ठ नेता एवं १ नम्बर क्षेत्रका पराजित उम्मेदवार रामचन्द्र पौडेलले २२ लाख १८ हजार २ सय रुपैयाँ गत चुनावमा खर्च गरेका छन् भने कांग्रेसकै अर्का नेता शंकर भण्डारीले गत चुनावमा २२ लाख ७४ हजार ९ सय ४० रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् । यो त केही नेताहरुले बुझाएको चुनावी खर्चको नमूनाका लागि मात्रै हो अरु धेरै नेताहरुले चुनावी खर्च विवरण पेस गर्ने क्रम जारी नै छ । 

प्रधानमन्त्रीको चुनावी खर्च कति ? 

प्रधानमन्त्री शेरबहादुर देउवाले गत चुनावमा २३ लाख ४ हजार ५ सय रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालय डडेल्धुरामा पेस गरिसकेका छन् । देउवाले सबैभन्दा बढी गोष्ठीरकार्यकर्ता परिचालनमा ७ लाख ६५ हजार खर्च गरेको, सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा ९५ हजार, प्रचारप्रचार सामग्रीमा ९२ हजार, कार्यालय सञ्चालनमा ४ लाख ५० हजार, प्रतिनिधि परिचालनमा एक लाख ८९ हजार, मतदाता नामावली खरिदमा २ हजार ५०० र विविध खर्च एक लाख १५ हजार गरी जम्मा २३ लाख चार हजार पाँच सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली समान हैसियतका हाइप्रोफाइल नेता हुन् तर देउवा र ओलीको चुनावी खर्च मिल्दोजुल्दो देखिए पनि प्रचण्डको चुनावी खर्च निकै कम देखिनुलाई अस्वाभाविक मानिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै